पोखरामा कलाकारको जमघट

नेपालको अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस)ले कलाकारको जमघट पोखरामा जुटाइदिएको थियो। पूर्वदेखि पश्चिमसम्मका नेपाली कलाकारका साथमा भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकार सहभागी थिए।

पोखरा: विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो। प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक। कतै तस्वीर खिच्दै गरेका त कतै सेल्फीमा रमाइरहेका थिए उनीहरु।



फेवामा तैरिरहेका डुङ्गा छालसँगै चलमलाइरहेका थिए। केही डुङ्गा पर्यटक बोकेर घरी तालबाराही मन्दिर त घरी फेवा किनार आवतजावतमा व्यस्त थिए। त्यही बीचमा देश–विदेशका एक सय १८ चित्रकारको हुल पनि मिसिएपछि सोमबारको जमघट बाक्लिएको थियो। पोखरामा पर्यटकहरू आउने क्रम सुरु हुनै लागेकाले  अझै सोचेअनुसार पर्यटक आइपुगिसकेका छैनन्।



कलाकारको जमघटले त्यहाँको माहोल बाक्लिएको पाइन्थ्यो। फेवातालबाट देखिन दृश्यले कलाकारलाई चुप लागेर बस्न दिएन। आएका कलाकार दुरान्तर कायम गर्दै मस्तिष्कमा खिचिएका दृश्यलाई  ट्राइपोड र इजलका साथ जलरङमा कुची चोपेर क्यान्भास रङ्ग्याउन थालिहाले। कोही डुङ्गामा पुगे, कोही बाराही मन्दिर गए, कोही फेवा किनारमै बसे त कोही ‘वाकिङ प्लेस’का प्रतिक्षालयबाट नियाल्दै  चित्र कोर्न लागे।



विभिन्न कोण समाएर कलाकारले फेवालाई टम्म घेरे। आ–आफ्नो कोणबाट दृश्य सिर्जना गरे। उनीहरूको तीन दिनदेखिको थकान फेवाले बिर्साइदियो। आगन्तुक आन्तरिक र बाह्य पर्यटक आफ्ना आँखाले नियालिरहेका दृश्यहरू क्यान्भासमा देख्न पाउँदा ट्वाल्ल परेका थिए। उनीहरूले कलाकारसँग तस्वीर र  सेल्फी लिन पनि भ्याए।



यो अवसर जुटाइदिएको थियो नेपालको अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस)ले। पूर्वदेखि पश्चिमसम्मका नेपाली कलाकारका साथमा भारत, बङ्गलादेश र इरानका ११८ कलाकार सहभागी थिए यहाँ। भारतका कलाकार विजय विस्वाल फेवाको सुन्दरताले मन छोएको र कलाकारका लागि यो अनुपम उपहार भएको बताए।



फेवालाई नेपालको दोस्रो सबैभन्दा ठूलो र गहिरो ताल मानिने स्थानीयवासीले सुनाए। यो तालमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य तैरिन्छ। किनारबाट पनि आसपासका प्राकृतिक सुन्दरता नियाल्न सकिन्छ।



तालको बीचमा पर्ने तालबाराही मन्दिर अर्काे विशेषता हो। प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यही शिलामा मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजा गर्न थालिएको भनाइ छ। बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको र तालको बीचमा रहेकाले नाम तालबाराही हुन गएको जनविश्वास छ।



प्रमुख शक्तिपीठमध्ये एक मानिने यहाँ दाम्पत्य जीवन सुखमय हुने विश्वासमा धेरै मानिस दर्शन गर्न आइपुग्छन्। सोमबार धेरै कलाकारले त्यही तालबाराहीमै बसेर वरपरका सौन्दर्य र मन्दिरका दृश्य समेटे। फेवाको किनारमा बसेर ताललाई क्यान्भासमा सजाएका भक्तपुरका कलाकार अञ्जन अधिकारी यहाँ बसेर इजेलका साथ हातमा क्यान्भास र रङ लिएर जब कुची चोप्न थाल्दा शरीरमा नौलो ऊर्जा भरिने बताउँछन्। उनले भने, “यहाँबाट हेर्दा माछापुच्छ्रेको जुन प्रतिविम्ब फेवातालमा झल्किन्छ, त्यो हृदयस्पर्शी छ, जब ती पानीका छालहरु विस्तारै तरङ्गीत हुन्छ नी, एउटा कलाकारमा  भित्रैदेखि स्वच्छ रक्त सञ्चार हुन्छ, अनि उर्जा आइदिन्छ, काम गर्नका लागि शक्ति बढ्छ र उत्साह थपिन्छ।” 



कुनै पनि कलाकार फेवामा पुग्दा त्यहाँको गहिराइमा डुवेर प्राकतिक सुन्दरतालाई चित्रण गर्न आतुर हुन्छन्। पोखरालाई पहिलोचोटि स्पर्श गरेका इलामका कलाकार किरणकुमार शिगुलाई पनि त्यही अनुभूति भयो। “नौलो अनुभूतिको आनन्द प्राप्त हुने रहेछ”, शिगुले भने, “कला प्रकृतिबाटै सिकिन्छ, प्रकृतिकै नक्कल गरेर चित्र सिर्जना हुने हुँदा फेवा किनारबाट नियाल्दा भित्रैदेखि सन्तुष्टि प्राप्त भयो।”



कलाकारहरुको बुझाइमा एउटा चित्रकारले जे कुरा खोजिरहेको हुन्छ, ती चिजहरु एकै ठाउँबाट प्राप्त गर्न सकिने स्थान हो फेवाताल। उक्त अवसर धेरै ठाउँमा पाइँदैन। विविधतायुक्त प्रकृतिलाई खेलाउन फेवा किनार उत्कृष्ट गन्तव्य भएको उनीहरुको भनाइ छ। यहाँ बसेर रङ खेलाउन औधी मजा हुने कलाकारहरुले बताए।



यसपालिको आर्ट क्याम्पमा उत्कृष्ट १० मा परेका चितवनका कलाकार बरुणबाबु घिमिरेले फेवाबाट दुरान्तर असाध्यै राम्रो हुने बताए। “एक त सुन्दर ताल त्यसमाथि उभिएको माछापुच्छ्रेसहितका प्राकृतिक छटाले आर्ट गरेरै थाकिन्न। जता फर्कियो त्यतै पेन्टिङ गरौँ गरौँ झैँ लाग्छ”, उनले भने। घिमिरेका अनुसार पोखरा नेपालीपन र नेपाली परिवेश बोकेको ठाउँ हो।



भक्तपुरका कलाकार सुस्मा श्रेष्ठ र उहाँकी छोरी श्रेया हाडा पनि आर्ट क्याम्पमा सहभागी थिए। दुवै जनाले फेवाको दृष्यलाई सोमबार जलरङले सजाए। सुस्मालाई त्यो नजिकको हरियालीभित्रको मसिना कण बनाउन खुब ऊर्जा मिल्यो। 



प्रकाशको किरणसँगै छिनछिनमा बदलिने प्रकृतिका रङसँगै कलाकारले रङ खेलाउन सक्नुपर्छ। त्यसमाथि जलरङ खेलाउन त्यति सजिलो हुँदैन। यहाँको हरियाली वातावरण, तरेली परिरहने एकनासको छाल, सिरिरिरि बहिरहने हावा र हिमालको स्पर्शले मुग्ध पारिदिन्छ।



यहाँको प्राकृतिक सौन्दर्यको अथाह प्रेमले गर्दा नै  सिर्जनाका लागि विभिन्न जिल्लाका कलाकारलाई पटकपटक यहाँ  तानेर ल्याउने गरेको स्थानीय कलाकार मनोज तामाङले बताए।



-नारायण ढुङ्गाना/रासस