३० दिनभित्र विवरण बुझाउन सहकारीलाई काठमाडौँ महानगरको निर्देशन

तोकिएको समयभित्र विवरण नबुझाए कानूनबमोजिम कारबाही गर्ने महानगरले जनाएको छ। मेयर बालेन शाहले सहकारी सुशासनका लागि सदस्यको निरन्तर निगरानी आवश्यक रहेकाे बताएका छन्।

काठमाडौँ– काठमाडौँ महानगरले ३० दिनभित्र सबै विवरण बुझाउन सहकारीलाई निर्देशन दिएको छ।

महानगर सहकारी विभागले बुधबार सूचना जारी गर्दै साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण बुझाउन आग्रह गरेको हो। तोकिएको समयभित्र विवरण नबुझाए कानूनबमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ।

यसैबीच, महानगरका प्रमुख बालेन शाहले वित्तीय जोखिमबाट बच्न र सहकारीलाई संकटग्रस्त हुनबाट बचाउन संस्थाका शेयर धनी तथा बचतकर्तालाई अनुरोध गरेका छन्। महानगरको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकले दिने गरेका लिखित र मौखिक उजुरीको चाप बढ्दै गएको शाहको भनाइ छ।

“यस्तो संवेदनशील समयमा सहकारीहरूले आफ्नो काम कारबाहीलाई जिम्मेवार, इमानदार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यस्तै, तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कारोबार र लगानी नगर्न, बढीभन्दा बढी तरलता कायम राख्न, अनुत्पादक क्षेत्रमा लगानी नगर्न तथा शेयर सदस्यलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्न पनि उनले अनुरोध गरेका छन्।

सहकारी संस्थाहरू सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण हुने ऐनमा व्यवस्था छ। त्यसैले सहकारी सुशासनका लागि सदस्यको निरन्तर निगरानी आवश्यक हुने मेयर शाहको भनाइ छ।

संस्थाको कारोबारका बारेमा नियमित जानकारी लिन, साधारणसभा नगर्ने सहकारीबारे विभागमा जानकारी दिन, बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्न सञ्चालक समितिका पदाधिकारीको पहिचान गरेर मात्र कारोबार गर्नसमेत उनले सुझाएका छन्।