लैंगिक अल्पसंख्यकको एक्लोपन: कसरी भिड्ने?

एकछिनका लागि सोच्नुस् त- सँधैभरी परिवार, साथीसंगी र कहिलेकाहीँ त आफ्नै समुदायबाटै तिरस्कृत तथा अलग हुनुपर्ने त्रास बोकेर बाँच्नु कति चुनौतीपूर्ण होला?

प्रसिद्ध कलाकार रिचर्ड डावेलले भनेझैँ "अरू दुःखझैँ एक्लोपन पनि क्वीयर (लैंगिक अल्पसंख्यक)हरूको भोगाइ हो।"

अहिले विश्वभर मानव जाति एक्लोपनको चपेटामा परेको छ। विशेष गरी क्वीयर समुदायमा यो समस्या छ। किन यस्तो भइरहेको छरु यो प्रश्नको उत्तर खोज्न सर्वप्रथम एक्लोपन के हो भन्ने बुझ्न जरुरी छ। हाम्रा सामाजिक अन्तरक्रियाले हाम्रो सामाजिक आवश्यकतालाई पूरा गर्न नसक्ने 'भावनात्मक स्थिति'लाई एक्लोपनका रूपमा बुझ्न सकिन्छ। कतिपय अवस्थामा मान्छे अरूले घेरिएर रहँदासमेत आफूलाई एक्लो महसुस गरिरहेको हुनसक्छ।

विश्वव्यापी रूपमा उपलब्ध तथ्यांकका अनुसार आफ्ना विषमलिंगी (हेटोरोसेक्सुअल) साथी-समकक्षीको तुलनामा क्वीयर व्यक्तिले धेरै एक्लोपन महसुस गर्ने सम्भावना अधिक हुन्छ। (पुरुष स्त्रीप्रति र स्त्री पुरुषप्रति आकर्षित हुनेहरू विषमलिंगी हुन्। सं.)  अरूको भन्दा फरक सामाजिक परिवेश र 'मार्जिन'मा जीवन व्यतीत गर्न क्वीयरहरु अभिशप्त हुने भएका कारण पनि यसो भएको हो।

यो परिदृश्य बुझ्न उक्त समुदायले दैनिक जीवनमा भोग्दै आएका केही विशेष चुनौतीबारे जाँच गर्न र तिनलाई बुझ्न आवश्यक छ।    

एकछिनका लागि सोच्नुस् त- सँधैभरी परिवार, साथीसंगी र कहिलेकाहीँ त आफ्नै समुदायबाटै तिरस्कृत तथा अलग हुनुपर्ने त्रास बोकेर बाँच्नु कति चुनौतीपूर्ण होला? आफ्ना हरेक भावना र अनुभवलाई बेवास्ता गरिएको तथा आफ्नो अस्तित्व सीमान्तकृत भएको अवस्था कल्पना गर्नुस् त ! बाहिरी संसारसँगको संघर्ष र द्वन्द्व छँदैछ, क्वीयर आफैँभित्र पनि अनेक अन्तर्द्वन्द्व चलिरहेको हुन्छ।   

यसका साथै, हाम्रो 'हेटेरोनोर्मटिभ' (लैंगिक अस्तित्वको एउटा मात्रै मानक मान्ने) समाजमा आफूलाई स्वीकार गर्दै आफ्नो परिचय बनाउने यात्राले क्वीयरहरुलाई झनै अलगावको महसुस गराउँछ। कतिपय सन्दर्भमा उनीहरूले पूर्वाग्रहमात्र हैन, हिंसासँग समेत लड्नुपर्ने हुन्छ। क्वीयर अनुभवको अभिन्न अंग नै सामाजिक एकान्तपना बन्न सक्ला? मनोवैज्ञानिक, सम्बन्ध, भावनात्मक र सामाजिक 'अलगाव'को परिणाम क्वीयरहरूको एक्लोपन हो। क्वीयरमाथि 'पराया'को व्यवहार र सोचको परिणाम हो यो। 

त्यसो हुँदा क्वीयर समुदाय आफ्नो जीवनमा एक्लोपन स्विकार्न बाध्य छन्। यो बोझको मनोवैज्ञानिक र भावनात्मक स्वास्थ्यमा मात्र नभई शारीरिक स्वास्थ्यमा समेत ठूलो नकारात्मक असर पर्ने गरेको छ। विज्ञहरूले त्यसलाई "अल्पसंख्यक तनाव"को नाम दिएका छन्, जसले अल्पसंख्यकहरूलाई कलंकित पहिचानको जीवन बाँच्नुको पीडा दिन्छ, नकारात्मक प्रभाव छाड्छ। 

क्वीयर समुदायको सन्दर्भमा "अल्पसंख्यक तनाव"ले आफैँप्रति हिनताभाव, अरूले अस्वीकार गर्छन् भन्ने कुरामा धेरै संवेदनशील र आफ्नो पहिचान लुकाउने अवस्था सिर्जना गर्छ। यी विषयले स्वस्थ र अर्थपूर्ण सम्बन्धको स्थापना र नवीकरणमा बाधा पुऱ्याउन सक्छ।

धेरै क्वीयरहरू आफ्नो वरपरबाट आउने प्रतिक्रियाहरूबाट डराउँछन्, आफ्नो वास्तविक पहिचान लुकाउँछन् र आफैँ समुदायबाट अलग हुँदै जान्छन्। जसका कारण क्वीयरभित्रै पनि आदर्शवादी र रोमान्टिक खालका सम्बन्ध विस्तारमा कठिनाइ निम्तन्छ। प्रस्ट र सिधै कुरा राख्न सक्ने व्यक्तिसमेत हिंसा र अस्वीकृतिबाट डराउँछन्, जसका कारण आफ्नै समुदायबीच अर्थपूर्ण सम्बन्ध कायम गर्न क्वीयरलाई कठिन हुन जान्छ। 

एक्लोपन धेरै मानसिक स्वास्थ्यसम्बन्धी समस्याको जड हुनसक्छ। डिप्रेसन, चिन्ता, तनाव, आत्महत्या, कम आत्म-सम्मान, निर्णय लिने क्षमतामा कमी, लागूपदार्थको प्रयोग, हृदय रोगको उच्च जोखिम, निद्राको समस्या, उच्च रक्तचापलगायतका समस्या एकाकींपनसँग जोडिएका छन्।

एक्लोपनको महामारीबारे क्वीयर व्यक्तिहरूमा चेतना बढेसँगै अब सामुदायिक स्तरमा, अनलाइन तथा अफलाइन सुरक्षित ठाउँहरूको सिर्जना गर्नु आवश्यक छ, जसले गहिरो सामाजिक सम्बन्धलाई प्रोत्साहन गरोस्। सम्बन्ध विस्तार, समुदाय र सम्बद्धता तीन वटा प्रमुख स्तम्भ हुन्, जसले यस महामारीलाई सम्बोधन गर्न मद्दत गर्छ।

क्वीयरहरूलाई एक ठाउँमा जोड्ने, मानसिक स्वास्थ्यका समस्या समेट्ने र सामाजिक सम्बन्ध विस्तार गर्ने खालका कार्यक्रमहरू आवश्यक छ। यस्ता विषयमा क्वीयर समुदायबीच नै संवाद हुनु आवश्यक छ। क्वीयरहरूले विभिन्न मञ्चहरूमार्फत निर्विघ्न र निस्फिक्री आफ्ना चासो र समस्या व्यक्त गर्न पाउनुपर्छ। त्यसका लागि क्वीयरहरूकै मानसिक स्वास्थ्यमा काम गर्ने संस्थाहरूसँग क्वीयरहरूले सम्बन्ध निर्माण गर्नु जरुरी छ।   

व्यक्तिगत तहमा, सबैभन्दा महत्त्वपूर्ण र अत्यावश्यक कुरो स्वयं आफ्नै ख्याल राख्नु हो। किन? किनभने एक्लोपनसँग भिड्न तपाईँ आफैँ तयार हुनुपर्छ, त्यस्तो तत्परता केवल आत्म-हेरचाह र सामाजिक सम्बद्धताबाट आउन सक्छ।

यसका लागि तपाईंले अरू थोक गर्नुभन्दा, आफैँलाई पहिलो प्राथमिकता दिनु आवश्यक छ। तपाईंले आफ्नो समुदायका मानिससँग अर्थपूर्ण सम्बन्ध र मित्रताको नाता गाँस्नुपर्छ। हिँडडुल र व्यायाम गर्ने, यदि आवश्यक छन् भने औषधी नियमित खाने, किताबहरू पढ्ने तथा आध्यात्मिक अभ्यास गर्दा राम्रो हुन्छ। 

बढ्दो रूपमा सामाजिक मिडियाबाट प्रभावित र सञ्चालित अहिलेको जगतमा यसो गर्न असजिलो होला, तर त्यस्ता प्रयास गर्नु महत्त्वपूर्ण हुन्छ। त्यस्ता ठाउँ, कार्यक्रम र व्यक्तिसमक्ष पुग्नुहोस्, जो सामाजिक सम्बन्ध विस्तारका योजनाहरू बनाउँछन्।  

ख्याल राख्नुहोस्, संसारमा सबै जना एक्लो नै छन्। स्वयं र अरूको लागि सहानुभूति धेरै महत्त्वपूर्ण विषय हो। यदि यसो गर्न सकिएन भने, साथी वा 'थेरापिस्ट'को साथ हुँदासमेत एक्लोपनका अनेकौँ जटिल आयामहरू हामीले झेल्नुपर्ने हुन्छ। 

यदि यो सम्भव छैन भने, एक विश्वसनीय साथी वा एक चिकित्सकसँग, एक्लोपनसँग जोडिएका सबै जटिल भावनाको हलका लागि सहकार्य गर्नु आवश्यक छ। 

हाम्रो जीवन सामाजिक मिडियाहरूबाट प्रभावित र सञ्चालित हुने क्रम बढ्दै जाँदा क्वीयरका बारेमा सकारात्मक मिडियाहरूसँगको निकटतासमेत तपाईँका लागि सहयोगी हुनसक्छ। उसो त, संसार बिस्तारै क्वीयर समुदायप्रति सकारात्मक हुँदै जाँदा क्वीयर मिडियाको उपलब्धता पनि फराकिलो हुँदै छ। 

भिडियो, पुस्तक, पोडकास्ट, पत्रिका, चलचित्र अथवा टेलिभिजनहरूमार्फत आफ्नो फराकिलो समुदायको जीवन र भोगाइबारे जान्नु, समुदायको अंशको रूपमा आफैँमा गजब कुरा हो। यस्ता प्रतिनिधित्वका समाचारहरूले तपाईँ आफ्नो यात्रामा एक्लै हुनुहुन्न भन्ने कुरा पनि स्मरण गराउँछ। 

एक्लोपनसँग जुध्ने क्रममा, देखिने गरी सार्वजनिक ठाउँमा उपस्थित हुने र क्वीयर समुदायबीच नै जाने कुरासमेत असहज हुनसक्छ। प्रारम्भमा त्यस्तो कदम डरलाग्दो र असहज हुन सक्छ, जसका कारण व्यक्ति स्वयं 'सेल्फ आइसोलेसन' मा जान सक्छ। त्यसको सट्टा, बिस्तारै बाहिर निस्कने अभ्यास गर्नु राम्रो हुन्छ।

सुरुवाती प्रयासका रूपमा, क्वीयरका अनलाइन स्पेसहरू खोज्नुहोस्, जसमार्फत क्वीयरहरूसँग जोडिने थप अवसर मिल्न सक्छ। यो विशेष गरी त्यस्तो व्यक्तिका लागि राम्रो विकल्प हो, जो सजिलै पहुँचमा नभएको या  ठुलो क्वीयर समुदाय नभएको क्षेत्रमा बसोबास गर्छ।

जब व्यक्तिमा बढी आत्मविश्वास पलाउँछ, अन्य क्वीयर व्यक्ति भेट्ने विभिन्न तरिकाहरू भेट्टाउँदै जान्छ, जसमा सामुदायिक कार्यक्रम, अन्य खालका 'मिटिङ' अथवा अनलाइन एप्लिकेसनहरू सहायक हुन सक्छन्। यसो गर्दै गर्दा आफू सदैव सुरक्षित रहने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ। एक्लोपनकै कारण भौतिक, भावनात्मक र मानसिक सुरक्षामाथि सम्झौता गर्नुपर्ने अवस्था हुनुहुन्न। 

एक्लोपनसँग जुध्नका लागि हामीले जेसुकै गरे पनि एउटा कुरा भने भुल्नुहुन्न। त्यो के भने, यो विश्वव्यापी महामारी हो। क्वीयर व्यक्तिहरूले सर्वत्र यससँग जुधिरहेका छन्, यसलाई  झेलिरहेका छन्। हामीले एक पटकमा एक कदम चाल्नु पर्छ र हार मान्नु हुँदैन। हामी सधैँ यो महसुस गर्न नसकौँला, तर यो समस्यासँग जुध्ने क्रममा हामी सबै सँगै छौँ।


स्क्रोल डटइनमा प्रकाशित दगुप्ताको लेखको भावानुवाद। थिएटर कलाकारसमेत रहेकी दगुप्ता क्वीयर लेखक हुन्।