विपद्‍मा परेकाको सहयोगका नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको आग्रह

गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरूसँग तस्वीर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरू रोक्न जरुरी रहेको बताए।

काठमाडौँ– सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गर्दै विपद् प्रतिकार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ।

बिहीबारबाट शुरू भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरूसँग तस्वीर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरू रोक्न जरुरी रहेको बताए। “विपद्का बेलामा उद्धारका लागि जाने भनेर उपस्थिति दर्ज गराउने होडबाजी बढी देखिएको छ” उनले भने “यसलाई रोक्नुपर्छ।”

उनले विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायसँग समन्वय गरी राहत र उद्धार कार्यमा खटिनु आवश्यक रहेको बताए। उनले सरकारले विपद्बाट बच्न तीन चरणका तयारीहरू गरेको उल्लेख गरे। उनले सरकार र सरकार मातहतका निकायसँगै गैरसरकारी संघ संस्थाहरूको पनि विपद् व्यवस्थापन र न्यूनीकरणका लागि सहयोगको आवश्यकता औँल्याए।

“मन्त्रालय र मन्त्रालय मातहतका निकायसँग मन्त्रालयले कार्ययोजना बनाएर विपद् जोखिम न्यूनीकरण तथा पुनः निर्माण प्राधिकरणबाट ७७ वटै जिल्लाका स्थानीय प्रशासन र अरू निकाय योसँग सरोकार राख्ने गैरसकारी निकायहरूको सहयोगमा हामीले उपलब्धि हासिल गरिरहेका छौँ। यो साझा प्रयत्नबाट भएको हो। हामीले अझै यसमा सुधार गर्नुपर्छ, अनुसन्धानमा हामीले थप अनुसन्धानको आवश्यकता पर्छ,” उनले भने। विपद् व्यवस्थापन कार्यका लागि सरकारको तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने बताए।