नेपालमा बुद्धकालीन धानदेखि विश्वकै अग्लो स्थानमा फल्ने धानलगायत २०० बढी प्रजाति छन्। दैनिक खाने भातबारे राजनीतिज्ञहरू जति संवेदनशील हुनुपर्ने हो, उति संवेदनशील देखिएका छैनन्।
त्रिभुवन विश्वविद्यालयमा बालीविज्ञान विषयको उपप्राध्यापक हुन् डा. रमा पौडेल। उनले अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस, अर्बानाबाट बालीविज्ञान विषयमा विद्यावारिधि गरेकी छन्। उनीसँग कृषि र खास गरी धानको विषयमा केन्द्रित रहेर उकालोका लागि प्रकाश अजातले गरेको कुराकानी:
नेपाली जनजीवन धानसँग कसरी जोडिएको छ?
वैदिक कालदेखि गरिँदै आएको मध्ये एक हो धानखेती। अहिले बिहान–बेलुका भान्सामा नभई नचल्ने अनाजका रूपमा चामल रहने गरेको छ। धान एउटा बाली मात्र नभएर हाम्रो सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्वको बाली पनि हो। हामी जन्मेदेखि मृत्यु संस्कारसम्म धान–चामलको प्रयोग गर्छौं। हाम्रा चाडपर्व र कर्मकाण्डमा धान तथा चामलको प्रशस्त प्रयोग हुन्छ। हरेक जाति र परम्परासँग धान जोडिएको छ। पहाडतिर दसैँतिहारको सेल रोटी होस्, नेवारहरूले योमरी पुन्हीमा बनाउने योमरी होस्, तराईको ठेकुवा होस्, त्यसको स्रोत चामल नै हो। सबैजसो नेपालीले खाजाका रूपमा खाने चिउरादेखि लिएर सबै समुदाय र संस्कृतिमा चामलबाट अनेकन् पकवान र परिकार बन्छन्। अतः धान र धानको चामल नेपाली समाज र संस्कृतिको अभिन्न अंग हो।
धानमा हामी कति आत्मनिर्भर छौँ? धान–चामलमार्फत हामी समृद्धि हासिल गर्नसक्छौँ?
हामीमध्ये धेरै किसान परिवारमै हुर्केका होलाउँ। नेपालमा १४.७ लाख हेक्टर जमिनमा धानखेती गरिन्छ भने उत्पादकत्व ५६.१ लाख मेट्रिक टन छ। यति उत्पादन हुँदाहुँदै पनि हामीलाई धान अपुग हुने गरेको छ। तथ्यांक हेर्दा हामीलाई वार्षिक ७२ लाख मेट्रिक टन आवश्यक पर्ने रहेछ।
हामीले खाद्यान्नका लागि त धानको प्रयोग गर्छौं नै रक्सी बनाउन र पशुका लागि दाना बनाउन पनि धानको प्रयोग गरिराखेका हुन्छौँ। बिउका लागि त धान चाहिनै हाल्यो। हामीलाई अपुग हुने धान–चामल बाहिरबाट ल्याउँछौँ। ५० अर्ब बराबरको चामल नेपालमा आयात हुने गरेको छ।
नेपालमा धानको उत्पादकत्व बढाउन के गर्नुपर्ला?
सन् २००४ यता नेपालले धान दिवस मनाउँदै आएकोमा यो वर्ष २०औँ राष्ट्रिय धान दिवस 'जलवायु अनुकूलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ मनाइँदै छ। त्यसो हुँदा हाम्रो लक्ष्य धान उत्पादनमा वृद्धि नै हो। र, धानको उत्पादन वृद्धि गर्न सम्भव छ, तर ठाउँअनुसार धानखेतीका पद्धति फरक छन्। हामीकहाँ चैते र वर्षे धानको खेती हुन्छ। मोरङ र विराटनगरका केही क्षेत्रमा हिउँदे धान (बोरा राइस)को पनि खेती गरिन्छ। त्यस्तै, हामी घैया पनि लगाउँछौँ। चैते धानमा मात्रै वृद्धि गर्न सकियो भने अपुग भएको धानको पूर्ति गर्न सकिएला।
यहाँनिर हामीले के ख्याल राख्नुपर्छ भने धान उत्पादन जोखिममुक्तचाहिँ छैन। जलवायु परिवर्तनले धेरै जोखिमहरू थपेको छ। अनियमित वर्षाका कारण पाकेको धान खेतमै नष्ट हुने गरेको छ। जलवायु परिवर्तनसँग भिड्न सक्ने खालको प्रविधिको अनुसन्धान र प्रसारमा राज्य र हामी वैज्ञानिकहरूले पनि लगानी गर्नु र ध्यान पुर्याउनुपर्ने आवश्यकता छ।
पहाड र तराईमा धानखेतीका समस्याहरू के–के हुन्?
नेपालको धानखेतीको मुख्य क्षेत्र तराई हो, जसको करिब ७० प्रतिशत हिस्सा तराईले ओगट्छ भने करिब २५ प्रतिशत मध्य पहाडी/पहाडी इलाका र केही प्रतिशत हिमाली क्षेत्रले। चाखलाग्दो के छ भने, समुद्र सतहदेखि ६० मिटरको उचाइ (झापा)मा पनि धानखेती गर्छौं भने समुद्र सतहदेखि तीन हजार ५० मिटरको उचाइमा (जुम्ला)समेत धानखेती हुन्छ। त्यसको मतलब, विश्वकै अग्लो स्थानमा फल्ने धान हाम्रो देशमा फल्छ। हामीसँग धेरै स्थानीय प्रजातिका धानहरू छन्। त्यसो हुँदा प्रत्येक स्थान विशेषमा लगाउने धानका अलग विशेषता र चुनौती छन्।
पहाडमा जमिनको खण्डीकरण आफैँमा चुनौती हो। टुक्रे जमिन भएका कारण त्यस्ता जमिनमा यान्त्रिकीकरण असहज हुन जान्छ। त्यसमाथि पहाडबाट धेरैजसो जनसंख्या शहरमा बसाइँ सरेका कारण जनशक्ति अभाव बढ्दो छ। धानखेती धेरै लागत हुने बाली हो, कामदार मात्र नभएर त्यसलाई नियमित पानी, मल र विषादी पनि चाहियो।
माथि उल्लेख गरिएका कतिपय चुनौती तराईका पनि हुन्। तराईमा जलवायु परिवर्तनले झनै जोखिमहरू थपेको छ। खास गरी बाढीकै कारण पनि धानखेती जोखिममा पर्ने गरेको छ। दिउसोको प्रकाशले बालीलाई प्रकाश संश्लेषण गर्न सहज बनाउँछ,, तर राति तापक्रम बढेको अवस्थामा बालीले श्वासप्रश्वास गर्दा त्यसले उत्पादनमा ह्रास आउन सक्छ। पहाड र तराई जहाँसुकै होस्, असाध्यै धेरै पानी चाहिने बाली भएकाले सिचाइ व्यवस्थापन धानखेतीको ठूलो चुनौती हो।
धानखेतीको प्रवर्द्धनको विषय राजनीतिसँग पनि जोडिन्छ। हाम्रा राजनीतिज्ञहरू धानखेतीबारे कत्तिको गम्भीर देखिन्छन्?
यस विषयमा सबै जना गम्भीर हुनु जरुरी छ। तर समष्टिगत रूपमा कृषि क्षेत्र नै राज्यको कति प्राथमिकतामा पर्छ भन्ने महत्त्वपूर्ण प्रश्न हो। राष्ट्रिय योजनाहरूमा धानलाई प्राथमिकता दिएको त पाइन्छ, तर धानखेतीमा यति धेरै चुनौती र अवसरहरू छन् कि राज्यबाट अझै पर्याप्त लगानी भएको छैन। दैनिक खाने भातबारे राजनीतिज्ञहरू जति संवेदनशील हुनुपर्ने हो, उति संवेदनशील देखिएका छैनन्।

नेपालीहरू जति आज 'भाते' भएका छन्, २०–३० वर्षअघि थिएनन्। सहजै बजारमा चामल पाइन थालेपछि भात खाने अभ्यास झनै बढ्दो छ। तर हामी चामलमै मात्र आश्रित हुने कि अरू बालीको पनि विकास गर्ने?
यो महत्त्वपूर्ण प्रश्न हो। हामीले विगतमा हाम्रा स्थानीय बालीहरू; मकै, कोदो, फापर जौलगायत अन्य अनाजहरू पनि धेरै गर्थ्यौं। ती बढी पोषणयुक्त पनि छन्। हाम्रो आम्दानीको स्रोत बढ्दै जाँदा चामल, त्यसमा पनि झनै बास्नादार र मसिनो चामलको माग बढ्दै जाँदो छ।
यसबीच, कृषिसम्बन्धी सरकारी निकायहरूले हाम्रा परम्परागत बालीहरूको संवर्द्धन र प्रवर्द्धनका लागि केही कार्यक्रमहरू ल्याएको छ। यसको जरुरी पनि छ, किनभने हाम्रो खाद्यान्नमा विविधता ल्याउन आवश्यक छ। हामीले चामल मात्र खानुपर्छ भनेर वकालत गर्नु हुँदैन। स्वस्थ शरीरका लागि खानामा समेत विविधता आवश्यक छ।
नेपाली धानका स्वादहरूलाई हामीले ब्रान्डिङ गर्न सक्छौँ कि सक्दैनौँ?
त्यो एकदमै आवश्यक छ। हाम्रोमा बुद्धकालीन धानका रूपमा चिनिने कालानमक धान छ, जुन कपिलवस्तु तथा रुपन्देही जिल्लामा खेती गरिन्छ। त्यस्तै, पोखराको जेठोबुढो धानदेखि जुम्लाको जुम्ली मार्सीलगायत फरक स्वाद भएका पौष्टिक र स्वादिष्ट धान छन्।
नेपालीहरू नै अहिले विश्वभर छरिएका रहेका छन्। म आफैँ अध्ययनका क्रममा पाँच वर्ष अमेरिका बसेर आएँ। हामी त्यहाँ हुँदा भारतमा उत्पादित बासमती चामल खान्थ्यौँ। उसो त, हामीसँगै अन्य स्थानीय जातका बासमती धान पनि छन्। त्यस कारण यिनमा राज्यले लगानी गरेर प्रवर्द्धन गर्नुपर्छ। हामीसँग धानका स्थानीय जिन र जातहरू प्रशस्त छन्। लगभग २५ सय जिनहरू 'जिनबैंक'मा सुरक्षित छन्। तिनीहरूको अध्ययन र प्रवर्द्धन हाम्रो आवश्यकता र दायित्व हो।
धानखेती प्रवर्द्धनबारे अहिले हामीले गरेका प्रयास पर्याप्त छन्?
नेपालका कृषिसम्बन्धी विश्वविद्यालय र अध्ययन संस्थानहरूमा धानसम्बन्धी कोर्सहरू पढाइन्छन्। तर धानखेतीको महत्त्वबारे राज्य र राज्यका निकायले वर्षमा एक दिन मात्र चर्चा गरेर मात्र हुँदैन। धानखेती पद्धति र धानको जातबारे वर्षभर नै छलफल, अनुसन्धान, प्रविधि विकास आवश्यक छ। यसमा प्रयोग हुने मलखाद, सिँचाइ र झारपात व्यवस्थापनदेखि अनेक आयाममा छलफल चलाउनुपर्छ।
पहाडमा पानी नलाग्ने ठाउँमा घैया खेती गरिन्छ। कम सिँचाइ अथवा सिँचाइ अभावमै समेत खेती गर्न सक्ने र उत्पादन धेरै दिने धानको विकास आवश्यक छ कि छैन?
घैया मात्र होइन, तराईमा समेत अहिले जलवायु अनुकूलित र छर्न मिल्ने धानको अनुसन्धान भइरहेको छ। एक ठाउँमा बिउ हुर्काएर फेरि रोप्ने धानभन्दा पनि सिधै एकै ठाउँमा बिउ हुर्काउँदा त्यसको लागत र उत्पादनमा कस्तो असर पर्छ भन्नेबारे अध्ययन भइरहेको छ। जग्गाको खनजोत र पानी कम पर्ने भएकाले घैयाजस्ता धानको लागत कम पर्ने भयो। अहिले 'नार्क'ले छरुवा धानको अध्ययन अनुसन्धान गर्दै छ। छरुवा धानका प्रजाति विकाससमेत हुँदै गएका छन्। माटो सुहाउँदो र कम लागतमा धेरै धान उत्पादनका लागि काम भइराखेका छन्।
संसारको धेरै धान उत्पादन गर्ने चीन र दोस्रो ठूलो देश भारतले पनि धानखेतीमा अनेकौँ प्रविधि विकास गरेका होलान्। धानखेतीको प्रविधि आदानप्रदान गर्नु कत्तिको जरुरी छ।
भारत र चीन धानखेतीका अग्रणी हुन्। धानखेतीको अध्ययन, अनुसन्धान र प्रविधिको हिसाबले एशिया प्रमुख हो। उनीहरूसँग हामीले ज्ञान आदानप्रदान गर्ने र सिक्ने कुरामा सहकार्य गर्नुपर्छ।
भारत र चीनका बीच 'गजबकै मुलुक छ नेपाल' भन्ने खालको छाप विश्वभर छाड्ने गरी कृषिको कुन क्षेत्रलाई विकास गर्न सकिएला?
बाटोघाटो र बिजुली जुनसुकै मुलुकको प्राथमिक पूर्वाधार भइहाले। नेपालमा पर्यटक दुई प्रकारका आउँछन्, एउटाचाहिँ यहाँको प्राकृतिक स्रोतसाधन नियाल्न। अर्को, यहाँको स्थानीय स्वाद लिनका लागि। स्थानीय स्वाद अन्ततः कृषिले नै दिने हो। इलाममा जाने हो भने, चिया, जुम्ला जाँदा त्यहाँको स्याउ या जुम्ली मार्सीको भात, रुपन्देहीमा पुगे कालानमकको भातको विशेष स्वाद। ६० मिटरदेखि आठ हजार ८४८ मिटरसम्मका जैविक विविधता र त्यसअनुसारका खाद्य र अनाज हामीकहाँ छन्। यिनै अनाज, उत्पादन स्वादमार्फत हामी विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न सक्छौँ। त्यसमाथि हाम्रा परम्परागत बालीहरूको प्रवर्द्धनमार्फत आन्तरिक पर्यटनसमेत बढाउन सकिन्छ।
भिडियो: किसन पाण्डे
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
