काठमाडौँको कमलादीमा निर्मित स्काइवाक टावर शुक्रबारदेखि सञ्चालनमा आउँदैछ। टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ। यहाँबाट ३६० डिग्रीमा उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ।
काठमाडौँ– फ्रान्सको पेरिसमा १३४ वर्षअघि निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ। पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन्। यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमा खर्चिन्छन्।
फ्रान्सको आइफल टावरमात्रै होइन, पर्यटक आकर्षित गर्न दुबईमा बुर्ज खलिफा, इटालीमा लिनिङ टावर, जापानमा स्काइट्रीलगायत विश्वका कैयन् देशले यस्ता संरचना बनाएका छन्। नेपालबाट पनि बर्सेनि ठूलो संख्यामा पर्यटक आइफल टावर, बुर्ज खलिफा जाने गरेका छन्।
अब भने यस्ता अग्ला टावरबाट शहर नियाल्ने अवसर नेपालमा पनि प्राप्त हुने भएको छ। शहरका गगनचुम्बी भवनभन्दा माथि ‘स्काइवाक’ गर्न नेपालमै पाइने भएको छ।
काठमाडौँको कमलादीमा दुई वर्ष लगाएर निर्माण गरिएको यस स्काइवाक टावरको शुक्रबार ‘सफ्ट ओपनिङ’ हुँदैछ। अर्थात् सर्वसाधारणले टिकट काटेर अवलोकन गर्न पाउने भएका छन्।
कुल ७८.५ मिटर अग्लो यस टावरमा दुई अर्ब लगानी भएको निर्माता कम्पनी वन्डर नेपाल प्रालिका अध्यक्ष आविष्कार पोख्रेलले जानकारी दिए। “टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुन्छ। यसप्रकारको संरचना नेपालमा पहिलोपटक निर्माण गरिएको हो,” उनले भने, “कमलादीस्थित गणेश मन्दिर छेउको यस टावरबाट उपत्यकाको ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ। १८, १९ र २०औँ तलामा निर्मित ‘एम्पिथिएटर’ रेस्टुराँमा खानपिन गरेर समय बिताउन पनि सकिन्छ।”
टावरको २१औँ तलामा उभिएर छेवैको १०० वर्ष पुरानो त्रिचन्द्र क्याम्पस, रानीपोखरी र घण्टाघरको ‘एरियल भ्यू’ हेर्दा निकै रोमाञ्चक लाग्छ। अलिक पर समानान्तर उभिएको धरहरा, टुँडिखेलका साथै अग्ला भवन पनि हेर्न पाइन्छ। टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ। टावरबाट केही किलोमिटरको दूरीमा रहेको स्वयम्भू स्तुपा नजिकै लाग्छ। साथमा उपत्यकालाई छेकिरहेका पहाडलाई नजिकैबाट नियाल्न सकिन्छ।
हाल स्काइवाकमात्रै निर्माण गरिए पनि दोस्रो चरणमा यहाँ बन्जी र स्वीङलगायत पर्यटकीय संरचना पनि थप्ने योजना रहेको अध्यक्ष पोख्रेलले जानकारी दिए। टावरदेखि १८औँ तलासम्म जानका लागि दुईवटा लिफ्टको व्यवस्था गरिएको छ। जहाँ ३० सेकेन्डमै माथि पुग्न सकिन्छ। दुईवटा लिफ्टबाट २४ जनाका दरले एकैपटकमा ४८ जना माथि जान सकिन्छ।
सबैभन्दा माथिल्लो तलामा रहेको डेक एरियामा एकैपटक ५०० जनाभन्दा बढी अट्ने गरी बनाइएको कम्पनीका सञ्चालक तेजबहादुर सिंहले जानकारी दिए। उनका अनुसार टावरका रेस्टुराँमा एकैपटक एक हजार जनाभन्दा बढी मानिस बस्न सक्ने गरी संरचना निर्माण गरिएको छ। टावरमाथि नै शौचालयको व्यवस्था पनि छ।
स्काइवाकका लागि सिसा राखिएको तलाभन्दा माथि नेपालको झन्डा फहराइएको छ। त्यहाँ पुग्नका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ र एकपटकमा दुई जनाभन्दा बढी जान मिल्दैन।
१३ रोपनी दुई आना क्षेत्रफलमा पार्किङको सुविधाका साथै बगैँचा पनि अवलोकन गर्न सकिन्छ। सोही परिसरमा रहेका ३६ वटा सटरमा रेस्टुराँलगायत सुविधा पनि उपलब्ध हुनेछन्। कम्पनीका अनुसार माथिल्लो तलामा प्रयोग भएको सिसालाई पाँच तहमा राखिएको छ। सबैभन्दा मुनि १० एमएम आकार र त्यसमाथि १.५ एमएम, १० एमएम, १.५ एमएम र फेरि १० एमएमको सिसा प्रयोग गरिएको छ।
स्काइवाकका लागि कम्पनीले टिकट प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकेको छ। तीन फिटभन्दा कम उचाइ भएका र ८० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टिकट लाग्ने छैन। ७० देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था छ। कम्पनीले हाललाई बिहान ८ देखि राति ८ बजेसम्ममात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ।
कम्पनीमा ९० जना शयरधनी रहे पनि सञ्चालकमा आविष्कार पोख्रेल, लोकनाथ अधिकारी, विष्णु काप्री, खेम न्यौपाने र तेजबहादुर सिंह छन्। कम्पनीले यसअघि इलामको कन्याममा स्काइवाक सञ्चालनमा ल्याइसकेको छ। धनकुटाको भेडेटारमा पनि स्काइवाक निर्माण गर्दैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
