गत वर्ष असार १५ गतेसम्ममा २५ प्रतिशत धान रोपाइँ सकिएकोमा समयमा पर्याप्त वर्षा नहुँदा यस वर्ष त्यसको आधा पनि रोपाइँ हुन सकेको छैन।
काठमाडौँ– पर्याप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार यस वर्षको आधा असार सकिँदा १२ प्रतिशत मात्र रोपाइँ सकिएको हो। गत वर्ष असार १५ सम्ममा २५ प्रतिशत रोपाइँ सकिएको थियो।
मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले वर्षा नहुँदा सिँचाइ सुविधा नभएका क्षेत्रमा रोपाइँ हुन नसकेको बताए। “अहिले पनि सबैतिर मनसुन सक्रिय हुन सकेको छैन। नयाँ प्रणाली भित्रिएको छ। यसले देशका सबै ठाउँमा वर्षा भयो भने धान रोपाइँले गति लिने विश्वास छ,” उनले भने।
मन्त्रालयका अनुसार सबैभन्दा कम मधेश प्रदेशमा रोपाइँ भएको छ। यहाँ अहिलेसम्म ३ प्रतिशत मात्र रोपाइँ सकिएको छ। राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम सर्लाहीका अनुसार मधेश प्रदेशमा करिब ३ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ।
कोशी प्रदेशमा १७ प्रतिशत धान रोपाइँ सकिएको छ। अहिलेसम्म सबैभन्दा बढी रोपाइँ हुने कर्णाली र सुदूरपश्चिम प्रदेश हुन्। त्यहाँ २३ प्रतिशत रोपाइँ सकिसकेको छ।
खडेरीका कारण किसानले खेतमा राखेको धानको बीउ नै मर्न थालेको धानबाली अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक रामवरण यादव बताउँछन्। “किसानले खेतमा राखेको बीउ पनि मर्न थालेको छ। बीउ जोगाउन नै धौधौ छ। ब्याड नै चिराचिरा परेको छ,” उनी भन्छन्, “कपिलवस्तु रुपन्देहीतिर त बेर्ना पनि बचाउन सक्ने स्थिति छैन। स्यालो ट्युबवेल नभएको ठाउँमा बचाउन गाह्रो छ।”
मन्त्रालयका अनुसार देशभर करिब १४ लाख ४७ हजार हेक्टरमा धान लगाइन्छ। त्यसमध्ये ३० प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध छ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठ किसानले समयमै धानको बीउ रोप्न नपाए त्यसले उत्पादनमै असर पर्ने बताउँछन्। “२२ देखि २५ दिनसम्मको बेर्ना रोप्नका लागि उपर्युक्त हुन्छ। तर, सिँचाइको अभावका कारण किसानले समयमै रोप्न पाएनन् भने त्यसले उत्पादनमा असर पुग्ने निश्चित छ,” उनी भन्छन् “बुढो बेर्ना लगाउँदा त्यसको उत्पादन राम्रो हुन्न।”
किफायती छरुवा धान
लामो समयको खडेरीका कारण तराई क्षेत्रमा ब्याडमै धानको बीउ सुकेको छ। तर, यस्तो खडेरीको समयमा छरुवा धान सिँचाइ, खर्चका हिसाबले किफायती हुने राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक रामवरण यादव बताउँछन्।
किसानमा छरुवा विधिप्रति विश्वास नहुँदा फस्टाउन सकेको छैन उनको भनाइ छ। “छरुवा विधिबाट उत्तिकै फाइदा छ। खर्च पनि आधा कम लाग्छ। उत्पादन रोपेजस्तै हुन्छ। तर, मानिसमा अहिलेसम्म विश्वास छैन,” उनी भन्छन् “छरुवा धान खेती गर्ने हो भने अहिले जस्तो खेतमा बेर्नाहरू मर्ने अवस्था आउँदैनथ्यो र कमसेकम बुढो बेर्ना रोप्नुपर्दैनथ्यो।”
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले ९६ प्रकारका विभिन्न धानका जातहरू विकास गरेको छ। त्यसमध्ये ६३ प्रकारका धानका जात तराई र बाँकी पहाडी क्षेत्रका लागि सिफारिस गरिएको जातहरू हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
