बुर्किना फासोमा विद्रोही आक्रमण, ३९ सैनिकसहित ८० जनाको मृत्यु

बुर्किना फासोमा सन् २०१५ यता १० हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको छ। 

तस्वीर: एएफपी

बुर्किना फासोमा सन्दिग्ध जिहादीले गरेको चार वटा आक्रमणमा कम्तीमा ३९ सैनिक र ४१ जना स्वयंसेवी लडाकूको  मृत्यु भएको छ।

सानमातेंगा प्रान्तको नोआकामा भएको भिडन्तमा सहायक बल ‘भोलेन्टियर्स फर द डिफेन्स अफ द फादरल्यान्ड (भीडीपी)’ का ३३ जना सदस्यको मृत्यु भएको सेनाले जनाएको छ।

सेनाको एक वक्तव्यअनुसार उक्त झडपमा करिब ५० जना ‘आतंककारी’ मारिनुका साथै ठूलो परिमाणमा सैन्य सामग्री बरामद गरिएको छ।

त्यही दिन विद्रोहीले महिनौँदेखि घेरिएको जिबो शहरबाट निस्केपछि नाम्सिगियामा सैनिकको सुरक्षामा रहेको खाद्य आपूर्ति गर्ने समूहमाथि एम्बुस आक्रमण गरेका थिए। 

सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “एक हप्तामा भएका आक्रमण र प्रतिकारका क्रममा केही हिंसात्मक घटना भएका छन्। आक्रमणमा ‘३९ सैनिक, ४० सवयंसेवक लडाकु र तीन भीडीपी सदस्यको मृत्यु भएको छ भने विद्रोहीतर्फ पनि करिब ५० जनाको मृत्यु भएको छ।”

आक्रमणपछि हराइरहेका एक दर्जन व्यक्तिको खोजी भइरहेको विज्ञप्तिमा जनाइएको छ। पश्चिमको बोलुक्ले डु मौहोन क्षेत्रको टिया क्षेत्रमा मंगलबार पनि सैनिकमाथि आक्रमण भएको थियो।

सन् २०१५ मा मालीमा भएको जिहादी विद्रोहसँग जुधिरहेको विश्वकै सबैभन्दा गरिब राष्ट्रमध्येको एक बुर्किनामा अहिलेसम्म १० हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको एक गैरसरकारी संस्थाले जनाएको छ।

द्वन्द्वका क्रममा कम्तीमा २० लाख मानिस विस्थापित भएका छन्।