तिनाउ नदीमा बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

पछिल्लो तीन घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बाढी मापन केन्द्र बुटवलले जनाएको छ।

तस्वीर: केशर रोका क्षेत्री

काठमाडौँ– लगातरको वर्षासँगै तिनाउ नदीमा ठूलो बाढी आएको छ।

रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा निरन्तर भारी वर्षा भएपछि तिनाउ नदीको जलसतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

नदी तटीय क्षेत्रमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन स्थानीयलाई एसएमएस पठाइएको महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ।

बाढी मापन केन्द्र बुटवलले पनि सूचना जारी गर्दै पछिल्लो तीन घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको उल्लेख गरेको छ। केन्द्रले दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै, आज रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) आसपास भई बहने अन्य साना नदीमा समेत जलसतह बढ्ने तथा केहीमा आकस्मिक बाढी आउनसक्ने भएकाले उच्च सतर्कता अपनान महाशाखाक‍ो अनुरोध छ।