घरदैलोमा व्यस्त काठमाडौंका उम्मेदवार [तस्वीरहरू]

निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको व्यस्तता बढेको छ। उम्मेदवारहरू आफ्ना प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरूले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन्। काठमाडौंमा सत्ता गठबन्धन र एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई तीव्र पारेका हुन्।

मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एकै चरणमा हुँदै छ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूले मतदातालाई भेटेर भोट माग्ने क्रमलाई तीव्रता दिएका हुन्। सत्ता गठबन्धनबाट काठमाडौं–४ मा उम्मेदवारी दिएका कांग्रेस महामन्त्री गगन थापा, काठमाडौ–७ मा मानुसी यमि, काठमाडौं–५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत उम्मेदवारहरू काठमाडौंका मतदातासँग भोट माग गर्दै गरेको भेटिन्छ। त्यस्तै, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि निर्वाचनकेन्द्रित प्रचारप्रसारलाई तीव्रता दिएका छन्। उनी पर्चा-पम्पेलट बाँड्दै घरदैलोमा व्यस्त देखिन्छन्।

त्यस्तै, काठमाडौं–९ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी कल्पना धमला उम्मेदवार छिन्। उनी पनि कोर सिटीमा पर्ने टेकु, लगन आसपासको क्षेत्रमा भोट माग्दै गरेको भेटिइन्। यो क्षेत्रमा उनको प्रतिस्पर्धामा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ छन्।
 

तस्वीरहरू : अमित मचामसी र किसन पाण्डे/उकालो