ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास जग्गा प्रकरणको अनुसन्धानका लागि आइतबार तीन जनालाई नियन्त्रणमा लिइएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार थप तीन जनालाई पक्राउ गरेको गरेको छ। ललिता निवास जग्गा प्रकरणको अनुसन्धानका लागि आइतबार तीन जना पक्राउ गरिएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालय सर्भे कर्मचारी रहेका घमानकुमार कार्की रहेका छन्।

यसअघि सीआईबीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित सात जनालाई पक्राउ गरेकोमा अदालतको स्टेअडरका कारण तीन रिहा भएका थिए भने चार जना थुनामा छन्। थुनामा रहेकामध्ये तीन जनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो।

सोही प्रकरणमा सीआइबीले अनुसन्धान गरिरहेको छ। ललिता निवासको जग्गा हिनामिनासम्बन्धी मुद्दा विशेष अदालत र सर्वोच्च अदालतमा पनि विचाराधीन छ। त्यस्तै, आइतबार काठमाडौँ महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा खाली गराउन सातदिने ‘अल्टिमेटम’ दिएको छ।