विश्वकप क्रिकेट छनोटको प्ले अफमा नेपालसँग यूएई पराजित

नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आइतबार भएको प्लेअफ खेलमा यूएईलाई पराजित गरेको छ।

काठमाडौँ– नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आइतबार भएको प्लेअफ खेलमा यूएईलाई पराजित गरेको छ।

जिम्बावेको हरारेस्थित टाकासिङ्गा स्पोर्टस् क्लबमा नेपालले तीन विकेट बाँकी छँदै यूएईले दिएको लागि १८२ रनको लक्ष्य भेटायो।

नेपालले ४३.२ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। नेपालले अब सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

युएईविरुद्ध नेपालले शुरूआतमा कमजोर ब्याटिङ गरे पनि दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हालेका थिए। उनले अविजित रहँदै ८५ बलमा ७९ रन जोडे गरे। उनले ७ चौका र २ छक्का प्रहार गरे।

ओपनर कुशल भुर्तेलले ४ चौकाको मद्दतमा ५९ बलमा ३५ रन बनाउँदा सन्दीप लामिछानेले अविजित रहँदै २ चौकाको सहयोगमा ३७ बलमा २३ रन जोडे। ज्ञानेन्द्र मल्लले दुई चौका प्रहार गर्दै २२ बलमा १३ रन योगदान दिए।

गुल्सन झाले १२ रन जोडे भने कप्तान रोहित पौडेल आजको खेलमा चल्न सकेनन्। नेपालका अर्का ओपनर अर्जुन साउद, भीम सार्की र आरिफ शेख समान १–१ रन आउट भए।

टस हारेर पहिले ब्याटिङ थालेको यूएई ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो। यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए। उनले ७५ बलमा ४ चौका प्रहार गरे।

त्यस्तै, रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्माले २८ रन जोडे। बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए।

नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिँदा प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।