किर्गियोसले विम्बल्डन गुमाउने

निक किर्गियोसले वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन टेनिस गुमाउने भएका छन्।

काठमाडौँ– साबिक उपविजेता निक किर्गियोसले वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन टेनिस गुमाउने भएका छन्।

काँधको चोटका कारण उनले विम्बल्डनबाट नाम फिर्ता लिएका हुन्। २८ वर्षीय अस्ट्रेलियन खेलाडी गत वर्ष पुरुष एकलको फाइनलमा नोभाक जोकोभिचसँग पराजित भएका थिए।

घुँडाको चोटका कारण शल्यक्रिया गर्नुपर्ने भएकाले उनले यस वर्ष एउटा मात्रै प्रतियोगिता खेलेका छन्। चोटकै करण उनले अस्ट्रेलियन र फ्रेन्च ओपन टेनिस प्रतियोगिता गुमाएका थिए।

उनले इन्स्टाग्राममा पोस्ट गरेका छन्, “यो वर्ष विम्बल्डनबाट बाहिरिनुपर्दा म साँच्चै दुःखी छु। शल्यक्रियापछि तयार हुन र विम्बल्डन कोर्टमा फेरि पाइला राख्न सक्न सक्दो प्रयास गरेँ। तर, यो सम्भव भएन।”

किर्गियोस हाल ३०औँ वरीयतामा छन्। उनले विम्बल्डनको उद्घाटन खेलमा बेल्जियमका डेभिड गोफिनको सामना गर्ने तय थियो।