प्रधानमन्त्रीलाई मिनेन्द्र रिजालको जवाफ: राष्ट्रपति बन्नु/नबन्नु गिरिजाबाबुका लागि मुख्य विषय थिएन

प्रधानमन्त्री दाहालले आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा आफूलाई पश्चात्ताप लागेको बताएका थिए।

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले गिरिजाप्रसाद कोइरालाका लागि राष्ट्रपति बन्नु/नबन्नु प्रमुख विषय नरहेको स्पष्ट पारेका छन्। सोमबार नेपाल प्रेस युनियनले काठमाडौँमा गरेको ‘श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनलाई आफूले राष्ट्रपति नबनाएकोमा पश्चात्ताप लागेको बताएका थिए। प्रधानमन्त्री दाहालले आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा आफूलाई पश्चात्ताप लागेको बताएका थिए।

प्रधानमन्त्रीको सो अभिव्यक्तिप्रति टिप्पणी गर्दै नेता रिजालले कोइरालालाई प्रधानमन्त्री दाहालले जति ‘तिल लिएर श्रद्धाञ्जली’ व्यक्त गरे पनि नपुग्ने बताए। उनले कांग्रेससँगको प्रधानमन्त्री दाहालको अहिलेको यात्रा १२बुँदे समझदारीको निरन्तरता भएको बताए। उनले नेपालको वर्तमान राजनीति कोइरालाको दिशा निर्देशअनुसार चलेको दाबी गरे।

नेता रिजालले प्रधानमन्त्री दाहालले १२बुँदै सम्झौताको हरेक मसीको गहिराइलाई गम्भीरतापूर्वक बुझेर अघि बढे प्रधानमन्त्री दाहालको राजनीतिक जीवन नेपाली जनताको सेवा गर्ने अवसर हुने बताए।

“प्रधानमन्त्रीले आज हामीले उहाँसँग बसेर गरेको हस्ताक्षरको हरेक मसीको गहिराइलाई गम्भीरतापूर्वक बुझ्नुभयो भने उहाँको राजनीतिक जीवन गिरिजाप्रसाद कोइराला होइन, अरू थुप्रै कांग्रेसका नेताहरूको सहयोग र सहवासबाट आफ्नो राजनीतिक आकांक्षा नेपाली जनताको सेवा गर्ने अवसर हुनेछ,” उनले भने, “होइन भने गिरिजाप्रसाद कोइराला उहाँले त राष्ट्रपति बनाइन मात्रै भन्नुभयो, बन्ने नबन्ने कुरा गिरिजाबाबुका लागि प्रमुख थिएन,”