आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै विपक्षी दलहरूले बुधबार दुवै सदनका बैठक अवरुद्ध गरेका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेको छ। संघीय संसद्का दुवै सदनको बुधबारका बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका छन्।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै एमालेले बुधबार दुवै सदनका बैठक अवरुद्ध गरेको हो। एमालेलाई रास्वपा र राप्रपालगायत विपक्षीले साथ दिएका छन्।
प्रतिनिधिसभाको बैठक शुरू हुनासाथ एमाले सांसद् रघुजी पन्तले समय लिएर बोल्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गएको दाहालको अभिव्यक्ति आपत्तिजनक रहेको बताए। “नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो,” उनले भने, “नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुँदैन, उहाँको राजीनामा नआएसम्म यो बैठक अगाडि बस्न सक्दैन।”
पन्तले बोलेपछि एमालेका सबै सांसद आफ्नो सिटबाट उठेका थिए। सभामुख देवराज घिमिरेले सांसदहरूलाई बस्न आग्रह गर्दै माओवादीकी छिरिङ ल्हामु लामालाई समय दिएका थिए। तर, एमालेलगायत विपक्षी दलका सांसद उठेका थिए।
सांसद लामा बोल्दै गर्दै राप्रपा सांसदहरू सभामुखको आसन अगाडि आएका थिए। एमाले सांसदहरूले भने उभिएकै स्थानबाट नाराबाजी गरेका थिए। नाराबाजीकै बीच सांसद लामाले बोल्दै गर्दा सभामुख घिमिरेले बैठक आधा घन्टाका लागि स्थगित गरेका छन्।
उता राष्ट्रियसभा बैठक पनि एमालेले अवरोध गरेको छ। राष्ट्रियसभा बैठक शुरू हुनेबित्तिकै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर प्रधानमन्त्री दाहालको अभिव्यक्ति आपत्तिजनक भएको बताएका थिए।
प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले राजीनामा दिनुपर्ने उनले बताए। संसदीय दलका नेता दाहालले भने, “गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८औँ जन्म दिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर अहिले देशव्यापी रुपमा एउटा कौतुहलता जागेको छ। यो हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ?”
नेपालको प्रधानमन्त्री नेपालकै संसदले बनाउने भन्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह बारम्बार दिल्ली गएको अभिव्यक्तिले सार्वभौमसत्तामाथि प्रश्न उठेको उनले बताए। भारतको इसारामा प्रधानमन्त्री बनेको बताउने दाहालको अभिव्यक्ति एमालेलाई स्विकार्य नभएको उनले बताए।
दाहालले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने उनको घोषणापछि एमालेका सबै सांसद आफ्नो ठाउँबाट उठेका थिए। त्यसपछि राष्ट्रियसभा बैठक ३ बजे बस्ने गरी स्थगित गरिएको थियो। तर, बैठक तोकिएको समयमा बस्न नसकेपछि पौने ५ बजेलाई सारिएको थियो। उक्त समयमा पनि बस्न नसकेपछि सूचना टाँस गरेर बिहीबार १ बजेका लागि बैठक बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
