कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्ट कार्यान्वयन गर्ने विष्णु पौडेलको प्रतिबद्धता

उपाध्यक्ष पौडेलले सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दो बनाउन सबै सरकारी कार्यालयमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने बताए।

रूपन्देही– नेकपा एमालेका उपाध्यक्ष एवं रूपन्देही–२ का उम्मेदवार विष्णु पौडेलले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्ट कार्यान्वयन गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच उपाध्यक्ष पौडेलले आफूले गरेका काम र भावी योजना समेट्दै चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्। उनले आयोजना शुरू गरेर अन्त्य गर्ने बिन्दुमा पुर्‍याएर छोड्ने पनि बताए।

उपाध्यक्ष पौडेलले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्टबाट १४० मेगावाट विद्युत् उत्पादन गर्ने र १ लाखभन्दा बढी हेक्टर जमिनमा सिँचाइ पुग्ने बताए। उनले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्टमा विभिन्न व्यवधान आउनसक्ने उल्लेख गर्दै यसलाई कार्यान्वयन गरेरै छोड्ने बताए।

उनले विगतका निर्वाचनमा पनि भूमिहीन र सुकुम्वासीका समस्या समाधान गरेको उल्लेख गर्दै अबका दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए। उनले सुकुम्वासी र भूमिहीनका समस्या समाधानका लागि कानूनका आधारमा समस्याको स्थायी समाधान गर्ने उल्लेख गरे। उनले सुशासन, विकास र समृद्धिको लक्ष्यप्राप्तिका लागि सरकारी कार्यालय प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई कर्तव्यपरायण, सक्षम र परिणाममुखी बनाउने, प्रशासनिक संयन्त्रलाई भ्रष्टाचारमुक्त बनाउने बताए।

उपाध्यक्ष पौडेलले सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दो बनाउन सबै सरकारी कार्यालयमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने बताए।

उपाध्यक्ष पौडेलले प्राचीन सभ्यताको संरक्षण र विकासको अविभारालाई सम्पन्न गर्ने प्रतिबद्धता जनाए। उनले विकास प्रक्रियामा स्थानीय जनताको सहभागितालाई महत्त्व दिने, सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र एवं सामुदायिक क्षेत्रको साझेदारी र सहकार्यलाई प्रवर्द्धन गर्न आवश्यक कानूनी, संस्थागत एवं प्रक्रियागत व्यवस्था मिलाउने बताए।

पौडेलले विगतमा रूपन्देहीलाई विकासका दृष्टिले देशकै नमूना बनाउने उद्देश्यका साथ भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा महत्त्वपूर्ण काम अघि बढाएको बताए। सम्पन्न भएका आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने, निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने र तयारी अवस्थामा रहेका आयोजना शुरू र सम्पन्न गर्ने बताए।

उनले खेल क्षेत्रमा केही महत्त्वपूर्ण पूर्वाधार निर्माण गरी खेलकुदमा रूपन्देहीलाई आकर्षणको केन्द्रका रूपमा अघि बढाउने र पूर्वाधारमा स्टेडियम, रंगशाला बनाउने योजना रहेको बताए।