अप्रत्याशित रूपमा आएको उनको मृत्युको खबरले परिवारजन, साथी–सहकर्मी, शुभचिन्तक र उनका 'फ्यान'हरू स्तब्ध छन्। अहिले विभिन्न सामाजिक सञ्जालका भित्ताहरू उनका लागि लेखिएका श्रद्धाञ्जली सन्देशले भरिएका छन्।
काठमाडौँ– “देयर वज नो वान नियर टु कन्फ्युज मी, सो आई वज फोर्स्ड टु बिकम ओरिजिनल,“अस्ट्रियन संगीतकार फ्रान्ज जोसेफ हेडनका यी शब्दमा अहिले रविन तामाङको पूरै जीवनी झल्किरहेको छ।
बीसौँ शताब्दीको अन्त्यतिर नेपालको सांगीतिक क्षेत्रमा पप–संगीतको प्रभुत्व रहेको बेला अल्टरनेटिभ छवि लिएर उदाएका रविन त्यसपछिका दुई दशकसम्म गायन र पछि अभिनयका माध्यमबाट उत्तिकै सान्दर्भिक रहिरहे– आवाज र व्यक्तित्वमा प्रतिबिम्बित हुने त्यही 'ओरिजिन्यालिटी'का कारण। 'रविन एन्ड लुजा'ले दिएको उनको चिनारीलाई 'रविन एन्ड द न्यू रेभोल्युशन'को सफलताले थप बुलन्द बनायो, र उनी सबैका प्रिय 'रविन दाइ' बने।
स्थानीय 'अर्बन मिल्लेनिअल–कल्चर'का प्रतीकमध्ये एक तिनै रविन दाइ अब हामीमाझ रहेनन्।
संभवत: नेपालको सबैभन्दा लोकप्रिय रकस्टार रविन तामाङ मंगलबार बुढानीलकण्ठस्थित आफ्नै निवासमा मृत भेटिएका थिए। बुधबार दिउँसोसम्म उनको मृत्युको कारण खुलेको थिएन। अप्रत्याशित रूपमा आएको उनको मृत्युको खबरले परिवारजन, साथी–सहकर्मी, शुभचिन्तक एवम् उनका 'फ्यान'हरू स्तब्ध र मर्माहत छन्। अहिले विभिन्न सामाजिक सञ्जालका भित्ताहरू उनका लागि लेखिएका श्रद्धान्जली सन्देशले भरिएका छन्।
पाँच सन्तानमध्ये सबैभन्दा कान्छा रविन तामाङको जन्म सिंगापुरमा सन् १९६३ मा भएको थियो। उनका पिता ब्रिटिश सेनाका मेजर केशव तामाङ र माता सरस्वती क्षेत्री थिए।
'आमाजी' भनेर चिनिने उनकी हजुरआमा शोभाकुमारी क्षेत्री सन् १९३८-१९७२ सम्म १० गुर्खा राइफल्स् रेजिमेन्टमा मिड्वाइफ-नर्सका रूपमा कार्यरत थिइन्। समाजशास्त्री सञ्जय शर्माका अनुसार संभवत: उनी ब्रिटिश सेनामा मिडवाइफ-नर्सका रूपमा सेवा दिने पहिलो नेपाली महिला थिइन्।
पेशाले मेकानिकल इन्जिनियर रविन १७ वर्ष क्यानडामा बिताएर १९९६ मा नेपाल आएका थिए, जहाँ उनले आफ्नो सांगीतिक यात्रा शुरू गरे।
सन् १९९८ मा उनी सम्मिलित ‘रविन एन्ड लुजा’ ब्यान्डले ‘नेपाल’ नामक पहिलो एल्बम निकालेको थियो। उक्त ब्यान्डसँग उनको सन् २००५ सम्म संलग्नता रह्यो। यसबीच उनले काठमाडौँस्थित ठमेलमा 'ब्याम्बूज' नामक लाइभ म्युजिक क्लब खोलेका थिए जहाँ संगीत क्षेत्रमा आउन चाहिरहेका नयाँ पुस्ताले लाइभ प्रस्तुतिको अनुभव संगाले। त्यसयता नै नेपालमा रक विधाले आफ्नो बलियो जग स्थापित गर्दै गयो।
सन् २००६ मा 'रविन एन्ड लुजा'को साथ छुट्यो र उनले 'रविन एन्ड द न्यू रिभोल्युशन' ब्यान्ड स्थापना गरे। उक्त ब्याण्डको पहिलो एल्बम 'केटाकेटी'मा रहेको ‘कहाँ खेल्छन् हाम्रो केटाकेटी’ बोलको गीतले बढ्दो शहरीकरणका कारण बालबच्चालाई खेल्ने स्थानको अभाव भएको भाव बोकेको थियो। यसबाहेक ‘एकता’, ‘भुलमा भुल्यो, ‘जति माया लाए पनि’ (रक भर्सन), ‘दम मारो दम’ तत्कालीन युवापुस्तामाझ एकदम लोकप्रिय भएका थिए भने उनले सन् २०१० मा 'हाम्रो देश' हुँदै सन् २०१९ मा 'मुग्लान' नामक एल्बम निकालेका थिए।
रविनका हितैषी तथा ‘फ्लावर जेनेरेसन’ ब्यान्डका भोकलिस्ट युजिन श्रेष्ठ रविनलाई नेपाली संगीत क्षेत्रको क्रान्तिकारी मान्छन्। सोही कारण उनको ब्यान्डको नाम पनि ‘रविन एन्ड द रिभोल्युशन’ रह्यो। नेपाली रक म्युजिकमा तामाङ 'पायनियर' भएको श्रेष्ठ दाबी गर्छन्।
“रक एटिट्युड भएका मानिसले सधैं सामाजिक जीवनको परिस्थिति, मानिसका कथा र दु:खसुखको परिवेशलाई संगीतमार्फत पस्कने गर्छन्। उनको ‘मुग्लान’ नामक एल्बम यसको एउटा उदाहरण हो,” युजिनले भने, “यसबाहेक उनले प्रेमिल गीत पनि गाएका छन्। उनी एक पूर्ण कलाकार थिए।"
२०–२५ बर्ष अघिको नेपाली संगीत क्षेत्र एकल गायकीभन्दा पनि ब्यान्डको लागि उर्वर समय रहेको युजिन बताउँछन् जसको फैलावटको लागि रविनको भूमिका अतुलनीय रहेको छ।
युजिनका अनुसार हरेक पटक स्टेजमा चढ्दा दर्शकहरूलाई प्रोत्साहन गर्ने खुबी रविनमा थियो। “उनलाई कसैले पनि विस्थापन गर्न सक्नेछैन। नेपाली संगीत क्षेत्रले एउटा प्रेरणादायक र प्रभावशाली व्यक्ति गुमाएको छ,” युजिन भन्छन्।
युजिनका अनुसार गत शनिबार मात्रै उनीहरूले सँगै घुमघाम गरेर समय बिताएका थिए। “हामी पहिलेदेखि भेटेर दु:खसुखको कुरा गर्ने गर्थ्यौं, परिवारजस्तै थियौँ,” युजिन भन्छन्, “व्यक्तिगत तवरमा हामी एउटा परिवार नै थियौँ।”
“रविनले आफ्नो लागि मात्र नभई अरूका लागि पनि संगीतको मञ्च खुल्ला गरेका थिए,” उनले खोलेको लाइभ म्युजिक क्लबले धेरैलाई रक संगीतमा लाग्न प्रेरित गरेको युजिन बताउँछन्। उनी थप्छन, “रविनको क्लबमा संगीत अभ्यास गरेका कतिपय आज नेपालका ठूला ब्यान्डमा छन्।”
दुई दशक नेपाली संगीत क्षेत्रमा बिताएका रविन केही समययता चलचित्र जगतमा पनि देखिएका थिए। उनी छड्के, चिसो एस्ट्रे, मुखौटा, नाका र पछिल्लो समय 'छड्के २.०' मा देखिएका थिए। हालसम्म उनले ११ वटा नेपाली चलचित्रमा अभिनय गरेका छन् भने पछिल्लो बर्ष उनी हिन्दी सिरिज 'द लास्ट आवर'मा पनि देखिएका थिए।
नेपालको सबैभन्दा चिनिएकी महिला रक गायिका अभया सुब्बा रविनको निधनको खबरले स्तब्ध छिन्। उनी आफ्नो ब्यान्ड निर्माणको आधार नै रविन तामाङलाई मान्छिन्। 'अभया एन्ड द स्टिम इन्जिन्स्' अघि मेरो अर्कै ब्यान्ड थियो जसमा मेरै उमेरका केटाहरू ब्यान्ड सदस्य थिए,” उनी सम्झन्छिन्, “त्यतिबेला दाइले मलाई केटाहरूमा पितृसत्तात्मक सोच हुने हुँदा उस्तै उमेरको नभई आफूभन्दा सानो उमेरका केटाहरूसँग मिलेर ब्यान्ड बनाउन सल्लाह दिनुभएको थियो। त्यसपछि मैले उक्त ब्यान्ड बनाएकी हुँ।” यसको लागि सिंगो ब्यान्ड नै उनीप्रति आभारी रहेको अभया बताउँछिन्।
आफ्नो सांगीतिक क्षेत्रको शुरूआती चरणमा नयाँ गीत र एल्बम निस्कँदा पनि रविनले विभिन्न नाम सिफारिस गरेको अभयालाई सम्झना छ। ‘रक एन्ड रोल’ विधाको थालनीकर्ताको रूपमा रविनको नाम शीर्ष स्थानमा आउँछ। सोही विधामार्फत माया, प्रेम र वियोगका मात्र नभई सामाजिक विषयवस्तुमा पनि गीतसंगीत लेख्ने र गाउने ट्रेन्डलाई उनले स्थापित गरेको अभया मान्छिन्।
“उहाँका गीतहरूमा सामाजिक अभियानको अभिप्राय हुन्थ्यो। जाग, उठ, स्वतन्त्रता हौँ भन्ने ध्येयका गीत तपाईंहरूले पनि सुन्नुभएको भए थाहा पाउनुभयो होला,” अभया भन्छिन्, “यो उहाँको सबैभन्दा सबल पक्ष थियो। उहाँको यस्तो प्रभावशाली 'डिस्कोग्राफी'ले कति ब्यान्डमाथि कस्ता छाप परे होलान्,” उनी सोच्छिन्।
हाल नेपाली रक म्युजिक क्षेत्र फेरि ओझेलमा पर्दै गरेको समयमा उहाँको मृत्यु अकल्पनीय दुर्घटना भएको अभया बताउँछिन्। आफ्नै केही गीतका लागि रविनसँग सहकार्य गर्ने इच्छा र योजना अपूरो रहेको उनले बताइन्।
'स्प्राइन्ट ब्यान्ड च्यालेन्ज'का विजेतासमेत रहेका अनुप्रस्थ ब्यान्डका भोकलिस्ट निरन शाही रविनलाई आफ्नो अभिभावकको रूपमा मान्थे। प्रतियोगितामा निर्णायक मात्र नभई मेन्टरको भूमिकाबाट पनि रविनबाट धेरै जान्न-सिक्न पाएको उनलाई सम्झना छ। सोही प्रतियोगिताको समयदेखि रविनसँग उनको निकटता झाँगिएको थियो।
रविनको निर्जीव शरीर अटोप्सीका लागि राखिएको अस्पतालमै रहेका निरन अझै पनि यो घटनाले स्तब्ध छन्। “नेपालको रक एन्ड रोल पायोनियर रविन दाइलाई धेरै मिस गर्नेछु,” निरन भन्छन्, “अबदेखि उहाँलाई शोहरूमा हेर्न पाइने छैन।”
'मंकी टेम्पल' ब्यान्डका भोकलिस्ट सरिन देउजा आफ्नो किशोरावस्थामा रविनको ब्याम्बो बूज क्लबमा प्रत्यक्ष लाइभ सुन्न जाने पुस्तामा पर्छन्। “त्यसबेला दाइ रविन एन्ड लुजा भन्ने ब्यान्डमा हुनुहुन्थ्यो,” सरिन भन्छन्, “दर्शक भएर हेरिएको थियो। पढाइको सिलसिलामा अमेरिका बस्दासमेत ती गीतले गाह्रो समयमा प्ररेणा दिएका छन्।”
सन् ८० र ९० को दशकमा नेपालमा रक ब्यान्डहरू भए पनि विदेशी गीत गाउने रविन एन्ड लुजा मात्र भएको सरिन बताउँछन्। त्यसबेला काठमाडौँ र पोखराबाहेक बुटवललगायत हालका शहरी क्षेत्र ग्रामीण परिवेशमै सीमित थिए। सोही कारण ‘रक’ माहोल बिस्तारै फैलिँदै थियो। “प्रेम,वियोग, राष्ट्रभक्तिका गीतको टेन्ड्र चलिरहँदा आक्रामक गीत रुचाउने हामीजस्ता युवा पुस्तालाई उहाँका गीतले तान्न थालिसकेको थियो।"
"रक एन्ड रोल विधामार्फत राजनीतिक तथा सामाजिक घटनाका विषयमा दाइका गीतसंगीतले 'आउटलेट' दिए जुन हाम्रो पुस्ताको लागि प्रेरणादायी हुन्थे," सरिन भन्छन्, "हिजोसम्म रविन दाइ हुनुहुन्थ्यो, आज हुनुहुन्न भन्नुपर्दा रक समुदाय निकै दुखित छ। यो सुन्दा मनमा चिसो पस्दो रहेछ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
