तनहुँको म्याग्देमा पहिरो गएपछि पृथ्वीराजमार्ग अवरुद्ध

सडकभन्दा करिब १०० मिटरमाथिबाट खसेको सुक्खा पहिरोले म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि सवारी साधन डाइभर्सन गरिएको छ।

तनहुँ- म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

सडकभन्दा करिब १०० मिटर माथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो। साँझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

राजमार्ग खुलाउन सडक विस्तार गरिरहेको चिनियाँ कम्पनी, गाउँपालिका तथा स्थानीयको समेत सहयोगमा पहिरो पन्छाउन थालिएको उनले बताए। अहिले तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक बाटो दमौली भोर्लेटारचोकबाट कलेस्ती हुँदै पोल्याङका लागि डाइभर्सन गरिएको प्रहरीले जनाएको छ। 

पहिरो स्थलमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीसमेतको विपद् व्यवस्थापन प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी परिचालन गरिएको छ।