आन्तरिक किचलोका कारण २०५६ सालमा कृष्णप्रसाद भट्टराईको जमानत जफत भएको काठमाडौँ–१ मा २०६४ सालको संविधानसभा निर्वाचन जितेर प्रकाशमानले पहिलोपटक कांग्रेस झन्डा गाडेका थिए।
काठमाडौँ– २०७४ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रलाई मात्र ८१८ मतले पछाडि पारेर काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भए। सिंहले १० हजार ९३६ मत पाउँदा मिश्रले १० हजार ११८ मत पाएका थिए। नेकपा एमालेसँगको तालमेलमा उम्मेदवार भएका नेकपा (माओवादी केन्द्र)का अनिल शर्माले जम्मा पाँच हजार ३३६ मत पाएका थिए।
आउँदो मंसिर ४ मा हुने निर्वाचनमा पनि सिंहलाई उनै मिश्रले चुनौती दिँदैछन्। तर, यसपटक मिश्रले पार्टी फेरेका छन्। राजतन्त्रको वकालत गर्दै मिश्र राप्रपा प्रवेश गरेका छन् र वरिष्ठ उपाध्यक्ष बनेका छन्।
काठमाडौँ–१ बाट सिंहलाई चौँथोपटक जित निकाल्नबाट रोक्न मिश्रसँगै एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्वडीआईजी रमेश खरेल पनि उम्मेदवार छन्। एमालेका पौडेल युवा संघका अध्यक्ष हुन्। उनी पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन्।
स्वतन्त्र पार्टीका बम निर्वाचन घोषणा भएदेखि नै प्रचारप्रसार गरिरहेका छन्। पूर्वडीआईजी खरेल प्रहरीबाट अवकाश पाएपछि आफैँ पार्टी खोलेर राजनीतिमा होमिएका हुन्। उनको सुशासनसहित तीन पार्टीले संयुक्त रुपमा ‘आमा’ चिह्न लिएका छन्।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार यो क्षेत्रमा कांग्रेस र एमाले हाराहारीमा छन्। कांग्रेसका वडाध्यक्षले नौ हजार ८९५ मत पाउँदा एमालेका वडाध्यक्षका उम्मेदवारले ९ हजार ५४१ मत पाएका थिए। माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले एक हजार १७७ र राप्रपाका उम्मेदवारले एक हजार ३१२ मत पाएका छन्।
त्यसबेला रवीन्द्र मिश्र अध्यक्ष भएको विवेकशील साझाका उम्मेदवारले जम्मा १९४ मत पाएका थिए। काठमाडौँ महानगरको प्रमुखमा भने कांग्रेस र एमालेका उम्मेदवारलाई पछि पारेर काठमाडौँ–१ मा पर्ने वडाहरुबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका थिए। यहाँका ‘स्विङ भोटर्स’का कारण नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारले पनि जित्ने दाबी गरिरहेका छन्।
२०५६ सालमा कांग्रेसको जमानत जफत!
काठमाडौँ–१ मा २०५६ सालको निर्वाचन कांग्रेसका लागि बिर्सनलायक रह्यो। यो निर्वाचनमा कांग्रेसको जमानत नै जफत भयो। कांग्रेस उम्मेदवार कृष्णप्रसाद भट्टराईले हजार मत पनि पुर्याएनन्।
त्यसबेला एमालेका प्रदीप नेपाल १७ हजार ६०१ मत पाएर विजयी भएका थिए। उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लोकेश ढकालले १५ हजार २१९ मत पाउँदा तत्कालीन नेकपा मालेका महासचिव वामदेव गौतमले ६ हजार ८९ मत पाएका थिए। कांग्रेसका भट्टराई चौथो भएका थिए।
स्वतन्त्र उम्मेदवार ढकाल कांग्रेस नेता थिए। चुनाव हुनु केही दिनअघि क्षेत्र नं. १ बाट उम्मेदवार बनेका एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि यहाँको मतदान स्थगित भएको थियो।
कांग्रेस नेता भट्टराई पर्सा–१ मा पनि उम्मेदवार थिए। “पर्सा–१ मा उहाँले जित हासिल गर्दा काठमाडौँ–१ मा उहाँको उम्मेदवारीको अर्थ नहुने हुँदा पार्टीकै सल्लाहमा मैले उम्मेदवारी दिएको थिएँ,” ढकाल भन्छन्, “तर, पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले तत्कालीन मालेका अध्यक्ष वामदेव गौतमलाई सघाउन कार्यकर्ता परिचालन गरे। केही कांग्रेसीले पनि रुखको जमानत जफत गर्न हुन्न भनेर प्रचार गरे। त्यसैले मैले थोरै मतले हार्न पुगेँ।”
ढकालको चुनाव चिह्न त्रिशुल थियो। त्यतिबेला मन्त्री रहेका खुमबहादुर खड्काले मनोनयन दर्ता गर्न सहयोग गरे पनि पछि आफूविरुद्ध लागेको ढकाल बताउँछन्। त्यतिबेलाको क्षेत्र नं. १ मा अहिलेको २ नं. का पनि धेरै भाग पर्थे।
अर्का कांग्रेस नेता हरिबोल भट्टराई पनि स्वतन्त्र उम्मेदवार थिए। तर, उनले २६ मत मात्र पाए। पार्टीले अन्यायपूर्वक टिकट बाँडेपछि आफूले उम्मेदवारी दिएको र पछि निस्क्रिय बनाएको भट्टराई बताउँछन्।
२०४८ सालमा कांग्रेस सभापति नै पराजित
काठमाडौँ–१ ले धेरैपटक अप्रत्यासित परिणाम दिएको छ। यो क्षेत्रमा प्रायः हाइप्रोफाइल नेताले प्रतिस्पर्धा गर्ने गरेका छन्। २०४८ सालमा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईका विरुद्ध नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी उम्मेदवार बनेका थिए।
भण्डारीले २७ हजार ३७२ मत पाउँदा भट्टराईले २६ हजार ६२१ मत पाए। तेस्रो भएका पञ्चायतका हस्ती जोगमेहर श्रेष्ठले पाँच हजार २८० मत पाए। उनी राप्रपा चन्दबाट उम्मेदवार भएका थिए। त्यतिबेलाको यो चर्चित क्षेत्र अहिले काठमाडौँ–१ र २ मा विभाजित छ।
भण्डारीसँग पराजय बेहोरेपछि कांग्रेस कार्यवाहक सभापति भट्टराई संसद् छिर्नै पाएनन्। तर, कांग्रेसले बहुमत पाएको थियो। भट्टराई पराजित हुँदा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री हुने अवसर पाए। काठमाडौँ–१ को उक्त परिणामले कांग्रेसको मात्र नभइ देशकै राजनीतिक भविष्य प्रभावित भएको थियो।
यता एमाले महासचिव भण्डारी भने काठमाडौँकै दुई स्थानबाट विजयी भएका थिए। क्षेत्र नं. ४ मा उनले कांग्रेसका हरिबोल भट्टराईलाई पराजित गरेका थिए।
उनै हरिबोल भट्टराई २०५१ सालको मध्यावधि निर्वाचनमा भने काठमाडौँ–१ बाट उम्मेदवार बनेका थिए। एमालेले अध्यक्ष मनमोहन अधिकारीलाई उम्मेदवार बनाएको थियो। अधिकारीले २५ हजार ६७२ मत पाउँदा हरिबोलले १३ हजार ६८४ मत पाएका थिए।
२०१५ सालमा महामन्त्री पराजित!
२०१५ सालको निर्वाचनमा क्षेत्र नं. १ काठमाडौँमा कांग्रेसका गणेशमान सिंह विजयी भएका थिए। तर, यो क्षेत्रमा हालको क्षेत्र नं. १ का स्थान थिएनन्। त्यतिबेला नयाँ सडक, क्षेत्रपाटी र त्यहाँभन्दा पश्चिमका ठाउँ क्षेत्र नं. १ मा पर्थे। त्यति बेला नेपाललाई १०९ क्षेत्रमा बाँडिएको थियो।
क्षेत्र नं. १ मा गणेशमान सिंहले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई पराजित गरेका थिए। सिंहले १० हजार ९८६ मत पाउँदा श्रेष्ठले सात हजार ८४८ मत मात्र पाएका थिए। राणाविरोधी आन्दोलनमा लागेर चर्चित भएका संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार प्रेमबहादुर शाक्यले सात हजार १८८ मत पाएका थिए।
तर, अहिले काठमाडौँ–१ मा पर्ने अधिकांश स्थान त्यतिबेला क्षेत्र नं. ५, काठमाडौँ उपत्यकामा पथ्र्यो। यो क्षेत्रमा अहिलेका क्षेत्र नं. १ मा पर्ने डिल्लीबजार, घट्टेकुलो, बानेश्वर, भिमसेनगोलालगायत क्षेत्र थिए। त्यसबाहेक भाटभटेनी, ज्ञानेश्वर, चाबेललगायत ठूलो क्षेत्र समेटिएको थियो। यहाँबाट कांग्रेसका महामन्त्री सूर्यप्रसाद उपाध्याय पराजित भएका थिए।
यहाँबाट संयुक्त प्रजातन्त्र पार्टीका लोचनशमशेर थापा विजयी भएका थिए। उनले आठ हजार ७५५ मत पाउँदा उपाध्यायले पाँच हजार ७१७ मत पाएका थिए। यो क्षेत्रबाट पराजित हुनेमा नेपाल प्रजातान्त्रिक महासभाका अध्यक्ष रंगनाथ शर्मा र प्रजापरिषद् अध्यक्ष टंकप्रसाद आचार्य पनि थिए। शर्माले तीन हजार २६२ र आचार्यले एक हजार १६८ मत पाएका थिए।
काठमाडौँ–१ बाट प्रकाशमानको उदय
गणेशमान सिंहका छोरा प्रकाशमान २०४८ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ बाट उम्मेदवार भएका थिए। उनी एमाले नेतृ सहाना प्रधानसँग पराजित भए। प्रधानले २८ हजार ६८० मत पाउँदा प्रकाशमानले १९ हजार ५०४ मत पाए। प्रधान नेकपाका संस्थापक महासचिव श्रेष्ठकी श्रीमती थिइन्। प्रधानले गणेशमानपुत्रलाई पराजित गर्दै २०१५ सालमा श्रीमान् पुष्पलाल श्रेष्ठको हारको ‘बदला’ लिएकी थिइन्।
उता काठमाडौँ क्षेत्र नं. ३ मा भने गणेशमानकी श्रीमती मंगलादेवी उम्मेदवार थिइन्। उनी पनि एमाले उम्मेदवार पद्मरत्न तुलाधरसँग पराजित भएकी थिइन्।
२०५१ सालको निर्वाचनमा मंगलादेवी सिंह उम्मेदवार नबनेपछि छोरा प्रकाशमान काठमाडौँ–३ बाट उम्मेदवार भए। यसपटक काठमाडौँका क्षेत्रलाई पाँचबाट बढाएर सात वटा बनाइएको थियो। प्रकाशमानविरुद्ध एमालेले अध्यक्ष मनमोहन अधिकारीलाई उम्मेदवार बनाएको थियो। काठमाडौँ–१ समेत दुई क्षेत्रमा उम्मेदवार बनेका अधिकारी दुवैमा विजयी भए। क्षेत्र नं. ३ मा अधिकारीले १५ हजार ६९२ मत पाउँदा प्रकाशमानले ११ हजार ३७८ मत पाएका थिए।
लगातार दुईपटक पराजित भएपछि २०५३ सालमा कांग्रेसले सिंहलाई राष्ट्रियसभा सदस्य बनायो। राष्ट्रियसभा सदस्य कायम रहेकालाई प्रतिनिधिसभामा टिकट नदिने कांग्रेस नीतिका कारण प्रकाशमानले २०५६ सालमा उम्मेदवार बन्नै पाएनन्।
२०६४ सालको संविधानसभा निर्वाचनमा प्रकाशमानले पुनः टिकट पाए। यसपटक पनि उनले क्षेत्र परिवर्तन गरे। उनी पहिलोपटक काठमाडौँ क्षेत्र नं. १ मा उम्मेदवार भए। तत्कालीन नेकपा माओवादीले प्रत्यक्षतर्फ धेरै क्षेत्र जितेको बेला पनि कांग्रेस उम्मेदवार प्रकाशमानले यहाँ विजयको माला लगाए।
काठमाडौँको क्षेत्र नं. १ मा कांग्रेसको मत सधैँ राम्रो रहेको र संगठन पनि बलियो भएका कारण सिंह जितको खोजीमा यता आएको नेता लोकेश ढकाल बताउँछन्। “उहाँ लगातार हारिरहनुभएको थियो। काठमाडौँ–१ मा कांग्रेसको संगठन पनि बलियो छ र मतदाता पनि धेरै छन्”, ढकाल भन्छन्, “काठमाडौँ– ७ मा घर भए पनि उहाँ जित्नका लागि यता आउनुभएको हो।” उनले भनेजस्तै, प्रकाशमानको उदय नै यही क्षेत्रबाट भयो।
उक्त निर्वाचनमा सिंह १४ हजार ३१८ मतसहित विजयी हुँदा एमालेका प्रदीप नेपालले ६ हजार ७८९ मत पाएका थिए। तेस्रो भएका माओवादी उम्मेदवार डा.राममान श्रेष्ठले चार हजार ८३६ मत पाए। २०७० सालको संविधानसभा निर्वाचनमा उनी १५ हजार १३८ मतसहित विजयी हुँदा तत्कालीन एकीकृत माओवादीकी रेणु दाहालले चार हजार ६४ र एमालेकी राधा ज्ञवालीले तीन हजार ५०१ मत पाएका थिए।
सिंहले २०७४ सालको निर्वाचन पनि जितेर ‘ह्याट्रिक’ गरिसकेका छन्। प्रजातन्त्र पुनःस्थापनादेखि २०५६ सालबाहेकका हरेक निर्वाचन लड्दै आएका सिंहलाई पहिलो विजय १८ वर्षपछि मात्र प्राप्त भएको थियो। त्यहाँदेखि काठमाडौँ–१ मा निरन्तर उम्मेदवार बनिरहेका उनी यसपटक काठमाडौँ–७ बाट उम्मेदवार बन्ने चर्चा पनि थियो। तर, निर्वाचन जितिरहेको ठाउँ छाड्दा अप्ठेरो पर्ने बुझेपछि उनी काठमाडौँ–१ मा नै उम्मेदवार बनेको ढकालको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
