पाकिस्तानको लाहोरमा बाढी: १७ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

बुधबार र बिहीबारको वर्षाका कारण लाहोरको शहरी क्षेत्रमा बाढी आएको छ। अधिकांश सडक र ‘अन्डरपास’ डुबानमा परेकाले आवागमनमा गम्भीर अवरोध उत्पन्न भएकाे छ। 

तस्वीर: सिन्ह्वा

पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा बाढीमा परी १७ जनाको मृत्यु भएकाे छ। ५० जना भन्दा बढी घाइते भएका छन्।

लाहाेरकाे उद्धार विभागका अनुसार त्यहाँ ३० वर्षयताकै सबैभन्दा बढी २९१ मिलिमिटर वर्षा हुँदा डुबेर, करेन्ट लागेर र भग्नावशेषमा पुरिएर ती व्यक्तिको मृत्यु भएको हो। 

बिहीबार राति भारी वर्षाका कारण घरको छाना भत्किँदा एक दम्पती र उनीहरूका दुई छोरासहित चार जनाको मृत्यु भएको छ। लाहोरको थोकर सन्नी पार्क क्षेत्रमा वर्षाको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ। एक महिलासहित चार जनाको करेन्ट लागेर मृत्यु भएको समाचार संस्था सिन्ह्वाले जनाएकाे छ। 

बुधबार र बिहीबारको वर्षाका कारण शहरी क्षेत्रमा बाढी आएको छ। धेरै क्षेत्रमा पूर्वाधारमा क्षति पुगेको छ। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीका अनुसार शहरका अधिकांश सडक र ‘अन्डरपास’ डुबानमा परेकाले आवागमनमा गम्भीर अवरोध उत्पन्न भएकाे बताएका छन्। 

पन्जाबका मुख्यमन्त्री मोहसिन नकवीले मुख्य सडक सफा गर्न र जलमग्न क्षेत्रबाट पानी निकास गर्न टोलीहरू नियुक्त गरिएको बताए।

पाकिस्तानको मौसम विज्ञान विभाग (पीएमडी)ले अरब सागरबाट आएको वायुको तरंगको प्रभावले प्रान्तका अन्य भागमा पनि भारी वर्षाको पूर्वानुमान गरेको छ।