२६ परिवारको बसोबास रहेको खानीगाउँका सबैले व्यावसायिक बाख्रापालन गरिरहेका छन्। गाउँको नाम नै ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ।
गलेश्वर– दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिक रूपमा बाख्रापालन थाले।
उनले यूएई, कुवेत र मलेसियामा काम गरेका उनी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन्। शरूआतमा १७ स्थानीय र चार अस्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय थालेका थिए। अहले उनको खोरमा १२० बाख्रा छन्।
तीन वर्षयता बाख्रा बिक्री गरेर वार्षिक १० लाख रुयैयाँ आम्दानी भइरहेको उनले बताए। बुढाथोकी मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिक रूपमा बाख्रापालनमा होमिएका छन्। गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ। हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ।
बाख्रापालन मात्रै होइन बुढाथोकीले तरकारी खेतीसमेत गर्दै आएका छन्। सुन्तलाका ३०० बिरुवासमेत लगाएका छन्। “वार्षिक १५ लाख आम्दानी गर्ने लक्ष्य छ,” उनले भने। विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले सुनाए। “तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ,” उनले भने, “सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा परिवर्तन आएको छ।”
गुप्तेश्वर कृषक समूह गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको हो। चरनको समस्या नरहेको अर्का कृषक राजन राम्जालीले बताए। अनुदानसहितका कार्यक्रम सिंगो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ।
“कृषकको दैनिकी दिउँसो जंगलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ। मिलेर बाख्रा पालेका छौँ,” राम्जालीले भने, “खेर गएको जमिनमा सुन्तला तथा खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छौँ।”
बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने स्थानीय बताउँछन्।
मंगला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ। गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन्। उनीहरूले ६०० भन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन्।
बाख्रापालक कृषकलाई २२ लाख रुपैयाँ अनुदान दिएको गाउँपालिकाका प्रवक्ता एकजित रोकाले बताए। गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्य रहेको सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
