बागलुङ बजारमा नगरखानेपानीले वितरण गर्दै आएको रेशखोला र भुदीखोलाको मुहान र धारो दुवैमा कोलिफर्म फेला परेको छ।
बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलिफर्म’ रहेको पाइएको छ। जिल्लाका १० स्थानीय तहबाट २१३ खानेपानी मुहानको नमूना संकलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलिफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
हालै मात्र निसीखोला गाउँपालिका–६ भल्कोटमा झाडापाखला र टाइफाइड रोग फैलिएपछि खानेपानीको मुहान परीक्षण गर्दा कोलिफर्म भेटिएको कार्यालयले जनाएको हो।
स्वास्थ्य कार्यालयले एक महिनाअघि नसीखोला गाउँपालिका–६ मा वितरण गरिएको तीन वटा खानेपानीको मुहानको पानी परीक्षण गर्दा तिग्रापानीमा रहेको मुहानमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यले बताए। उनका अनुसार निसीखोलामा मात्रै सात स्थानका खानेपानी मुहानको नमुना परीक्षण गरिएको छ।
चालु आर्थिक वर्षमा २१३ खानेपानी मुहानको नमूना संकलन गरी परीक्षण गरिएकामध्ये ७७ खानेपानीको मूल तथा धारामा कोलिफर्मको मात्रा देखिएको आचार्यको भनाइ थियो।
“निसीखोला–६ मा अधिकांश विद्यार्थीमा झाडापखला र टाइफाइड जस्ता सरुवा रोग देखिएको थियो, स्वास्थ्य चौकीबाट धेरै विद्यार्थी बिरामी भएको जानकारी आएपछि भलकोटका विद्यालयमा वितरण गरेको खानेपानी परीक्षण गर्दा कोलिफर्म भेटिएको थियो,” उनले भने, “स्वास्थ्य कार्यालयले अहिले विद्यालयमा वितरण गरिरहेको खानेपानीको मुहान र धारामा परीक्षण गर्ने गरेको छ। जिल्लामा चालु आर्थिक वर्षमा ७७ खानेपानीका मुहान र धारोमा कोलिफर्मको मात्रा देखिएको छ।”
आचार्यका अनुसार बागलुङ बजारमा नगरखानेपानीले वितरण गर्दै आएको रेशखोला र भुदीखोलाको मुहान र धारो दुवैमा कोलिफर्म फेला परेको छ। यहाँका करिब ६० हजार नागरिकले उक्त पानी उपभोग गर्दै आएका छन्।
जिल्लाका नागरिकले उपभोग गर्दै आएको खानेपानीको अवस्थाका विषयमा जिल्लास्थित स्वास्थ्य कार्यालयले बर्सेनि परीक्षण गर्दै आएको कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए। परीक्षणका क्रममा पानी तथा मुहान दूषित देखिए उपभोक्तालाई सचेत गराउँदै आएको उनले बताए।
कोलिफर्म देखिएका खानेपानीको मुहानमा सरसफाइ गरी किटनाशक औषधि प्रयोग गरेर मात्रै वितरण गरिने प्रमुख शर्माले बताए। एकपटक गरिएको परीक्षण र सरसफाइले मात्रै समस्या समाधान नहुने भन्दै उनले खानेपानी उपभोक्ता समिति बढी जिम्मेवार हुन आवश्यक रहेको जनाए।
“कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको संक्रमण हुने गर्दछ, जिल्लाको केही गाउँ र विद्यालयमा रोगको संक्रमण चालु आर्थिक वर्षमा नै आइसक्यो”, प्रमुख शर्माले भने, “कोलिफर्म भएको पानीले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ, हिउँदका समयमा भन्दा बर्खायाममा कोलिफर्म बढी भेटिन्छ।” उनका अनुसार वर्षाका कारण बगेर आएको पानीले जमिन तथा पानीको स्रोतमा रहेको फोहरलाई मिसाउँछ र पानी दूषित हुन्छ।
झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको संक्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने स्वास्थ्य कार्यालय प्रमुख शर्माको भनाइ छ। कोलिफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगले महामारीको रूप लिनसक्ने अवस्था आउनसक्ने भन्दै यसबाट जोगिनका लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ। पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य पद्दतिद्धारा शुद्ध बनाएर पिउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन्।
कोलिफर्म फेला परेका खानेपानी मुहानका उपभोक्ता समितिलाई कोलिफर्म निमूल पार्न स्वास्थ्य कार्यालयले सचेत बनाइरहेको भन्दै मुहान सरसफाइ गराउन तथा पाइपलाइन मर्मत गर्न उपभोक्ता समितिलाई ताकेता गरिएको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
