प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ।

काठमाडौँ– प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आइतबार दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि अर्थात् ३ बजेका लागि सारेका थिए। प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ।

प्रधानमन्त्री दाहालले हालै दिएको एक अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरुद्ध गरिरहेको छ। एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएको छ। 

अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ। यस्तै, अन्य महत्त्वपूर्ण विधेयकसमेत अगाडि बढ्न सकेका छैनन्।