तान्जानियामा विमान दुर्घटना हुँदा १९ को मृत्यु, २४ जनाको उद्धार

चालक दलका सदस्यसहित ४३ जना सवार विमान खराब मौसमका कारण आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।

तस्वीर: सीएनएन

पूर्वी अफ्रिकी मुलुक तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने २४ जनाको सकुशल उद्धार भएको छ।

तान्जानियाको राजधानी दारएससलामदेखि बुकोबा शहरका लागि उडेको प्रिसिजन एअरको एटीआर–४२ कल साइनको विमान आइतबार कागेरा क्षेत्रस्थित भिक्टोरिया तालमा खसेको हो।

विमानमा चालक दलका चार सदस्यसहित ४३ जना सवार थिए। आकस्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको बताइएको छ। दुर्घटनाका समयमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

विमानमा सवार यात्रु रिचर्ड कोम्बाका अनुसार बुकोबा विमानस्थलमा अवतरण गर्नै लाग्दा अकस्मात मौसम खरब भएको थियो।त्यसपछि पाइलटले विमानलाई अर्को दिशातर्फ मोड्दा विमान तालमा खसेको हो।

कोम्बाले भने, “हामीलाई छिट्टै विमान अवतरण हुने सूचना दिएको केहीबेरमै एकाएक ठूलो धक्का महसुस भयो। पछि हामीले आफूलाई पानीमा पायौँ। विमान डुब्न थाल्यो। विमानको अगाडिको भागमा बसेकाहरू सबै पानीमा डुबे। म भने पछाडिको सिटमा बसेकाले बाँचेँ। बाहिर निस्किन भने निकै संघर्ष गर्नुपर्‍यो।”

तान्जानियाका प्रधानमन्त्री कासिम मजलिवाले दुर्घटनामा मृतकको पहिचान गरि परिवारको जिम्मा लगाउने कार्य भइरहेको र घाइतेलाई अस्पताल लगिएको बताए। दुर्घटनापछि अर्को सूचना नआउँदासम्मलाई बुकोबा विमानस्थल बन्द गरिएको छ।

सन् १९९३ मा स्थापना भएको प्रिसिजन एअर तान्जानियाको सबैभन्दा ठूलो निजी हवाई कम्पनी हो। केन्या एअरवेजको साझेदारी रहेको प्रिसिजन एअरले आन्तरिक र क्षेत्रीय उडान गर्दै आएको छ।