लम्पी स्किन नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै किसानको धर्ना

लम्पी स्किन देशभर फैलिँदासमेत सरकारले नियन्त्रणमा चासो नदेखाएको किसानको गुनासो छ। पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्न र घरघरमा प्राविधिक पठाएर उपचार गर्न उनीहरूको माग छ।

काठमाडौँ– लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायाको उचित क्षतिपूर्तिसहित ६ बूँदे माग राख्दै पीडित किसानले धर्ना शुरू गरेका छन्।

बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरूले आफूहरूको माग सम्बोधन गर्न दबाबस्वरूप एक घण्टा धर्ना दिएका हुन्। यो रोग तत्काल नियन्त्रण र पीडित किसानलाई राहतको व्यवस्था गर्न सरकारलाई बाध्य बनाउने गरी आन्दोलन शुरू गरेको अखिल नेपाल किसान महासंघका उपमहासचिव सरिता भुसालले बताइन्।

“तुरुन्त यो रोगको नियन्त्रण गर्नुपर्‍यो। र, पशुपालक किसानलाई राहत दिनुपर्‍यो। विस्थापित किसानलाई पुनर्स्थापना गर्नुपर्‍यो,” उनले भने, “पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्नुपर्छ। किसानका घरघरमा प्राविधिक पठाएर उपचार गर्नुपर्छ।”

पीडित किसानको कर्जासमेत मिनाहा गर्न उनीहरूको माग छ। अखिल नेपाल किसान महासंघ, काठमाडौँका इन्चार्ज पुस्कर प्याकुरेलले ग्रामीण क्षेत्रका किसान लम्पी स्किनका कारण आहत भएको बताए।

“७० प्रतिशतभन्दा बढी पशु चौपाया लम्पी स्किनका कारण मरिसकेको छ। पशुको बिमा पनि दाबी गर्न नसक्ने अवस्था छ,” उनले भने, “राज्य गम्भीर बन्नुपर्छ।”