जोगबनी बजारबाट सामान ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक नहुने कारण सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता किनमेलका लागि भारतीय बजार जाने गरेका छन्।
विराटनगर- अधिकांश नेपाली उपभोक्ताले भारतको विहार राज्यमा पर्ने सीमान्त जोगबनी बजारमा गई किनमेल गर्ने गरेका कारण विराटनगर र आसपासको व्यापार घटेको छ। नेपाली उपभोक्ताका कारण नै जोगबनी बजार गुलजार बनेको छ।
जोगबनी बजारबाट सामान किनेर ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक छैन। रोकतोक नहुँदा र सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता सीमान्त जोगबनी बजारमा किनमेल गर्न लालायित हुने गरेका छन्।
गिर्दो व्यापारका कारण विराटनगरमा कैयौँ सटर पसल भाडामा खाली छन्। विराटनगर र आसपासका बजार चलायमान बन्न नसकेपछि कतिपय व्यवसायीले नचाहेर पनि वैकल्पिक बाटो रोज्नुपर्ने बाध्यता आइपरेको विराटनगरस्थित सगरमाथा फेन्सी पसलका सञ्चालक अम्बर कटुवाल बताउँछन्।
कटुवालले भने, “आम उपभोक्तामा जोगबनी मोह छ। त्यहाँ सामान सस्तो पाइन्छ भन्ने धारणा छ, त्यो सही होइन। जोगबनीका सामानको गुणवत्ता र तौलमा तलमाथि हुने गरेको छ र पसल सञ्चालकको व्यवहार पनि रुखो हुने गरेको छ।”
क्वालिटी किराना पसलका सञ्चालक कमलकुमार अग्रवालले विराटनगरका कतिपय पसलमा बिक्री नहुँदा कर्मचारी कटौती गर्नुपरेको गुनासो गरे। उनले पसलको भाडा तिर्न व्यवसायीलाई अप्ठ्यारो स्थिति आइपरेको बताए। स्थानीय बजारलाई डुब्नबाट बचाउन तीनै तहका सरकारले उपभोक्तालाई सहुलियत हुने नीति ल्याउन आवश्यक रहेको उनको भनाइ छ।
अग्रवालले भने, “विराटनगर बजार सुनसानझैँ लाग्छ। उपभोक्ताको खासै चहलपहल छैन। तत्कालका लागि चाहिने सामान मात्र उपभोक्ताले स्थानीय बजारबाट खरिद गरिहाले पनि नुनदेखि सुनसम्मको खरिदका लागि सीमान्त जोगबनी बजार जाने चलनले जरा गाडेको छ।”
मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले अत्यावश्यक उपभोग्य वस्तुको आयात भन्सार दरलाई परिमार्जित गरी सहुलियत दिइएको खण्डमा त्यस्ता वस्तु सस्तो पर्ने र सीमान्त क्षेत्रका नेपालतर्फको बजारको प्रवर्द्धन हुने बताए। उनले भने, “जोगबनीमा दैनिक १० करोडभन्दा बढीको कारोबार हुने गरेको छ। जोगबनी बजार नेपाली उपभोक्तामा निर्भर छ। तर जोगबनी बजारबाट ल्याइएका सामानको गुणवत्ता र तौलमा शंका गर्नुपर्छ।”
सीमान्त जोगबनी वा भारतका अन्य स्थानबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार कर अनिवार्य लाग्ने व्यवस्था कडाइका साथ लागू गरिए आम उपभोक्ताले स्थानीय बजारबाटै किनमेल गर्ने अध्यक्ष रिजालले बताए।
उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले सीमा नाकामा कडाइ नगरुञ्जेल स्थानीय उद्योग र व्यापार नफस्टाउने बताए। उनले भने, “उपभोक्ता चिनी किन्न भनेर सीमान्त भारतको जोगबनी जाने अनि खुकुलो सीमा नाकाको फाइदा उठाउँदै त्यतैबाट चिनीसँगै तेल घ्यू, लत्ताकपडा लिएर आउने हुनाले स्थानीय उत्पादन र व्यवसायमा सङ्कट आउन थालेको छ।”
यसैबीच, स्थानीय बजारको प्रवर्द्धनका लागि आगामी साउन १ गतेदेखि विराटनगर भन्सार नाका कडा पारिने निर्णय गरिएको छ। अब जुनसुकै प्रायोजनका लागि जोगबनी बजारबाट पैठारी गरिने मालवस्तुमा भन्सार कर लगाइने छ।
विराटनगर महानगरपालिकामा मंगलबार सरोकारवालाबीचको छलफलमा राजस्व परिचालन र स्थानीय बजारलाई चलायमान बनाउन विराटनगर भन्सार नाकालाई कडा पारिने निर्णय लिइएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
