अन्तर्राष्ट्रियस्तरका साहसिक खेल आयोजना गरिन्छ : खेलकुदमन्त्री

खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन्।

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन्। खेलको माध्यमबाट नेपालमा पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउँदै उनले साहसिक खेलको आयोजना गर्ने बताएका हुन्।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उनले भने, “आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक पर्वतीय खेलको आयोजना गर्छौँ।”

विद्यालयमा अध्ययनरत १५ वर्षमुनिका बालबालिकाका लागि खेलसम्बन्धी शिक्षा दिँदै सोही क्षेत्रबाट खेलकुदको विकास तथा विस्तारको थालनी गर्ने पनि उनले बताए। यस्तै, देशका लागि पसिना बगाउने खेलाडीमा बीमाको समस्या रहेको भन्दै खेलाडीको जीवन बीमाको विषयमा छुट्टै नीति बनाउने गृहकार्य भइरहेको उनले बताए।

भौतिक पूर्वाधारको क्षेत्रमा पुँजीगत खर्च ९ प्रतिशत मात्र गरेको देखिएकाले आगामी दिनमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा छुट्टै इकाइ निर्माण गर्ने तयारी गरेको पनि उनले जानकारी दिए।

“बच्चादेखि सिनियर नागरिकसम्मको चासो रहेको क्रिकेटको विकासका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मूलपानी, विराटनगर र नारायणी रंगशालाको भौतिक पूर्वाधारका निर्माणमा पूर्णता कायम गर्न आवश्यक छ। यी भौतिक पूर्वाधारको निर्माणले पूर्णता पाए नेपालमा १२ महिना नै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने छ,” उनले भने।