गाउँपालिकाले प्रचारप्रसार र पूर्वाधार विकासमा जोड दिएपश्चात् ताराखोलाको गाईघाट झरनामा पर्यटकको आगमनमा वृद्धि भएको छ।
ढोरपाटन– बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्यको एक हो ताराखोलाको गाईघाट झरना। गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको संगमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। बाह्रै महिना सफा पानी बग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ। गाउँपालिकाको प्रवेशद्वारमै रहेको यस झरनाले आगन्तुकलाई स्वागत गरिरहेको छ। गाउँपालिकाले झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकास गरेपश्चात् यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ।
झरनालाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउनका लागि ताराखोला गाउँपालिकाले हरेक वर्ष भौतिक पूर्वाधार निर्माणलाई जोड दिएको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले झरनासम्म पुग्ने गरी दरमखोलामाथि ट्रस पुल निर्माण गरेको छ भने तालसमेत निर्माण गरेको छ। चालु आर्थिक वर्षमा विनियोजन गरेको पाँच लाख रुपैयाँबाट झरना वरपरका क्षेत्रमा सोलार बत्तीसमेत जडान गरेको ताराखोलाका उपाध्यक्ष भीमबहादुर रोकामगरले जानकारी दिए।
पहिले सडकदेखि झरनासम्म जोड्ने गरी निर्माण भएको झलुङ्गे पुल बाढीले बगाएपछि यस वर्ष नयाँ पुल निर्माण गरिएको उनको भनाइ छ। झरनाको सौन्दर्यीकरणका लागि गाउँपालिकाले आगामी वर्षका लागि हरियाली पार्क निर्माणका लागि १५ लाख रुपैयाँ र पदमार्ग निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष रोका मगरले बताए।
उनले भने, “अहिलेसम्म झरनाको अवलोकन उज्यालोको समयमा मात्रै गरिन्थ्यो, अब झरनाको रातको समयमा पनि अवलोकन गर्न सकिन्छ, अहिले सोलार बत्ती जडान भएको छ, पहिलेको तुलनामा अहिले धेरै पूर्वाधार निर्माण भइरहेका छन्, हामीहरूले पनि धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी झरनाको सौन्दर्यीकरण गर्ने र त्यस वरपर विभिन्न किसिमका संरचना बनाउने योजनामा छौँ, थप व्यवस्थित बनेपछि पर्यटक पनि बढी आउनु हुनेछ।”
पाँच वर्ष अगाडिको तुलनामा अहिले झरनाको स्वरूपमा धेरै परिवर्तन आएको स्थानीय अम्मरबहादुर नाइसाले बताए। घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक ५०/६० जनाभन्दा बढी पर्यटक आउने गरेको उनको भनाइ छ।
बिदाको समय र चाडपर्वका बेला तीन सयको हाराहारीमा पर्यटक आउने गरेको नाइसा बताउँछन्। झरनाले गर्दा मध्यपहाडी लोकमार्ग हुँदै ढोरपाटन र पातीहाल्ने जाने पर्यटक पनि यहाँ आउन थालेको उनको भनाइ छ।
“यो झरना धेरै वर्ष पुरानो हो, पहिले झरना हुँदै हिँड्ने यात्रुले पानी पिउने ठाउँ थियो, अहिलेको जस्तो यस्तो चर्चित थिएन, पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्”, उनले भने, “ठाउँ अलिकति विकट थियो, यस्तो ठाउँमा पर्यटक आउलान् भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थाले, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्न सके अझै धेरै पर्यटक आउने थिए।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
