स्थिर सरकारबाट मात्रै विकास र समृद्धि : केपी ओली

एमाले बागलुङले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिएका छन्। 

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिका कामलाई अघि बढाउन सक्ने बताएका छन् ।

एमाले बागलुङले बुर्तिबाङ बजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए । 

एमालेले मंसिर चारको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले दाबी गरे । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ । विकास गर्ने पार्टी एमाले मात्रै हो । यहाँका जनताका समस्या एमालेले बुझ्ने छ,” अध्यक्ष ओलीले भने ।

एमाले पार्टी एक ढिक्का भएको ओलीको भनाइ छ । पार्टी बिगार्न लागेकाहरु बाहिरीएकाे र एमालेमा अब कुनै गुट उपगुट नरहेकाले ढुक्क भएको टिप्पणी गरे । अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कुटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताए ।

“हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आँफै चढेर आएँ”, ओलीले भने । कार्यक्रममा बागलुङका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारले पनि सम्बोधन गरेका थिए ।