मधेश प्रदेश प्रधानमन्त्री कपको सेमिफाइनलमा

सोमबार बागमती प्रदेशसँग १/१ अंक बाँड्दै मधेश सेमिफाइनलमा पुगेको हो।

काठमाडौं– मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। सोमबार बागमती प्रदेशसँग १/१ अंक बाँड्दै मधेश सेमिफाइनलमा पुगेको हो।

जितका लागि १९१ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। बागमतीलाई जितका लागि अन्तिम ६ बलमा १ रन चाहिएको थियो। तर, तीव्र गतिका बलर राजेश यादवले अन्तिम ओभरको दोस्रो बलमा रिजन ढकाललाई ‘एलबीडब्लू’ आउट गरेपछि खेल ‘टाई’ भएको थियो।

बागमतीका पृथु बाँस्कोटाले सर्वाधिक ४० रन बनाए। उनले ५२ बलमा २ चौका र १ छक्का प्रहार गरे। यता, रित गौतमले ८३ बलमा ४ चौकासहित ३२ रन बनाए। ईशान पाण्डेले ३४ बलमा ३ चौकासहित ३१ रन प्रहार गरे। तल्लो क्रमका सूर्य तामाङले २८ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोडे।

मधेशका राजेश यादव र प्रदीप पासवानले ३/३ विकेट लिए। रूपेश सिंहले २ र हरिशंकर शाहले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेश ४६.१ ओभरमा १९० रनमा अलआउट भयो। मधेशका रोहन विकले सर्वाधिक ६३ रन बनाए। उनले ९४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। तर, मधेशका अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

ओपनर सन्तोष कार्की २३, राजेश यादव १६ र कप्तान हरिशंकर शाह १३ रनमा आउट भए। बागमतीका सूर्य तामाङ र नन्दन यादवले ३/३ विकेट लिए। प्रतिश जिसी र रामनरेश गिरीले २/२ विकेट लिए।

समूह ‘ए’ मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ। पुलिस एक खेलअगावै सेमिफाइनलमा पुगेको छ। पुलिसले मंगलबार मधेशसँग कीर्तिपुरमा खेल्ने छ। उक्त खेलले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ। मधेश ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ।