प्रचारप्रसारका लागि सहयोग मानिएको टिकटकमा चलचित्रका महत्त्वपूर्ण दृश्य भेटिन थालेपछि निर्माताहरू चिन्तित बनेका छन्।
काठमाडौं- गीतसंगीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ। भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसंगीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ। प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि चलचित्रका दृश्यहरू देख्न पाइन्छ।
स–साना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्र केही समययता महत्त्वपूर्ण दृश्य भेटिँदा चिन्तित बनेका छन्।
क्लिप खण्डखण्ड गरेर टिकटकमा आउँदा यसले चलचित्र नै पाइरेसी भइरहेको छ। दर्शकले रुचाएका चलचित्रको दृश्य बढी लोकप्रिय हुने भएकाले टिकटकमा राख्ने गरिन्छ।
‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ पश्चात् पछिल्लो समय झिँगेदाउलाई टिकटकले समस्या दिइरहेको छ। भिसिडी, पेनड्राइभ र युट्युबभन्दा घातक टिकटकको पाइरेसी देखिएको निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन्।
“स–सानो क्लिप आउँदा प्रचारप्रसार नै भएको हो। तर खण्डखण्ड गरेर हाल्दा सम्पूर्ण चलचित्र नै पाइरेसी भइरहेको छ। हामीले यस विषयमा नसोच्ने हो भने भोलि यो क्रम झनै बढ्ने छ”, उनले भने।
युट्युबमा पनि पछिल्लो केही समययता पाइरेसी भए पनि त्यहाँ रिपोर्ट (उजुर) गरेको केही समयमै हट्ने गरेको उनले बताए।
“हामीले आफैँले वा प्रहरीको साइबर ब्युरोमार्फत रिपोर्ट गरेपछि चलचित्रको दृश्य हट्ने गरेको छ। तर यसमा केही समय भने लाग्छ। दुई र तीन दिन लाग्दा त्यो क्लिप निकै भाइरल भइसकेको हुन्छ। त्यसैले यसमा सतर्कता बढाउनु आवश्यक छ”, निर्देशक देउजाले भने।
पछिल्लो समय छिटपुट रूपमा चलचित्रको क्लिप टिकटकबाट हटाउनुपर्ने गुनासो आइरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको प्रवक्ता पशुपतिकुमार रायले बताए।
"हामीलाई प्राप्तअनुसार हामीले चलचित्रको दृश्य हटाउने गरेका छौँ। यो सामाजिक सञ्जालमार्फत भए तापनि कपि राइट्स्अन्तर्गत बढी पर्छ। यद्यपि हामीलाई प्राप्त गुनासोका आधारमा तुरुन्तै कारबाही गर्ने गरेका छौँ”, प्रवक्ता रायले भने।
यो समस्यालाई हटाउन प्रहरीसहितको सहयोगमा हल सञ्चालकले सचेतना बढाउनुपर्ने निर्देशक देउजाको भनाइ छ। उनले यो समस्याका बारेमा नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघमा पनि कुरा राखेका छन्।
पाइरेसी गरिरहेको भए तापनि टिकटकमै देखेर चलचित्र हेर्न आएका हौँ भन्ने पनि प्रतिक्रिया पाइरहेको नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताए।
“हामीले चलचित्र चल्नु अगाडि सचेतना सन्देश दिनुपर्छ। चलचित्र हेर्दै गर्दा कसैले दृश्य कैद गरिरहनुभएको छ भने उहाँलाई सम्झाउने वा जरिवाना गर्ने हुनुपर्छ”, निर्देशक देउजाले भने। सचेतनामार्फत पनि अटेरी गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ छ।
उनी पछिल्लो समय फिचर्समा अपडेट भएर लामो भिडियो हाल्न पाइने भएपछि भने केही समस्या बढेको स्वीकार्छन्। “प्रचारप्रसार पनि गरिरहेको छ भने केही असर पनि गरेको छ। हामीले हलमा आउनु हुने दर्शकलाई भिडियो नखिच्न आग्रह पनि गरिरहेका छौँ। हाम्रो कर्मचारी बेलाबखतमा गएर मोबाइल निकाल्ने दर्शकलाई आग्रह पनि गर्नुहुन्छ।” महासचिव महर्जनका अनुसार टिकटकलाई नै पत्राचार गरेर केही गर्न सकिन्छ कि भन्ने सल्लाह संघले गरिरहेको छ।
गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ को अधिकांश दृश्य टिकटकमा लोकप्रिय भएपछि भिडियो क्लिप बनाउने क्रम बढेको हो। भारतीय चलचित्र आरआरआर र केजिएफ: च्याप्टर २ को टिकटकमा भेटिएका दृश्य जोड्ने हो भने झण्डै चलचित्र नै बन्छ।
विदेशी मात्र होइन, स्वदेशी चलचित्र ‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ को पनि अन्तिम दृश्य टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल हुँदा निर्माता तथा निर्देशकमा चिन्ता बढेको थियो।
पछिल्लो समय सामाजिक सञ्जालका माध्यममा आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै यस किसिमको समस्या बढिरहेको छ। आफ्ना गतिविधिलाई सोसल मिडियामैत्री बनाउनुकै कारणले लोकप्रियतासँगै समस्या सिर्जना भएको चलचित्र निर्माता तथा निर्देशकको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
