नयाँ पार्टीप्रति विश्वप्रकाशको टिप्पणी– खहरेबाट बिजुली निकाल्न सकिँदैन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरूप्रति कटाक्ष गरेका छन्। उनले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पुराना पार्टीका दिनहरू गए भन्दै आएका नयाँ पार्टीहरूले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरू सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए।

उनले पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए। “पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँ–नयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन। हामीले बिर्सिनु हुँदैन। निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्न सक्छ भन्ने कुरा हामीले बिर्सिनु हुँदैन” उनले भने।

महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने बेला आएको बताए। उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नवीन बनाउने क्रम शुरू हुने बताए।

महामन्त्री शर्माले कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजविरुद्धको विधेयकमाथि चुनौती आउन लागेको भन्ने कुरा राखेको भन्दै मन्त्रीहरूबाट यस्तो जवाफ सुन्न नचाहेको बताए। उनले सबै खालका चुनौतीलाई चिरेर मिटरब्याजको विधेयक संसद्मा ल्याउनुपर्ने बताए।