सोमबार अधिकांश स्थानमा पानी पर्ने, बागमती, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

सोमबार दिउँसो बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्छ।

काठमाडौँ- मनसुनी वायु सक्रिय हुँदा अहिले देशका अधिकांश भागमा वर्षा भइरहेको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना छ। 

सोमबार दिउँसो बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ। यसकै प्रभावले मुलुकभर मौसम बदली भएर वर्षा भइरहेको हो। यो क्रम केही दिन रहनेछ।

महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश स्थानमा पनि सोमबार दिउँसो वर्षा हुनेछ। राति गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।