बञ्चरेडाँडामा फोहोर फ्याल्न स्थानीयको अवरोध

फोहोर र मान्छे एकै ठाउँ बस्न नसक्ने भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीयले फोहोर बोकेर बञ्चरेडाँडातर्फ गएका गाडीलाई अवरोध गरेका छन्।

काठमाडौँ- नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन्। उनीहरूले सोमबार बिहानैबाट सडक अवरोध गरेर बञ्चरेडाँडातर्फ गाडी प्रवेश गर्न दिएका छैनन्।

धादिङको धुनिबेँसी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार ढाँडेबजारस्थित धादिङ र नुवाकोट जोड्ने पुलमा स्थानीयले अवरोध गरेका छन्। 

यसअघि, बञ्चरेडाँडामा फोहोर फ्याल्न थालेपछि सिसडोल बन्द गरिएको थियो। अहिले सिसडोल जाने सडक पनि स्थानीयले बन्द गरिदिएका छन्।

वडाध्यक्ष तामाङका अनुसार त्यहाँ करिब ५० जना स्थानीयले प्रदर्शन गरिरहेका छन्। "धुनिबेँसीतिरका केही स्थानीय जानुभएको छ। धेरैजसो नुवाकोटको ककनीका जनता आउनुभएको छ," तामाङले भने, "उहाँहरूको माग भनेको मानिस र फोहोर एकैठाउँमा राख्न सकिँदैन भन्ने छ। कि फोहोर राख्नु पर्छ, कि मानिस राख्नुपर्छ भनेर पहिलेदेखि नै भन्दै आउनुभएको हो।"

उनका अनुसार अहिले झिँगा र दुर्गन्धले बस्नै नसक्ने अवस्था आएपछि स्थानीयले आन्दोलन थालेका हुन्। उनीहरूले काठमाडौँबाट फोहोर बोकेर गएका टिप्परलाई सडकमै रोकेका छन्।

काठमाडौँ महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको र संघीय सरकारले फोहोर व्यवस्थापनमा चासो नदिएको स्थानीयको आरोप छ। अहिले ककनी वडा नं ३ र ५ तथा धुनीबेसी–१ का स्थानीय प्रदर्शनमा उत्रिएका छन्। ककनीतर्फका जनप्रतिनिधि पनि प्रदर्शनमा सामेल छन्।

त्यहाँ अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सडकमा फोहोर बोकेका र अन्य गाडीको लामो लाइन लागेको छ।