काठमाडौँमा गाडी पार्किङ शुल्क: दुईपांग्रेको प्रतिघण्टा २५ र चारपांग्रेको ७५ रुपैयाँ

दुईपांग्रे सवारीसाधान एक घण्टा पार्किङ गरेको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै गए हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सवारीसाधन पार्किङ शुल्क निर्धारण गरेको छ। महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दुईपांग्रे सवारीसाधनको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रेको ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिएकी हुन्।

उनले सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारीसाधनको पार्किङ शुल्कमा एकरूपता ल्याउन शुल्क निर्धारण गर्नु परेको प्रस्ट्याइन्। “नागरिकको गुनासो पार्किङ शुल्क कतै कति, कतै कति। फरक, फरक भयो, यो हुँदा खेरी चाहिँ सेवाग्राही पनि अन्योल। र, सँगसँगै सेवा दिनेलाई पनि कसरी रेट तोक्ने भन्ने खालको अन्योल। त्यसकारण महानगरपालिकाले शुल्क पनि तोकेको छ,” उनले भनिन्, “पार्किङ शुल्कमा एक रूपता आओस् भन्ने उद्देश्यका साथमा तोकेको छ।” 

उनका अनुसार काठमाडौँ महानगरभित्र दुईपांग्रे सवारीसाधनले आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ। एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै गए हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ। त्यस्तै, चारपांग्रे सवारी साधनले आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ। एक घण्टाका लागि ७५ रुपैयाँ तिर्नुपर्ने छ। त्योभन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने छ।

यो पनि : संघीय राजधानीका दुई महानगरः एउटाको सडकमा पार्किङ निषेध, अर्कोको सडकमै ‘फ्री पार्किङ’

त्यसैगरी, महानगरले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रूपमै तलब उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। स्रोत भर्ना कोषमार्फत आफूहरूले सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रूपमा नै तलब खुवाउने व्यवस्था गरेको उपप्रमुख डंगोलले बताइन्।

सामुदायिक विद्यालयका शिक्षकले त्रैमासिक रूपमा तलब पाउने व्यवस्था संघीय सरकारले गरेको छ। तर, काठमाडौँ महानगरले भने स्रोत भर्ना कोषमार्फत उनीहरूलाई मासिक रूपमै तलब लिने व्यवस्था गरेको हो। 

काठमाडौँ महानगरको न्यायिक समितिमा कोठा र पसलको सटर बन्द गराइ भाडा असुल गरिइदिनका लागि उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ। पछिल्ला दिनमा आर्थिक मन्दीका कारण पनि सो उजुरी न्यायिक समितिमा करिब दोब्बरले बढेको उपप्रमुख डंगोलले जानकारी दिइन्। १० वटा उजुरीमध्ये ८ वटा उजुरी भने कोठा र सटर बन्द गराइ भाडा दिलाइ पाऊँ भन्ने खालको आउने गरेको काठमाडौँ महानगरले बताएको छ।

आर्थिक मन्दीका कारण घरबेटी नै कोठा र सटर बन्द गराइ भाडा असुलीका लागि उजुरी दिने गरेको र यो क्रम अझै बढेर जाने काठमाडौँ महानगरको आकलन छ। “अहिले बजारमा धेरै पसलहरू बन्द हुन थालेको संकेत पनि हो। धेरै जनाले यो आर्थिक मन्दीको आभास गरिरहनु भएको छ। अर्थतन्त्र चलायमान नभएको पनि यसले संकेत दिन्छ। यस्ता खालका विषयवस्तु बढी आउन थालेको छ,” उनले भनिन्।

उपप्रमुख डंगोलले न्यायिक समितिमा भाडा तिर्न नसकेर सहकारी लगायतका संस्थाहरू भागेको उजुरी आउने गरेको बताइन्।