काठमाडौँ महानगरको प्लास्टिक झोला निषेध योजना प्रभावकारी कार्यान्वयन भए लगभग ४० करोड र उपत्यकाभर लागू गरे एक अर्ब ३५ करोड प्लास्टिक झोला वातावरणमा जानबाट जोगाउन सकिन्छ।
हामी थाहै नपाई दैनिक दसौँ पटक प्लास्टिकको प्रयोग गर्छौं। दुर्गम गाउँका भोजभतेरमा समेत अचेल काठका कुर्सी र पातका टपरी/टपराको स्थान प्लास्टिकको कुर्सी, थाल र चम्चाले लिन थालेको छ। दशकअघि करिब २५२ हजार टन प्लास्टिकजन्य सामान आयात गरेको नेपालले २०७९ सालमा ३८० हजार टन आयात गर्यो। यसबाट करिब ७२ अर्ब रुपैयाँ बिदेसिँदा सरकारले २२ अर्ब राजस्व प्राप्त गर्यो। नेपालले २०७९ सालमा सरदरमा प्रतिव्यक्ति तीन किलोग्राम पोलिइथाइलिन प्लास्टिकको आयात गरेको थियो।
फोहोरमैलामा प्लास्टिकको योगदानले पनि यसको बढ्दो प्रयोगलाई पुष्टि गर्छ। २०६० सालको सर्वेक्षणअनुसार फोहोरमा करिब सात प्रतिशत प्लास्टिकजन्य वस्तु मिसिएका थिए। दुई दशकमा यो प्रतिशत दुई गुणाले भएको छ। २०७८ को सर्वेक्षणअनुसार वार्षिक सरदर प्रतिनगरपालिका दुई हजार २३२ टन फोहोर संकलन हुने गरेकोमा ३५२ टन अर्थात् १६ प्रतिशतको हाराहारी प्लास्टिकजन्य पदार्थ रहेको देखिन्छ।
संकलित फोहोरको व्यवस्थापन पनि प्रभावकारी देखिँदैन। सन् २०११ मा गरिएको नेपालको जीवनस्तर मापन सर्वेक्षणअनुसार ७२ प्रतिशत घरपरिवारले फोहोर डढाउने वा खुल्ला स्थानमा फ्याँक्ने बताएका थिए। करिब १० वर्षपछि पनि फोहोर बाल्ने र बस्तीभन्दा पर लगेर फाल्ने क्रम जारी छ। सन् २०२० को फोहोरमैलासम्बन्धी सर्वेक्षणअनुसार ४९ प्रतिशत नगरपालिकाले फोहोर ल्यान्डफिल साइटमा जम्मा गर्ने, ३२ प्रतिशतले डढाउने र २८ प्रतिशतले खोलाका बगरमा फ्याँक्ने देखाएको छ। यसरी हेर्दा, नगरपालिकाले संकलन गरेको ८० प्रतिशतभन्दा धेरै फोहोर खोलाको बगर वा बस्तीभन्दा टाढा लगेर फ्याँक्ने गरिन्छ। बढ्दो प्रयोग र अव्यवस्थित व्यवस्थापनका कारण वातावरणमा प्लास्टिक थुप्रने क्रम बढ्दो छ। यसरी फ्याँकिएको प्लास्टिकले आउने दशौँ पुस्तासम्मलाई प्रभावित पार्ने निश्चित छ।

बलराम अवस्थी लगायतका अनुसन्धानकर्ताले २५८ वटा गैँडाको गोबरको नमूना संकलन गरी जाँच गरेकोमा करिब १० प्रतिशत गोबरको नमूनामा प्लास्टिकको अवशेष भेटिएको थियो। खोलानाला, बस्तुभाउको पेटमा खाने पानी र नुन हुँदै हामीले फेर्ने सासमा समेत प्लास्टिकका कण भेटिएको अध्ययनहरूले देखाएका छन्। प्लास्टिकको नकारात्मक प्रभाव खोज्ने क्रम जारी भए पनि हालसम्मका अध्ययनले प्लास्टिक क्रमशः जनस्वास्थ्यको र समग्र वातावरणीय विनाशको कारक बन्दै गएको स्पष्ट छ।
अर्कोतर्फ सरदर एक किलोग्राम पोलिइथाइलिनका लागि २ केजी पेट्रोलियम पदार्थ लाग्छ। यही क्रममा ६ केजी कार्बन डाइअक्साइड पनि उत्सर्जन हुन्छ। यसरी हेर्दा, प्लास्टिक झोलाको अनियन्त्रित प्रयोग जलवायु परिवर्तनको कारक पनि हो भन्ने अर्थ्याउन सकिन्छ। नेपालले २०७९ सालमा आयात गरेको प्लास्टिकजन्य वस्तुको खपतले करिब ५०० हजार टन कार्बन डाइअक्साइड उत्सर्जन हुने देखिन्छ।
प्याकेजिङमा प्लास्टिकको प्रयोग हामीलाई थाहा नभएको विषय होइन। चकलेट र चाउचाउको खोलदेखि फर्निचरसमेत प्लास्टिकमा लपेटिएर आउँछन्। यसमाथि एक पाकेट दूधदेखि एक पुरिया चाउचाउ बोक्न पनि प्लास्टिककै झोला प्रयोग गरिन्छ। यता, व्यापारीले प्लास्टिक झोला चाहिने/नचाहिने सोध्दैनन् भने बोक्न सजिलो हुने भएकोले ग्राहकले पनि चाहिँदैन भन्दैनन्।
करिब आधा प्लास्टिक प्याकेजिङका लागि र सामान बोक्ने झोला बनाउन प्रयोग हुन्छ। यसमध्ये एक पटक प्रयोग भएपछि फ्याँकिने प्लास्टिक झोला प्रदूषणको मुख्य कारकमध्ये एक हो। अन्य प्लास्टिकको तुलनामा एकल प्रयोग हुने पातलो प्लास्टिकको झोलाको व्यवस्थापन बढी चुनौतीपूर्ण छ। पातलो भएकोले एकल प्रयोग हुने प्लास्टिकमा सहजै फोहोर टाँसिन्छ। सर्वव्यापी प्रयोग हुने यी प्लास्टिक संकलन गर्न गाह्रो छ, कवाडीवालाले पनि किन्न मान्दैनन्। हलुका हुनेले हावा तथा वर्षाले जताततै पुर्याउने, चाँडै टुक्रिने र मसिना कणमा परिणत भई वातावरणमा मिसिने हुन्छ।
यस्ता प्लास्टिकले ढल या नालामा जम्मा भई अन्य फोहोरलाई समेत रोकी ढल निकास थुनिन्छ। थुनिएको ढलको पानीले निकास नपाउँदा शहरी बाढीको सम्भावना बढ्छ। जलवायु परिवर्तनसँगै अतिवृष्टिमा वृद्धि हुनुका साथै बढ्दो प्लास्टिक झोलाको प्रयोगले शहरमा बसोबास गर्नेहरूको जिउधनको जोखिम पनि बढ्छ।
काठमाडौँमा प्लास्टिक
२०७० सालमा हामीले काठमाडौँ उपत्यकाका २५८ घरपरिवारको १४ दिनको प्लास्टिक झोला प्रयोगबारे अध्ययन गरेका थियौँ। अध्ययनले प्रतिव्यक्ति दैनिक ०.८६ वटा र प्रतिघरपरिवार ३.३ वटा प्लास्टिकको झोला प्रयोग गर्ने पाइएको थियो। दैनिक प्रयोग हुनेमध्ये ३५ प्रतिशत तरकारी बोक्न, किराना सामानका लागि २६ प्रतिशत र दूध तथा मासु बोक्न २० प्रतिशतले प्लास्टिक झोला प्रयोग गर्ने गरेको भेटिएको थियो।

उक्त अध्ययनले १३७ रुपैयाँको सामान बोक्न एउटा प्लास्टिकको झोला प्रयोग हुने गरेको देखिन्छ। ८६ रुपैयाँको तरकारी बोक्न एक प्लास्टिक झोला प्रयोग हुने देखिन्छ भने १६९ को दूध तथा मासु बोक्न एक प्लास्टिकको झोला प्रयोग हुने देखिन्छ।

काठमाडौँमा निषेधले कति वटा प्लास्टिकका झोला वातावरणमा जानबाट जोगिन्छ भन्ने जान्नुभन्दा पहिला कति वटा प्रयोग हुन्छन् भन्ने बुझ्न आवश्यक छ। काठमाडौँमा कति वटा प्लास्टिक झोला प्रयोग हुन्छ भन्ने विश्लेषण गर्न हामीले राष्ट्रिय तथ्यांक कार्यालय (साबिकको केन्द्रीय तथ्यांक विभाग)ले ६ वर्षअघि (२०७४ को तथ्यांक) गरेको वार्षिक घरपरिवार सर्वेक्षणको प्रतिघरपरिवारको औसत वार्षिक उपभोगलाई आधार लिएका छौँ।
उक्त सर्वेक्षणअनुसार शहरी क्षेत्रको वार्षिक उपभोग क्षमता चार लाख ३९ हजार ७३२ रुपैयाँ छ। तर ती घरपरिवारले यो सबै रकम दैनिक उपभोग्य वस्तु तथा सामग्री खरिदमा मात्र खर्चिँदैनन्। उनीहरूले ३४ प्रतिशत शिक्षा, घरभाडा, महसुल तिर्न लगायतमा खर्चिन्छन्। यस्ता खर्च शीर्षकहरूमा झोलाको प्रयोग नहुने हुनाले उपभोगको खर्चको आधारमा प्लास्टिकका झोला प्रयोगको हिसाब गर्न वार्षिक उपभोग खर्चको ६६ प्रतिशतलाई मात्र आधार मानिएको छ।
काठमाडौँमा प्रतिप्लास्टिक झोला १३७ रुपैयाँको सामान खरिद हुने हिसाबले वार्षिक उपभोग खर्चको ६६ प्रतिशत अर्थात् दुई लाख ८९ हजार ३४४ रुपैयाँको वस्तु खरिदमा प्रतिघरपरिवारले करिब एक हजार ८९० वटा प्लास्टिकको झोला प्रयोग गर्ने देखिन्छ। २०६८ को जनगणनाअनुसार काठमाडौँ महानगरमा २ लाख ३८ हजार ९६६ घरधुरी छन्। मात्र करिब ४५ करोड प्लास्टिकको झोला प्रयोग हुन्छ भने काठमाडौँका तीन जिल्लामा करिब डेढ अर्ब प्लास्टिकको झोला प्रयोग हुने देखिन्छ।
सोही समयमा नेपालका १३ वटा नगरपालिकाको करिब १३ सय जनामा गरिएको सर्वेक्षणले ४०३ रुपैयाँको सामान बोक्न एउटा प्लास्टिक झोलाको प्रयोग हुने देखाएको थियो। उक्त अध्ययनले सरदर एक घरपरिवारले हप्ताको १० वटा प्लास्टिक झोला प्रयोग गर्ने देखिएको थियो। यस दरले सन् २०२१ को घरधुरीको संख्याको आधारमा नेपालमा प्रतिघरपरिवार ५२० वटा र नेपालमा वार्षिक साढे तीन अर्ब प्लास्टिकको झोला प्रयोग हुने देखिन्छ। तर यो संख्याले उपभोगमा हुने वृद्धिसँगै प्लास्टिक झोलाको प्रयोगमा हुने वृद्धिलाई समावेश गरेको छैन।
निषेधलाई प्रभावकारी कार्यान्वयन गर्ने उपायहरू
काठमाडौँ महानगरले साउन १ वाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला निषेध गर्ने नीति तथा कार्यक्रम उल्लेख गरेको छ। पटक–पटक एकल प्रयोग हुने प्लास्टिक झोला निषेधको घोषणा भए पनि प्रभावकारी कार्यान्वयनको भने अभाव देखिएको छ। यसै सन्दर्भमा विगतमा भएका प्रयासबाट काठमाडौँ महानगरले प्लास्टिक झोला निषेधको प्रभावकारी कार्यान्वयनका लागि अपनाउनु पर्ने रणनीतिबारे छलफल गर्न सान्दर्भिक हुन्छ।
एकल प्रयोग हुने सबै प्रकारका प्लास्टिक झोलालाई निषेध गरिनुपर्छ। विगतमा धेरै नगरमा २० माइक्रोनभन्दा पातलो झोला निषेध गरिएको थियो। म लगायतको टोलीले गरेको अध्ययनले यस्तो निषेधले प्लास्टिक झोलाको प्रयोगमा कमी ल्याउन नसक्ने देखाएको थियो। न्यूनतम मोटाइ तोक्दा झन् बाक्लो प्लास्टिकको झोलाको प्रयोगलाई प्रोत्साहन पुग्ने र त्यसले धेरै वजन बोक्न सक्ने हुँदा पुनर्प्रयोगीय झोलाको सट्टा प्लास्टिककै झोलाको प्रयोग हुने सम्भावना बढ्छ। यस प्रकारको निषेधले समग्रमा प्लास्टिक झोलाको प्रयोगलाई बढाइदिन्छ।
अर्कोतर्फ, प्लास्टिकको झोलाको मोटाइ पत्ता लगाउन उपभोक्ता, व्यापारी वा प्लास्टिक झोला अनुगमनमा हिँड्नेलाई पनि सहज छैन। २० माइक्रोन वा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला निषेध भन्दा आम उपभोक्ता अलमलमा पर्ने र निषेध छल्न बजारमा तोकिएभन्दा केही माइक्रोन मोटो झोलाको प्रयोग बढ्ने सम्भावना रहन्छ।
तर, सबै प्रकारको एकल प्रयोग हुने प्लास्टिक झोला निषेध गर्दा यसको प्रयोगमा कमी ल्याउन सकिने देखिन्छ (चित्र ३)। कुनै पनि प्रकारको प्लास्टिकको झोलाको प्रयोग गर्न नपाउने भएपछि जुटलगायतका झोलाको प्रयोग बढ्छ। यसर्थ, प्लास्टिक झोलामा न्यून गर्न र प्रदूषण घटाउन सबै प्रकारका प्लास्टिक झोला निषेध गर्नु आवश्यक छ।
हामीले २०७०/७१ सालमा २३ नगर (काठमाडौँ उपत्यकासमेत गरी) का करिब ३६ हजार जनाभन्दा बढी व्यक्तिले कस्तो झोला बोक्दा रहेछन् भनेर अवलोकन गरी तथ्यांक संकलन गरेका थियौँ। उक्त अवलोकनबाट संकलित तथ्यांकको विश्लेषणको संक्षिप्त नतिजा चित्र ३ मा दिइएको छ। यस चित्रले पनि सबै प्रकारको प्लास्टिक झोला निषेध भएको क्षेत्रमा ३ प्रतिशत व्यक्तिले प्लास्टिक झोला प्रयोग गरेको पाइएको थियो भने २० माइक्रोनसम्मको प्लास्टिक झोला निषेध भएकोमा १० प्रतिशत र निषेध नभएको क्षेत्रमा १२ प्रतिशतले प्लास्टिक झोला प्रयोग गरेको पाइएको थियो।

छुटको प्रबन्ध: केही महिनाअघि प्रकाशित हाम्रो अनुसन्धानले सबै व्यापारीहरू प्लास्टिक झोला निषेधको पक्षमा नरहने देखिन्छ। जस्तै, लुगा तथा कपडा व्यापारी सहयोगी रहने भए पनि मासु तथा डेरी जस्ता पसलेलाई भरपर्दो विकल्प प्राप्त नहुँदा उनीहरूको व्यापारमा असर पर्न सक्छ। अन्य शहरमा पनि तरकारी, मासु र दूधका लागि प्याकेजिङका लागि विकल्प दिइएको पाइन्छ। तर यसरी केहीलाई छुट दिएमा अरूले पनि छुट माग्ने र परिपालना नगर्ने परिस्थिति आउँछ। यसको विकल्प भनेको प्रशोधनस्थलमा नै प्याकेजिङका गरी बिक्री गर्ने वा पुनः प्रशोधन गर्न मिल्ने भाँडोको प्रयोगमा प्रोत्साहन गरेर प्लास्टिक झोला निषेध गर्न सकिन्छ।
जनचेतना: व्यापारी वा उपभोक्तालाई प्लास्टिक झोला निषेधको आवश्यकता, फाइदा र सहज परिपालनाको वातावरण तयार पार्न आवश्यक छ। जनचेतनाले प्लास्टिक झोलाको प्रयोगमा कमी ल्याउन सहयोग गर्छ। हाल व्यापारीले नसोधी प्लास्टिक झोलामा सामान दिने गरेको पाइन्छ। ग्राहकलाई झोला चाहिन्छ भनेर सोध्दा मात्र पनि झोला प्रयोगमा कमी आउने अध्ययनले देखाएको छ। यसको साथै पसलमा प्लास्टिक झोलाको प्रयोग नगर्दा हुने फाइदा र प्रयोग गरेमा हुने हानिको जानकारीमूलक सामाग्री राख्ने अनि प्लास्टिक झोला चाहिन्छ भनेर सोध्दा प्लास्टिक झोला प्रयोगमा थप कमी ल्याउन सकिन्छ। अर्कोतर्फ निषेध भएको अवस्थामा प्लास्टिकको झोला दिने भन्ने व्यापारीको छनोट हुने भएकोले एक पटक प्रयोग हुने कागजको झोला या जुटको झोलालाई प्रोत्साहन गरेर पुनर्प्रयोगीय झोला प्रयोगमा सहयोग गर्न सकिन्छ।
यसबाहेक प्लास्टिक झोला निषेधको घरपरिवारलाई हुने फाइदा बुझाउन आवश्यक छ। मनी नेपाल लगायतको टोलीले शहर र जलवायु परिवतर्नसम्बन्धी नेपालको भरतपुर र बंगलादेशको सिलेट शहरमा गरेको अध्ययनले सफा क्षेत्रको घर सम्पत्तिको मूल्य अन्य क्षेत्रको भन्दा करिब १० प्रतिशत धेरै हुने, अव्यवस्थित फोहोरमैलाले ढल तथा निकासको लगानीको प्रतिफलमा कमी साथै प्लास्टिकजन्य पदार्थको संकलन र बिक्रीबाट नगरपालिकाको फोहोरमैला व्यवस्थापनको खर्च प्रबन्धमा सहयोग पुग्ने देखिएको थियो। यसबाहेक प्लास्टिकले पुग्ने हानि नोक्सानीबारे समेत जानकारी तथा सचेतनाले प्लास्टिक झोला निषेधप्रति सकारात्मकता बढ्ने र परिपालनामा सहयोग पुग्ने देखिन्छ।
सामाजिक परिचालन गर्ने: समुदायमा आधारित संस्थाजस्तै सहकारी, सामुदायिक क्लब, गैरसरकारी संस्था, स्कुल लगायतलाई प्लास्टिक झोला निषेधलाई कार्यान्वयनमा सहभागी गराउन सकिन्छ। सामुदायिक वन, गैरसरकारी संस्था र सहकारीका सदस्यले मात्र प्लास्टिक झोला प्रयोग नगर्ने हो भने बाँकीको उपभोक्ता प्लास्टिकले पनि झोलाको प्रयोग गर्न छोड्ने अवस्था आउँछ।
अनुगमन र जरिबाना: अनुगमनबिना प्लास्टिक झोला निषेधले मात्र काम नगर्ने निष्कर्ष नयाँ दिल्ली लगायतका स्थानमा गरिएको अध्ययनले देखाएको छन्। काठमाडौँमा यसअघि गरिएको निषेध असफल हुनुको एउटा मूल कारण अनुगमन र जरिबाना प्रभावकारी नहुनु थियो। अन्य कुराको परिपालना गरेजस्तै निषेधको परिपालनाका लागि प्लास्टिक झोला प्रयोग गर्दा पक्राउ पर्ने सम्भावनासँग सिधा सरोकार छ। म लगायतको टोलीले सन् २०२० मा प्रकाशित गरेको अध्ययनले निषेधको उल्लंघन गरेमा पक्राउ पर्ने सम्भावनालाई दुई गुणा बनाउँदा प्लास्टिक झोलाको प्रयोगलाई आधामा ल्याउन सक्ने देखाएको थियो। उक्त अध्ययनको आधारमा काठमाडौँमा पक्राउ पर्ने सम्भावनालाई करिब ४५ प्रतिशत र जरिबाना ५०० रुपैयाँ जति राख्ने हो भने करिब ४० करोड प्लास्टिक झोलाको प्रयोगमा कमी ल्याउन सकिने देखिन्छ। पक्राउ पर्ने सम्भावनाका लागि निरन्तर अनुगमन र जरिबाना गर्ने र यसरी गरिएको कारबाही सबैमा जानकारी दिँदा नै जरिबानाको सम्भावित जोखिमबाट बच्न पनि घरबाट निस्किँदा पुनर्प्रयोगीय झोला लिएर निस्किने बानी बसाउन सकिन्छ।
तर महानगरले सबै स्थानमा सधैँ प्लास्टिकको झोला निषेधको अनुगमन गर्न सम्भव हुँदैन। समय र स्रोतको बचतका लागि प्लास्टिकको झोला अधिक प्रयोग हुने स्थानमा अनुगम गर्नुपर्ने हुन्छ।
अनुगमन कहाँ र कुन समय गर्दा प्रभावकारी होला?
करिब ३६ हजार जनाभन्दा बढी व्यक्तिको प्लास्टिक झोला प्रयोगको विश्लेक्षणअनुसार साइकल वा मोटरसाइकलमा हिँड्नेभन्दा बाटोमा हिँड्नेले प्लास्टिक झोला बोक्ने सम्भावना अधिक हुने देखाउँछ। साथै पुरुष र युवाले प्लास्टिकको झोला कम बोक्ने गरेको देखिन्छ। कार्यालय र मनोरञ्जन क्षेत्र जस्तै; पार्कभन्दा घरबस्ती भएको क्षेत्रमा अनि गल्लीभन्दा मूलबाटोमा हिँड्नेले प्लास्टिकको झोला बोक्ने सम्भावना धेरै रहेको पाइन्छ। चित्रमा देखाएजस्तै सर्वसाधारणले बिहीबार, आइतबार अनि शनिबार प्लास्टिकको झोला बोक्ने सम्भावना धेरै हुन्छ भने, बेलुकाको समयमा प्लास्टिकको प्रयोग बढ्ने देखिन्छ। यो समय मानिसहरू बाहिर निस्कने, किराना सामान तथा तरकारी किन्ने समय पनि हो।


प्लास्टिक झोला निषेधको परिपालनालाई प्रभाव पार्ने विषय भनेको नगरप्रति आमजनताको विश्वास पनि हो। नगरले राम्रो काम गरिरहेको छ भन्ने अनुभूति भएका व्यक्ति तथा पसलेले प्लास्टिक झोला निषेधको परिपालना गर्ने देखिन्छ। यस सन्दर्भमा काठमाडौँ महानगरको नेतृत्व र सुधार हुँदै गरेको कार्यशैलीले पक्कै पनि प्लास्टिक झोलाको निषेधमा आमजनताको साथ पाउने सम्भावना छ। तर स्वयंसेवी परिपालना दिगो नहुने र यस्तो परिपालनालाई दिगो व्यवहार परिवर्तनतर्फ लान निषेधको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ।
अन्त्यमा नेपालको परिवेशमा प्लास्टिक झोला प्रयोगमा शुल्क लगाएर प्रयोगमा कमी ल्याउन चुनौतीपूर्ण छ। नगरहरूले सबै प्रकारको एकल प्रयोग हुने प्लास्टिकको झोलाको निषेध गरी प्रभावकारी अनुगमन गर्ने, निषेधित गरिएको प्लास्टिक झोला प्रयोगकर्तालाई जरिबाना गर्ने अनि निषेध कार्यान्वयनका लागि जनचेतना र सहजीकरण जस्तै; वैकल्पिक झोलाको उपलब्धता र दूध, माछामासु जस्ता वस्तुको प्याकेजिङमा पुनर्प्रयोग गर्न मिल्ने भाँडालाई व्यापक बनाउनुपर्छ।
महानगरको प्लास्टिक झोला निषेधको प्रभावकारी कार्यान्वयन भए लगभग ४० करोड (९० प्रतिशत कमीको दरमा) र काठमाडौँ उपत्यकाभर लागू गरे एक अर्ब ३५ करोड प्लास्टिक झोला वातावरणमा जानबाट जोगाउन सकिन्छ। यसबाहेक प्लास्टिक झोला निषेधसँगै कुहिए जाने फोहोरलाई कौसीखेतीमा प्रयोग गर्ने बढ्ने छन्। तर एउटा नगरले निषेध गरेर मात्र प्लास्टिक प्रदूषणजस्ता सर्वव्यापी वातावरणीय समस्याको समाधान गर्न कठिन छ। यसका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक जिम्मेवारी र स्रोतसहितको कार्ययोजना बनाइ निषेधलाई कार्यान्वयनमा लैजान जोड दिँदा प्लास्टिकको आयात, प्लास्टिकजन्य पदार्थको विकल्पको उत्पादन र दिगी वातावरणमैत्री विकाशमा सहयोग पुग्छ। यसले अर्बौं प्लास्टिक झोला वातावरणमा जान रोकिने मात्र नभई फोहोरमैला व्यवस्थापन, ढल निकासमा सुधार, शहरी बाढीमा कमी, जंगली तथा घरपालुवा जनावरको स्वास्थ्यमा सुधार हुन्छ।
भारद्वाज वातावरण अर्थशास्त्री हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
