अवतार: द वे अफ वाटर शुक्रबार रिलिज हुँदै

अवतारमा २२औँ शताब्दीको मध्यतिरको काल्पनिक सेटिङ छ, जहाँ मानिसहरूले बहुमूल्य खनिज पदार्थ उत्खनन् गर्न प्यान्डोरालाई उपनिवेश बनाउने प्रयास गर्छन्।

हलिउड चलचित्र अवतारको नयाँ श्रृंखला अवतार: द वे अफ वाटर शुक्रबार रिलिज हुँदैछ।



सन् २०१७ मै छायांकन सकिएको भनिएको चलचित्रको पोस्ट प्रडक्सन र विभिन्न प्राविधिक प्रयोगको काम नसकिएका कारण रिलिजमा ढिला भएको हो। चार महिनाअघि नै ट्रेलर सार्वजनिक भएको बहुप्रतीक्षित चलचित्र अन्तत: दर्शकमाझ आउने भएको छ।



क्यानेडेली लेखक तथा चलचित्र निर्माता जेम्स क्यामरुनले १२ वर्षअघि चलचित्रप्रेमीलाई अवतारको ब्रम्हाण्डीय दुनियाँमा लगेका थिए। जहाँ उनले चलचित्रमार्फत टाढाको चन्द्रमा र त्यहाँ बस्ने मानिसको दर्शन गराए।



अन्यको तुलनामा फरक र नयाँ प्रयोग भएको चलचित्र अवतारका पात्रहरू अलौकिक दुनियाँका जस्ता छन्। चलचित्रमा २२औँ शताब्दीको मध्यतिरको काल्पनिक सेटिङ छ। जहाँ मानिसहरूले बहुमूल्य खनिज पदार्थ अनब्टेनियम उत्खनन् गर्न चन्द्रमाको काल्पनिक र अलौलिक क्षेत्र प्यान्डोरालाई उपनिवेश बनाउने प्रयास गर्छन्। प्यान्डोराका नाभी भन्ने रैथाने जातिले यसको विरोध गर्छन्।



यसै घटना वरपर घुमेको कथामा नाभी जातिबीच प्रेम र एकतालाई चलचित्रले राम्ररी बुनेको छ। सन् २००९ मा रिलिज साइन्स फिक्सनमा आधारित लोकप्रिय चलचित्र अवतारमा पात्रहरूको शरीरको रंग निलो हुन्छ र पुच्छरसमेत हुन्छ। मानिसजस्तै देखिने तर केही फरक चरित्रका पात्रलाई पर्दामा उतार्न लेखक तथा निर्देशक क्यामरुनले वर्षौं लगाएका थिए।



उनको मिहिनेत र प्रविधिको सहयोगले चलचित्र फरक र रोमाञ्चक बन्यो। नयाँ प्रयोग र प्रस्तुतिले चलचित्रलाई ऐतिहासिक त बनायो नै ऐतिहासिक व्यापारसमेत गर्‍यो। बक्स अफिसमा २ अर्ब ८० करोड डलरभन्दा बढीको व्यापार गर्न सफल भयो।



पहिलो चलचित्रको अपार सफलतापछि लेखक क्यामरुनमाथि नयाँ श्रृंखला बनाउने दबाब पनि उत्तिकै थियो। तर, त्यसको १२ वर्षपछि पुन: अवतार २ अर्थात् अवतारः द वे अफ वाटर रिलिज हुन लागेको हो।



पहिलो चलचित्रमा चाहेजति प्रविधिको प्रयोग गर्न नसकिए पनि नयाँ श्रृंखलामा अत्याधुनिक प्रविधिको प्रयोग गरेको र कथालाई न्याय दिएकाले चलचित्र थप रोचक बनेको निर्देशक क्यामरुनको भनाइ छ।



अवतारः द वे अफ वाटरमा आर्टिफिसियल र डिजिटल टेक्नोलजीको प्रयोग, पात्रहरूको हाउभाउ प्रस्तुत गर्न मोसन क्याप्चर क्यामेरा, अन्डर वाटर टेक्निकको प्रयोग गरिएको छ।