बागलुङको निसेलढोर : उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्

निसेलढोरमा ६० घरपरिवारका एक सय ५० जना मात्रै छन्।  मतदाता कम भएकाले नेताहरू भोट माग्न नआएको स्थानीय गोरख घर्तीमगरले जानकारी दिए।

तस्वीर : रासस

बागलुङ– गाउँदेखि सहरसम्म चुनावी सरगर्मी बढेको छ। देश नै चुनावमय बनिरहेका बेला बागलुङको निसीखोला–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले छुन सकेको छैन।

यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा समेत कम जानकारी छ। अहिलेसम्म यस गाउँमा उम्मेदवार तथा नेताहरू भोट माग्न पुगेका छैनन्।निसेलढोरमा अहिलेसम्म विद्युत पहुँच छैन।

अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन्। यहाँ ६० घरपरिवार स्थायीरूपमा बसोबास गर्ने गर्छन्। वर्षातकाे समयमा भने चार सय बढी घरका सयौँ स्थानीय यहाँ बस्ने गर्छन्। वर्षातमा निसीखोला–५ निसीगाउँबाट पशुचौपाया लिएर निसेलढोरमा जाने चलन छ। चिसो बढेपछि असोज पहिलो साता नै बेसी (निसीगाउँ)मा झरिसके। उनीहरू अब असार लागेपछि मात्रै ढोर उक्लिने छन्।

हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्पराजस्तै हो। सयौँको संख्यामा पशुचौपाया पाल्ने हुँदा लेकबेँसी गर्नुपरेको हो। अहिले निसेलढोरमा ६० घरपरिवारका एक सय ५० जना मात्रै छन्।  मतदाता कम भएकाले नेताहरू भोट माग्न नआएको स्थानीय गोरख घर्तीमगरले जानकारी दिए। “अहिले जाडो बढ्यो। धेरै जसो मान्छे बेँसी झरिसके। यहाँ थोरै मात्रै छन्”, उनले भने, “पहिले–पहिले चुनाव आउनेबित्तिकै नेताहरु उतै बास बस्ने गरी भोट माग्न जान्थे। अनेक आश देखाउँथे। तर अहिले गएका छैनन्।”

आफूहरूले भोट दिएर जिताएको नेताले निसेलढोरको विकास गर्न नसकेको उनको गुनासो छ। विद्युत् नहुँदा सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको सुनाए। घर्तीले मोटरबाटो पुगे पनि गाडी गुड्ने खालको नभएको, स्वच्छ पिउने पानीको समेत अभाव रहेको उनको भनाइ छ। “हाम्रो क्षेत्रबाट धेरै नेताहरू सांसद हुनुभयो। केही त मन्त्रीसमेत हुनुभयो। तर निसेलढोरको विकास गर्नतर्फ ध्यान भने दिनुभएन”, उनी भन्छन्, “यसपालि जसले बिजुली ल्याइदिने प्रतिबद्धता जनाउँछ उसैलाई भोट दिने हो। अब पार्टी भन्ने हुँदैन। काम गर्नेलाई रोज्नुपर्ने भयो।”

निसेलढोरमा कुँडे, मस, झुललगायतका गाउँ पर्छन्। यी कुनै पनि गाउँमा विद्युत्को पहुँच छैन। स्थानीय प्रेमकुमारी विकले चुनावका बेला गाउँमा स्वास्थ्य संस्था बनाउने आश देखाउने नेताहरू फर्किएर नआएको बताइन्। स्वास्थ्योपचारका लागि १२ घण्टा लगाएर बुर्तिबाङ आउनुपर्ने बाध्यता छ। अघिल्ला निर्वाचनमा बाटोघाटो, विद्युत्, खानेपानी, स्वास्थ्य संस्था निर्माण गर्ने बताए पनि काम नगरेको विकले गुनासो गरे।

“हामी त चुनाव आउँदामात्रै चाहिँदा रैछौँ। अघिपछि कुनै वास्ता छैन। पहिले पनि नेताहरूले मोटरबाटो, बिजुली र घर–घरमा धारा बनाइने बाचा गरे तर जितेर गएपछि फर्किएर हेरेनन्”, उनी भन्छन्, “अहिले पनि चुनाव आयो रे, अब फेरि भोट माग्न आउलान्। यसपटक चाहिँ भोट नदिने विचार गरेँ। उनीहरु ठूलो मान्छे बन्ने हामी गरिब दुःखीलाई झुक्याउने मात्रै गरे।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले आफू निर्वाचित भएपछि निसेलढोरको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए। अहिले यहाँ कक्षा ५ सम्म पढाइ हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरी बजेट विनियोजन गरेको बताए। स्वास्थ्य एकाइ स्थापनाका लागि गाउँपालिकाले १५ लाख विनियोजनसमेत गरेको उनले जानकारी दिए। विगतदेखि नै यो ठाउँ राज्यको नजरमा नपरेकाले पालिकाको स्रोत र साधानले भ्याएसम्मको विकास गर्ने बताए।  

ढोरपाटन नगरपालिका–९ बाट विद्युत् जडान गरी लैजानका लागि आवश्यक छलफल भइरहेको छ। “यो ठाउँ भौगोलिक हिसाबले विकट त छँदैछ। त्यसमाथि ठूला नेताको नजरमा कहिल्यै पर्न सकेन। हामीहरू त भर्खर निर्वाचित भएर आएका छौँ। समस्या सबै बुझेका छौँ। स्रोत साधनले भ्यायसम्म विकास गर्ने प्रयत्न गर्नेछौँ”, अध्यक्ष घर्तीमगरले भने। 

यहाँका मतदाता भोट हाल्न पनि एक दिन लगाएर निसीखोला–५ निसीमा आउनुपर्छ। कम जनसंख्या भएको हुँदा निसेलढोरमै मतदान गर्न पाउने सुविधा छैन। स्थानीयले यस विषयमा पटक–पटक मागसमेत राखेका थिए।