भद्रकुमारी घले सेवा सदन नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

उच्च अदालत पाटनले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। तर काठमाडौँ महानगरले बुधबार दिउँसो नै भवनमा डोजर चलाएको थियो।

ललितपुर- उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश श्यामजी प्रधानको इजलासले बुधबार उक्त घरजग्गामा क्षति नपुर्‍याउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश दिएको हो। आदेशमा भनिएको छ, “मिति २०८०/०४/०८ को पेसी तारिख तोकी सोको जानकारी विपक्षीलाई दिई उक्त निर्णयको छलफलबाट निर्णय नभएसम्म निवेदकको घरजग्गामा क्षति पुर्‍याउने वा अतिक्रमण गर्ने गराउने कार्य नगर्नू।”

अदालतले उक्त विवादका दुवै पक्षलाई छलफलका लागि साउन ८ गते बोलाएको छ। साथै अदालतले १५ दिनभित्र लिखित जवाफसमेत पेश गर्न भनेको छ।

तर अदालतको आदेश आउनुअघि बुधबार नै महानगरपालिकाले उक्त भवनमा डोजर चलाएको थियो। आदेशपछि भवन थप भत्काउन भने रोकिने भएको छ।