आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कलाकारहरूले मतदाता शिक्षाको प्रभावकारिता, आचारसंहिता कार्यान्वयन लगायतका विषयमा चासो राखेका थिए।
काठमाडौँ- कलाकारहरूले आसन्न निर्वाचनमा शारीरिक अशक्त, वृद्धवृद्धा र स्वास्थ्य समस्या भएका व्यक्तिमैत्री निर्वाचन केन्द्र निर्माण गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्।
सोमबार निर्वाचन आयोगले कलाकारहरूसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा आफ्ना धारणा राख्दै कलाकारहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आयोगले शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई ध्यानमा राखेर निर्वाचन केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।

कलाकारहरूले आयोगले ४ किसिमका मतपत्र छापेको र त्यसमा आम नागरिकहरू झुक्किन सक्ने सम्भावना बढी रहेकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्नेसमेत बताए। अन्तरक्रिया कार्यक्रममा बोल्दै कलाकार मनोज गजुरेलले कलाकारहरू अभियन्ता मात्रै नभई खबरदारीकर्ता पनि भएकाले खबरदारीकर्ताको रूपमा प्रस्तुत हुन अनुमति दिनुपर्ने माग गरे।
उनले मतपत्र हेरिसकेका मानिसहरू पनि झुक्किने भएकाले आयोगले समयमा नै मतदाता शिक्षा आम नागरिकहरूमा बुझाउनुपर्ने बताए। कलाकार गजुरेलले निर्वाचनलाई पर्वको रूपमा मान्नुपर्ने र सकेसम्म नकारात्मक प्रचारप्रसार गर्नु नहुने बताए।
उनले भने, “हामी अभियन्ता मात्रै नभएर हामी खबरदारीकर्ता प्रस्तुत हुन्छौँ। त्यो अनुमति दिनुपर्यो। हामीले ४ प्रकारका मतपत्र हेर्यौँ। हामी पनि त्यसमा कन्फ्युज छौँ। यसलाई बुझाउने पाटोमा निर्वाचन आयोगले महत्त्व दिएको छ जस्तो मलाई लाग्दैन। राजनीतिक पर्वको रूपमा निर्वाचनलाई मनाएर जानुपर्छ। सकेसम्म निर्वाचनलाई नेगेटिभ्ली प्रचार नगरौँ।”
त्यस्तै, अर्का वरिष्ठ कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै अन्तरक्रियात्मक कार्यक्रम अझै बढाउन आवश्यक रहेको बताए। उनले कलाकारहरूले आफ्नो तर्फबाट नागरिकलाई निर्वाचनका बारेमा बुझाउने काममा लाग्ने हो भने त्यसले मतदातामा जनचेतना फैलाउन सहयोग पुग्ने बताए।
उनले गत स्थानीय तहको निर्वाचनमा अशक्त, असहाय, व्यक्तिहरू र फरक क्षमता भएका व्यक्तिहरूलाई भोट दिन जाँदा उचित व्यवस्थापन नगरेका दृश्यहरू देखिएको भन्दै निर्वाचन केन्द्रहरू शारीरिक अशक्ततामैत्री बनाउन आग्रह गरे।
उनले भने, “यो एउटा मेला हो, पर्व हो, निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो। अन्तरक्रियात्मक कार्यक्रमहरू बेलाबेलामा हुँदै गरुन्, यसले सकारात्मक सन्देश दिन्छ। कलाकारहरूले पनि आफ्नो तर्फबाट आफ्नो क्षेत्रबाट, नागरिकलाई निर्वाचनका बारेमा बुझाउने काममा लाग्ने हो भने त्यसले निश्चय नै यो अभियानमा सहयोग पुग्नेछ।”
गत स्थानीय तहको निर्वाचनमा अशक्त, असहाय, व्यक्तिहरू र फरक क्षमता भएका व्यक्तिहरूलाई भोट दिन जान असाध्यै गाह्रो भएको बताउँदै उनले वृद्धवृद्धा र रोगीलाई सिद्धान्ततः प्राथमिकता दिने भनिए पनि त्यसो हुन नसकेको बताए।

त्यस्तै, अर्का कलाकार दीपक आचार्यले विगत केही समय यता ठूला दलका नेताहरूले चुनाव प्रचारप्रसार गर्ने क्रममा र भोट माग्ने क्रममा मतदाताहरूलाई प्रलोभनमा पार्ने गरेको भन्दै कारबाही हुन्छ कि हुँदैन भन्दै आयोगसमक्ष प्रश्न राखे। उनले ‘बिना ढेवाके विदेश पठाइदिन्छु’, ‘हेलिकप्टर लिएर प्रचारप्रसार गर्न आउनेहरूलाई भोट दिनुहोस्’ जस्ता अभिव्यक्ति दिने नेताहरूप्रति आयोगको ध्यानाकर्षण भएको छ वा छैन भन्नेबारेमा जिज्ञासा राखेका थिए।
उनले निर्वाचन आयोगले कलाकारहरूसँग समन्वय गरेर अघि बढे मतदाता शिक्षासहित निर्वाचन प्रचारप्रसारका गतिविधिहरू जनतामाझ पुग्न सहज हुने विश्वास व्यक्त गरे।
उनले भने, “निर्वाचन आयोगले जुन आचारसंहिताका कुराहरू गर्छ, एउटा उम्मेदवारले यति खर्च गर्ने भन्ने एउटा लिमिटेशन पनि होला, आचारसंहिता भित्र तर विगत केही समय यता दलका ठूला नेताहरूले चुनाव प्रचारप्रसार गर्ने क्रममा र भोट माग्ने क्रममा बिना ढेवाके विदेश पठाइदिन्छु भन्ने किसिमका अत्यन्तै असान्दर्भिक निकृष्ट खालका चुनाव प्रचारप्रसार गरिएको र केही अरू दलका ठूला नेता, नेतृहरूले हेलिकप्टर लिएर प्रचारप्रसार गर्न आउनेहरूलाई भोट दिनुहोस् भन्ने किसिमका बाइटहरू पनि सुनेका छौँ। यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ कि छैन, उनीहरूलाई आचारसंहिता लागू हुन्छ की हुँदैन? कारबाही हुन्छ की हुँदैन?”
उनले मतदाता शिक्षा पनि प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले अत्यन्त धेरै भ्युअर्स भएका टेलिभिजन सिरियलसँग सहकार्य गरी निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सक्नेसमेत बताए।
त्यस्तै, कलाकार दीपाश्री निरौलाले निर्वाचन आइसकेकाले मोबाइलमा निर्वाचन प्रचारप्रसारका रिङटोनहरू राख्न सुझाव दिइन्। उनले मतदाताहरूलाई निर्वाचन मतदाता शिक्षामूलक सूचनाहरू प्रसारण गर्ने हो भने मोबाइलले पनि धेरै कुरा जानकारी गराउने बताइन्।
उनले भनिन्, “हामीले अब १३ दिनको अवधिमा मतदाता परिचय पत्र बोकेर जाऔँ, भन्ने खालका मतदाता शिक्षा सम्बन्धीका सूचनाहरू मोबाइलको रिङटोनमा बज्नेगरी प्रसारण गर्न आवश्यक छ।”
त्यस्तै, कलाकार प्रकाश सपुतले आम नागरिकलाई निर्वाचनका बारेमा सिकाउने कुरामा आफूले निःशुल्क काम गर्ने उद्घोष गरे। उनले निर्वाचन सामग्रीहरू किन राम्रा निर्माण गर्न सकेका छैनौँ भन्ने बारेमा आयोगले सोच्नुपर्ने बताए।

उनले भने, “जनतालाई सुसूचित गर्ने कुरामा जुनसुकै समय पनि म निःशुल्क दिन तयार छु। निर्वाचन प्रचार सामग्री निर्माण गर्दा निर्वाचन आयोगसँग कस्तो खालको बजेट विनियोजन हुन्छ, सामग्री कसरी निर्माण हुन्छ? निर्वाचन सामग्रीहरू किन राम्रा निर्माण गर्न सकेका छैनौँ? यो जिज्ञासा छ।”
त्यस्तै, अर्का कलाकार राजा राजेन्द्र पोखरेलले निर्वाचन के हो भन्ने कुरा आम नागरिकसामु आयोगले बुझाउन नसकेको महशुस गरेको बताए। उनले भोट किनबेच हुने कुरा धेरै सामाजिक सञ्जालमा आइरहेको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराए। उनले भोट किनबेच गर्न नहुने र किनबेच भएको भोटले राष्ट्रिय आकांक्षा पूरा नहुने र निर्वाचनको पवित्रतालाई पनि कमजोर गराउनुका साथै समग्रमा देश पनि कमजोर बन्ने बताए।
उनले भने, “समृद्धितर्फ, विकासतर्फ जनताको स्तर विकास गर्ने यात्रा हो भनेर आयोगले पनि जनतामाझ बुझाउन नसकेको हो कि भन्ने लागेको छ। भोट हाल्ने जनता पनि मेरो भोटको समान हुँदैन भन्ने कुराको खबरदारी गर्दैन। किनभने किनबेच भएपछि त्यहाँ व्यापार हुन्छ, व्यापार भनेको मंसिर ४ गते भोट खसेपछि सकियो। यसले हाम्रो राष्ट्रिय आकंक्षा पूरा गर्ने कुरामा र निर्वाचनको पवित्रतालाई पनि कमजोर गराउँछ र समग्रमा देश पनि कमजोर हुन्छ। यो कुरा रोक्न विकासको अजेन्डासँग कसरी अघि बढ्ने भन्ने कुरामा निर्वाचन आयोग स्वयंले पनि त्यसतर्फ बहस चलाउन आवश्यक छ।"ू
कलाकार पोखरेलले निर्वाचन आयोगले स्वयंले पनि विकासको अजेन्डासँग कसरी अघि बढ्ने भन्ने कुराको बहस चलाउन आवश्यक रहेको बताए। निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कलाकार सन्तोष पन्त, किरण केसी लगायतका अग्रज कलाकारहरूको उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचनको माहोल निर्माण तथा निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटाबको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारहरूले खेल्ने भूमिका प्रभावकारी हुने बताए।
उनले कलाकारहरूले आफ्ना सामाजिक सञ्जालबाट निर्वाचन र मतदाता शिक्षाका सन्देशहरू प्रवाह गरेर तथा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहेर मुलुक र लोकतन्त्र जोगाउने संकल्प बोकेको आसन्न निर्वाचन सफल बनाउन व्यावसायिक र रचनात्मक रूपमा योगदान दिने अपेक्षा पनि व्यक्त गरे।

“निर्वाचनलाई दूषित पार्ने प्रचारको डर आयोगलाई छ । यसप्रति आयोग सजग छ”, ‘नो नट एगेन’का सम्बन्धमा कलाकारले राखेको जिज्ञासामा प्रमुख आयुक्त थपलियाले भने, “लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई मिसाएर हेर्न हुँदैन भन्नेमा आयोग स्पष्ट छ। त्यसैले लोकतन्त्रको सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुस्। सभ्य भाषामा कसलाई मत दिने र नदिने भनेर खुल्लारूपमा भन्न सक्नुहुन्छ, अँध्यारो कुनामा बसेर लाञ्छित र गालीगलौज गरिरहनु पर्दैन भन्ने मात्रै आयोगको आग्रह हो।”
मतदातालाई प्रलोभन पारिने खतराका सन्दर्भमा उठेको सवालमा प्रमुख आयुक्त थपलियाले जनताको सार्वभौमसत्ता खरिद बिक्रीको विषय हुनै नसक्ने भन्दै निर्वाचनलाई व्यापार ठान्नेहरूले देशको समृद्धि गर्दैनन् भन्ने सन्देश पनि कलाकारहरूले नागरिकका बीच लगिदिनुपर्छ भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
