विमानस्थलबाट बरामद सुन जोख्न टक्सारमा लगियो, अहिलेसम्म को–को परे पक्राउ?

विमानस्थलबाट बरामद सुनको परिणाम यकिन गर्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखा लगिएको छ।

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुन प्रकरणमा संलग्न रहेको आशंकामा अहिलेसम्म ६ जना पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागले उनीहरूलाई बुधबार र बिहीबार काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो।

सुन दिलीप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्राइभेट लिमिटेडका नाममा आएको देखिएको विभागले जनाएको छ। विभागको टोलीले कम्पनीका सञ्चालक भुजेललाई पनि पक्राउ गरेको छ।

सुन आयात प्रकरणमा संलग्न रहेको आशंकामा चिनियाँ मूलका भारतीय नागरिक थुक्तेन छिरिङ बिहीबार पक्राउ परेका छन्। उनलाई विभागको टोलीले त्रिभुवन विमानस्थलबाट उनलाई पक्राउ गरेको हो।

त्यस्तै, सुन ओसार्न प्रयोग भएको ट्याक्सीका चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र कुमार, हर्क राई र रामकुमार भुजेललाई पनि पक्राउ परेका छन्। बा२ज २३३४ नम्बरको ट्याक्सीभित्र ३२० वटा ब्रेक प्याडमा सुन ल्याइएको विभागको भनाइ छ।

सुन जोख्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखा लगिएको छ। सुनको परिमाण यकिन गर्न टक्सार महाशाखा पठाइएको राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीको पुष्टि गरे। विभागका अनुसार सुनको परिमाण एक क्विन्टल हाराहारी भनिए पनि यकिन भइसकेको छैन।