लोकरिझ्याइँको राजनीति देशका लागि घातक : शेखर कोइराला

कांग्रेसका नेता कोइरालाले देशमा राष्ट्रियताको आडमा लोकप्रियतावादीका रूपमा नेताहरूले आफूलाई स्थापित गरिरहेको उल्लेख गर्दै लोकरिझ्याइँको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए।

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित लाओस् राईद्वारा लिखित पुस्तक राष्ट्रवाद की राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा दण्डहीनताले सीमा नाघेको बताएका हुन्।

उनले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरूमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए। देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझ्याइँ, लोकप्रियतावादीका रूपमा नेताहरूले आफूलाई स्थापित गरिरहेको उल्लेख गर्दै लोकरिझ्याइँको राजनीतिले देशलाई बिगारिसकेको बताए।

“पपुलिजमले धेरै कुरा दमन गर्दछ। त्यो क्षणिक होला, त्यो धेरै दिन नचल्न सक्छ। तर त्यसले देशलाई बिगारिसकेको हुन्छ, कमजोर बाइसकेको हुन्छ,” उनले भने, “अहिले नेपालमा पनि लोकरिझ्याइँको कुराले गर्दा नेताहरूमा हाम्रो पार्टीमा छ, अन्य पार्टीमा पनि छ। लोकरिझ्याइँका कुराले गर्दा हामीजस्ता मानिसहरू अलमलमा परिरहेका छौँ।” उनले लोकरिझ्याइँको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए।

नेता कोइरालाले देशमा भ्रष्टाचार अन्त्य गर्नैपर्ने बताए। उनले नेपालमा २०६२/०६३ पछि नै दण्डहीनताका घटनाहरू बढ्दै गइरहेको उल्लेख गरे। नक्कली भुटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणहरू निचोडमा नपुर्‍याएसम्म देशको स्थिति अप्ठ्यारो रहने बताए।