कोरियामा काम गरेर फर्किएकाका लागि पुनः खुल्यो भाषा परीक्षाको आवेदन

कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन्। भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुनेछ।

काठमाडौँ– वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका कामदारका लागि पुनः भाषा परीक्षाको आवेदन खुलाएको छ। 

कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ देखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार उक्त भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म सञ्चालन हुनेछ भने नतिजा प्रकाशन असोज ३ गते हुनेछ। 

नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारका रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ।

शाखाका अनुसार आवेदन दिन नेपाली नागरिक हुनुपर्ने, ईपीएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदार हुनुपर्ने छ। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने छ।

फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानूनी रूपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्ने जनाइएको छ। 

यसैगरी, कोरियामा ई–९ र ३–९–१ भिसामा पाँच वर्षभन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधन विभागबाट ईपीएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फारम पर्न पाउने जनाइएको छ।

यसअघि कोरियाबाट फर्किएर आएकाले आफूले कोरिया जान नपाएको भन्दै आन्दोलन गरेका थिए।