गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त

मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बर्खास्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाइसकेको जानकारी दिए। 

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार आफ्नो मन्त्रिपरिषद्का ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन्।

मन्त्री आचार्यलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष मंगलबार नै पत्र पठाइएको छ। मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बर्खास्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाइसकेको जानकारी दिए।

लगत्तै प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चण्डीप्रसाद अर्यालले सूचना जारी गर्दै मन्त्रिपरिषद् हेरफेरबारे जानकारी दिएका छन्। उनले जारी गरेको सूचनाअनुसार रिक्त रहेको ऊर्जा मन्त्रालय मुख्यमन्त्री नेपालीले आफ्नै जिम्मामा राखेका छन्।

बाबुराम भट्टराईनिकट आचार्य तत्कालीन जनता समाजवादी पार्टीबाट मन्त्री बनेका थिए। भट्टराईकै समर्थनमा गोरखाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मत मागेपछि उनलाई मन्त्रीबाट बर्खास्त गर्न माओवादी र भट्टराई दुबैले दबाब दिएको स्रोतले बतायो।