सुन प्रकरण : भन्सार कर्मचारीसहित ६ जना पक्राउ

सुन तस्करी प्रकरणमा आइतबार सरकारी कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरेको छ। योसँगै अहिलेसम्म १६ जना पक्राउ परेको राजस्व अनुसन्धान विभागले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा आइतबार सरकारी कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकीकुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन्।

यस्तै, भन्सार एजेन्टमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन्। उनीहरूसँगै अहिलेसम्म उक्त एक सय किलो सुन तस्करी १६ जना पक्राउ परेका छन्। 

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो। उक्त सुन हङकङबाट ल्याइएको थियो।