कन्सुलर विभागमा प्रहरी चारित्रिक प्रमाणपत्रका सबै काम अब अनलाइनबाट हुने

विभागमा देखिँदै आएको भिडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन अनलाइन सेवा जरुरी रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी) का सम्पूर्ण कामहरू अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन्। उनले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरू अनलाइनमार्फत् गरिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरू अनलाइनमार्फत् हुने भए पनि कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छाएको व्यक्ति उपस्थित हुनैपर्ने बाध्यता छ। यी काम अनलाइनबाट भएमा सेवाग्राहीले राहदानी विभागको कार्यालय त्रिपुरेश्वरसम्म धाउनु पर्ने छैन।

विभागमा देखिँदै आएको भिडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन अनलाइन सेवा जरुरी रहेको मन्त्रालयले जनाएको छ।

कन्सुलर सेवालाई सरल, सहज, पारदर्शी र उत्तरदायी ढंगले सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ९ ले दिएको अधिकार प्रयोग गरी सरकारको २०७० वैशाख २० गतेको निर्णयअनुसार परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको स्थापना भएको हो।

विदेशमा रहेका नेपालीहरूको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरण, विदेशी नियोग तथा कूटनीतिक पदाधिकारीहरूलाई प्रदान गरिने सुविधा तथा उन्मुक्ति, सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरूका लागि सम्बन्धित देशको प्रवेशाज्ञाका लागि सिफारिस गर्ने लगायतका कामहरू विभागबाट हुँदै आएका छन्।

विभागका महानिर्देशन पौडेलले अनलाइनमार्फत् कामहरू अघि बढाउनका लागि टिप्पणी उठाउने काम भइसकेको र मन्त्रीबाट स्वीकृत गराएर दुई साताभित्रै अनलाइन सेवा शुरू गरिने बताए।

‘पीसीसीका कामहरू अनलाइनमार्फत् नै हुँदै आएका थिए। अन्तिममा मात्रै हामीले बोलाएपछि सेवाग्राही आउनु पर्ने हुन्थ्यो। अब त्यसका लागि पनि आउनु पर्दैन,’ उनले भने।