मोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा स्थान दिनु हुँदैन : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रूपान्तरणका लागि ‘एग्जिट पोलिसी’को आवश्यकता रहेको बताएका छन्।

फाइल तस्वीर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रूपान्तरणका लागि ‘एग्जिट पोलिसी’को आवश्यकता रहेको बताएका छन्। सोमबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले राजनीतिक दलहरूले ‘एग्जिट पोलिसी’ बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरू भइरहने प्रवृत्तिको अन्त्य हुने बताए। उनले राजनीतिमा उमेर नभई अजेन्डा महत्त्वपूर्ण हुने भए पनि महत्त्वपूर्ण पदहरूमा भने एग्जिट पोलिसी राख्न जरुरी देखिएको बताए।

“केही वर्षअघि लहर चलेको थियो। ७० वर्ष नाघेकालाई राजनीतिबाट बिदा गर्ने भनेको थियो। एज नभई राजनीतिमा अजेन्डा हुनुपर्छ भनेर मैलेभन्दा म आलोचित भएँ। तर नेकपा एमालेले त्यसलाई ग्रहण गर्‍यो, त्यसलाई लागू गरेको छ। हामीले एग्जिट पोलिसी राखेको भए शेरबहादुर दाइले जस्तो पाँच पटक हुन्थे भन्ने सोच्दैन। त्यसैले एग्जिट पोलिसी आवश्यक छ,” उनले भने।

महामन्त्री शर्माले विभिन्न नयाँ दलहरूले मिसन २०८४ सञ्चालन गरे पनि २०८४ मा २००७ सालको जस्तो क्रान्ति नभई मात्र निर्वाचन हुने बताए। उनले पार्टीको कुनै सदस्यले कालोमोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा कुनै स्थान दिनु नहुने उल्लेख गरे। 

महामन्त्री शर्माले कानून हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव गरे। उनले एक पटक हारिसकेका व्यक्तिलाई सोभन्दा ठूलो पदमा सोही समयमा राख्न नसक्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताए।