न्युरोडमा १० तलामाथि एक जना वृद्ध महिला एक्लै बस्नुहुँदो रहेछ, उहाँलाई समेत डेंगु भयो। जबकि दुईरतीन महिनादेखि उहाँ बाहिर जानुभएको थिएन।
दक्षिण अमेरिकामा कोलम्बिया भन्ने देश छ। महामारी र प्रकोपको सम्बन्धमा नेपाल दक्षिण एशियाको कोलम्बिया हुने डर बढ्दो छ। त्यहाँ हरेक तीनदेखि पाँच वर्षमा ठूला–ठूला प्रकोप आउने गरेका छन् र त्यसले कोलम्बियाको समग्र विकास प्रक्रियालाई नराम्रोसँग असर पारिराखेको छ। सोही कारण स्कुल कलेज र उद्योगधन्दा तथा प्रतिष्ठानहरू बन्द हुने गरेका छन्। अस्पतालहरूमा बिरामीको चाप हुने गरेको छ। त्यसो भएपछि पर्यटक कम आउँछन्। नेपाल त्यही बाटोमा गएको छ।
कोलम्बिया पनि पहाडी देश हो, तर हाम्रोजस्तो जटिल भूगोलचाहिँ छैन त्यहाँको। सन् २०१९ मा धरानमा डेंगुको प्रकोप फैलिएको थियो। अहिले पाँच वर्ष फेरि अहिले त्यहाँ प्रकोप बढेको छ। पोहोर काठमाडौँमा डेंगु व्यापक थियो। पोहोर-परार साल जहाँ-जहाँ प्रकोप कम थियो, त्यहाँ-त्यहाँ भने अहिले डेंगु व्यापक हुने सम्भावना देख्छु। हामीले ऐतिहासिक रूपमा हेर्यौँ भने ठूला-ठूला प्रकोप हुनसक्ने ठाउँ धरान, विराटनगर, दमक, बिर्तामोड, वीरगन्ज सुर्खेत, धनगढी, दमौली र भरतपुर हुन्।
भन्नलाई त यसलाई गाउँको नभएर शहरको रोग भनिन्छ। शहरी क्षेत्रमा बेसी यसका बिरामी देखिन्छन्। त्यसैले नेपालका साना र ठूला शहरमा यसपटक पनि यो रोग देखिने सम्भावना छ। काठमाडौँमा चाहिँ पोहोरको जस्तो प्रकोप नदेखिएला, तर काठमाडौँ बाहिरका शहरहरूचाहिँ नराम्रोसँग प्रभावित हुने सम्भावना देख्छु।
हामी डेंगुका सन्दर्भमा जागरूक हुने हो भने लामखुट्टेले कहाँ फुल पार्छ भन्ने कुरा बुझ्नै पर्छ। त्यो थाहा नहुने हो भने यसको नियन्त्रण सम्भव छैन। दिल्लीमा डेंगु नियन्त्रणमा भएका प्रयास ख्याल गरौँ। दिल्लीका हरेक कोठा–कोठामा एयर कन्डिसन झुन्ड्याइएको हुन्छ। बगैँचा, छत र बरन्डाका गमला तथा भाँडाहरूमा पानी उपलब्ध नभएपछि लामखुट्टेले तिनै एयर कन्डिसनको 'वाटर च्याम्बर'मा गएर फुल पार्थ्यो। दिल्ली सरकारले एयर कन्डिसनका च्याम्बरमा लामखुट्टे छिर्न नसक्ने बनाउन सर्वसाधारणलाई निर्देशन गरेपछि सोहीअनुसार भयो र अहिले दिल्लीमा धेरै हदसम्म डेंगु लामखुट्टे नियन्त्रणमा छ।
अतः डेंगु नियन्त्रणका लागि एडिस लामखुट्टेको वृद्धि र प्रसार कसरी भइराखेको छ भन्नेबारे पहिले बुझ्नु जरुरी छ। त्यसो गरिएन भने नियन्त्रण सम्भव छैन। हाम्रो कुरा गर्ने हो भने लामखुट्टेबारे त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभागले १२-१५ वर्षअघि एउटा अध्ययन गरेको थियो र त्यस अनुसन्धानका अनुसार ६० प्रतिशत डेंगु प्रकोपको कारण टायरमा जम्मा हुने पानी हो। त्यसो हुँदा टायर व्यवस्थापनमार्फत डेंगु धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।
त्यस्तै, सय डेढ सय लिटर पानी अट्ने खास गरी निलो रङका ड्रम शहरका छतमा तथा घर वरपर उपयोग गरिन्छ। त्यो ड्रममा ढकनी पनि हुँदैन। आकाशबाट आएको जगेडा पानी मान्छेहरूले त्यसमा जोगाएर राख्ने गर्छन्। यस्ता भाँडाचाहिँ लामखुट्टे जन्माउने दोस्रो ठूलो स्थान हुन्। लामखुट्टे फैलाउन गमलाको भूमिका अन्य जति छैन तर होसियार नहुँदा त्यसमार्फत पनि लामखुट्टे जन्मेर र हुर्केर डेंगु फैलाउन सक्छ। त्यसले ज्यानैसमेत लिन सक्छ।
त्यसो हुँदा डेंगु नियन्त्रणका लागि टायर व्यवस्थापन गर्नुपर्ने देखियो। भन्नुको अर्थ आकाशबाट झरेको पानी त्यो टायरमा झर्नु भएन। टायरलाई सुख्खा ठाउँमा राख्नपर्यो। सेलरोटीझैँ टायरको थुप्रो लाएर राखेको ठाउँमा परेको पानी टायरभित्र पस्ने भयो र त्यो पानी लामो समयसम्म त्यहाँ रहँदा त्यहीँबाट एडीस लामखुट्टेले फुल पारेर आफ्नो विस्तार गरेको छ। त्यति धेरै परिमाणमा लामखुट्टे विस्तार भएपछि आसपासका टोल र समुदायलाई डेंगु फैलाएर बरबाद पार्ने नै भयो।
जनतालाई डेंगुका बारेमा राम्रोसँग सुसूचित नगरेका कारण पनि यस्तो हुने गरेको हो। सर्वसाधारणले लामखुट्टेले कहाँ र कसरी फुल पार्छ, कसरी लामखुट्टे हुर्केर रोग फैलाउँछ भन्नेबारे जानकारी मात्र पाउन सक्दा डेंगुलगायतका महामारीबाट उनीहरू जोगिन सक्छन्।
सन् २०१९ ताक केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा तत्कालै क्याबिनेट मिटिङ बसेर हरेक घरमा जाली लाउने गरी कानून पास गराउनका लागि मैले अनुरोध गरेको थिएँ। त्यसो गर्नु आवश्यक पनि छ। त्यसो हुँदा घरबाहिर लामखुट्टे जन्मे पनि घरभित्रका मान्छेलाई टोक्ने र त्यसबाट रोग सर्ने सम्भावना कम हुन्छ। स्कुल, कलेज, विश्वविद्यालय तथा अन्य निकाय र निजी घरमा समेत जाली हाल्न लगाउने गरी कानूनी व्यवस्था ल्याउन अनुरोध गरेको थिएँ। स्थानीय निकायले भवनको नक्सा पास गराउँदा पनि जाली हाल्ने कुरालाई अनिवार्य तोक्नेलगायत व्यवस्था गर्नुपर्छ भन्ने मेरो तर्क थियो।
ढोका र झ्यालमा जाली हाल्दा सर्पको टोकाइबाट पनि बच्न सकिन्छ। रातको समयमा ढोका र झ्याल खुला भएकै कारण घरमा सर्प छिरेर मान्छेलाई टोकेर मान्छेको ज्यान गएको छ। त्यसो हुँदा जाली हाल्ने कुराले लामखुट्टेसँगै अन्य जोखिम पनि हटाउन सक्ने देखियो। तर, दुःखको कुरा, संघीय, प्रादेशिक या स्थानीय सरकार, उनीहरूले यसलाई प्राथमिकतामै राखेका छैनन्। स्थानीय निकायले टायर खुला ठाउँमा राख्नेहरूलाई दण्डित गर्ने/जरिबाना गर्ने गरी कानून ल्याउनलाई केले रोकेको छ?
एउटा प्रसंग उल्लेख गरौँ, म इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखका रूपमा कार्यरत रहँदा बालकुमारीस्थित काठफोर्ड कलेजबाट फोन आयो। 'भुईंतलादेखि चार तालसम्म लामखुट्टेले आएर टोकेर हामी बस्न सकेनौँ' भनेर उनीहरूले गुहार लगाए। 'धुप बालेर धुवाँमय बनाउँदा पनि लामखुट्टेले टोकेर हैरान भइयो, लौन हेरिदिन पर्यो' भने। गएर हाम्रो टोलीले हेर्दा कलेज परिसरदेखि माथिल्लो तलासम्म सर्वत्र लामखुट्टे रहेछ। लामखुट्टे फुल पार्ने मुख्य ठाउँ कहाँ रहेछ त भनेर हेर्दा कलेजनजिकै टायर मर्मत गर्ने ठाउँ रहेछ। टायर पल्टाएर हेर्दा त धुवाँझैँ बग्रेल्ती लामखुट्टे उडे। त्यसपछि मर्मत सेन्टर सञ्चालकले पनि यथार्थ बुझे र टायर छोप्ने व्यवस्था गरे। त्यसो गरेको सात दिनमा कलेजमा लामखुट्टेको समस्या रोकियो।
सर्वसाधारणमाझ लामखुट्टे भुईं सतहमा मात्र हुन्छ। उचाइमा पुग्दैनन् भन्ने खालका भ्रमपूर्ण मिथहरू पनि फैलिएको पाइन्छ। यसमा एउटा उदाहरण पेश गरौँ; न्युरोडमा १० तलामाथि एक जना वृद्ध महिला एक्लै बस्नुहुँदो रहेछ। उहाँको घरका छतमा गमला पनि थिए। उहाँलाई दैनिक रूपमा आवश्यक खाद्यान्न लगायतका चिजबिच पसलेले नै पुर्याइदिँदा रहेछन्। उहाँलाई समेत डेंगु भयो। जबकि, उहाँ तीन/चार महिनादेखि तल झर्नु भएकै थिएन। गमलामा समेत लामखुट्टे भेटिएको थिएन। तर त्यहाँसमेत लामखुट्टेले टोक्यो भनेपछि डेंगु जहाँसुकै र जुनसुकै उचाइमा भेटिन्छ र टोक्न सक्छ। भर्याङ–भर्याङ नै जान सक्छ। घुँडामाथि पनि टोक्छ, गर्धनमा पनि टोक्छ। उज्यालोभन्दा पनि अँध्यारो ठाउँमा बसेका मान्छेलाई बढी टोक्छ।
सन् १९६० यता 'रिपेलेन्ट क्रिम' लामखुट्टेबाट बच्नका लागि लगाइने गरेको छ, त्यस्ता क्रिमको गन्धले लामखुट्टे भाग्ने हो। अफ्रिकाका धेरै देशहरूमा यस्तै क्रिमहरू प्रयोग गर्छन्। तर तिनको गुणस्तरबारे जाँच गर्ने जिम्मा सरकारी निकायको हो। माग बढेसँगै गुणस्तरमा सम्झौता हुने खतरा त्यसमा पनि छ।
अन्तमा, आफ्नो ज्यानको सुरक्षाको सवालमा सरकार या अन्य कुनै निकायको मुख ताक्नुभन्दा पनि आफैंँ पूर्ण सचेत रहौँ। छत या घर वरपर खुला खाल्डाखुल्डी भए पुरौँ, भाँडो भए ढाकेर राखौँ। प्रायः खुलै राखिने झ्याल ढोकामा जाली हालौँ। यसो गर्दा अन्य रोगबाट पनि बच्न सकिन्छ। स्थिर पानीमा कमसेकम सात दिनमा फुल विकसित भएर लामखुट्टेमा परिणत हुन्छ। त्यसो हुँदा, पहिले त लामखुट्टेले फूल पार्ने अवसर नै नदिऊँ। बनिहाले पनि त्यसबाट लामखुट्टे बन्न नदिऊँ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं जनस्वास्थ्यविद् मरासिनीसँग उकालोले गरेको कुराकानीमा आधारित।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
