नवलपरासी पश्चिम–१ : खेतखेतमा अर्बपति चौधरी, टोल भेलामा त्रिपाठी

पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न नवलपरासी पश्चिम–१ पुगेका अर्बपति विनोद चौधरी किसानको खेतसम्म पुगेर आश्वासन बाँडिरहँदा हृदयेश त्रिपाठीसँग मतदाता पुरानो वाचा भुलेको गुनासो गरिरहेका छन्। 

नवलपरासी– बर्दघाट नगरपालिका–१२ जहदाका मतदाता खणेन्द्र चौधरी कांग्रेसका ‘अर्बपति उम्मेदवार’ विनोद चौधरीको चुनावी प्रचार अभियान देखेर छक्क परे। विनोद नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ बाट उम्मेदवार बनेपछि कसरी मत माग्न आउलान् भन्ने कौतूहल थियो। उनलाई लागेको थियो, गाडीको लावालस्कर र प्याकिङ खानासहित आएर कार्यकर्तालाई त्यहीअनुसार व्यवस्था गर्लान्। तर, खणेन्द्रले सोचजस्तो भएन। 

चुनावी प्रचारमा विनोद धनाढ्य हुनुको कुनै छनक देखाउँदैनन्। प्रचारका लागि कार्यकर्ताको मोटरसाइकलपछाडि बसेर हिँड्छन्। जहाँ पुग्यो त्यहीँ, कार्यकर्ताको घरमा खाना खान्छन्। “विनोद चौधरी त बाठो मान्छे रहेछन्। आफू मोटरसाइकलमा हिंडेपछि कार्यकर्तालाई पनि त्यसरी नै हिँड्न कर लाग्यो”, खणेन्द्र भन्छन्, “जनताको घरमा खाएपछि होटलमा कार्यकर्ताका लागि हुने खर्च पनि जोगियो।” 

अर्बपति विनोद आफू सर्वसाधारणजस्तै भएको छनक दिने प्रयास गरिरहेका छन्। तर, कतिपय मतदाता भने उनको चुनावी प्रचार शैली ‘नाटक’ भएको बताउँछन्। बर्दघाटस्थित जहदा चोकमा चिया पसल गर्ने लिलधरी चौधरी भन्छन्, “चुनावपछि जित वा हार जेभए पनि यहाँका मतदाताले उनलाई भेट्नसम्म पाउँदैनन्। अहिले उनले मोटरसाइकल चढेर र जनताको घरमा खाएर नाटक गरेका छन्। यो चुनावी फण्डा मात्र हो।”

विनोदले जनताको मत तान्न सकिने स्थानीय जनजिविकाको सवाललाई उठाइरहेका छन्। उद्योग सञ्चालन गरेर स्थानीयलाई रोजगारी प्रदान गर्ने भन्दै उनले आश्वासन बाँडेका छन्। त्यसैगरी, कच्चा पदार्थ उत्पादन गर्दा त्यसले किसानको जीवनस्तरमा सुधार हुने उनको चुनावी नारा छ। उनी हरेक गाउँमा पुग्दा केरामा आधारित उद्योग सञ्चालन गर्ने बताउँछन्।

पश्चिम नवलपरासीका सनही, नर्सही, कुडिया, पक्लिहवा, पर्सौनी र बैदौली लगायतका ठाउँका किसानले केरा खेती शुरू गरेका छन्। यी ठाउँ विगतमा उखु उत्पादनको पकेट क्षेत्र थिए। तर, चिनी मिलले उखुको रकम भुक्तानी नगरेपछि किसानहरू विकल्पको रूपमा केराखेतीतर्फ आकर्षित भएका हुन्। चौधरीले तिनै किसानको मत तान्न उद्योग स्थापनाको आश्वासन दिएका हुन्। उनले सनहीमा उद्योगका लागि ११ विघा जग्गासमेत खरिद गरेका छन्।

उनको भोट माग्ने शैली पनि अनौठो छ। किसानसँग ‘मलाई जिताउनुस्’ भनेर प्रत्यक्ष भन्दैनन्। “मलाई तपाँइहरूले जिताए पनि नजिताए पनि केरामा आधारित उद्योग खोलेर केराको बजारीकरण शुरू गर्छु। मैले नजितेर केही फरक पर्दैन। तर, किसानको केराले मूल्य पाउनुपर्छ। किसान धनी बन्नुपर्छ,” यही शैलीमा उनी आश्वासन दिइरहेका छन्।

असन्तुष्टलाई फकाउने काइदा
नवलपरासी पश्चिम–१ मा सत्ता गठबन्धनबीच खटपट छ। यहाँको प्रदेशसभातर्फ (क) क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो। माओवादी केन्द्रले रामानन्द यादवलाई उम्मेदवार बनाएको छ। त्यही क्षेत्रमा कांग्रेसका सन्तु कलवार पनि उम्मेदवार छन्।

कलवारले २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा हृदयेश त्रिपाठीलाई पराजित गरेका थिए। उनी यसपटक पनि आंकाक्षी थिए। तर, चौधरीले प्रतिनिधिसभाको टिकट पाएपछि उनकै जोडबलमा कलवारलाई गठबन्धनको निर्णय विपरीत प्रदेशसभाको उम्मेदवार बनाइएको हो। चौधरीले कांग्रेसभित्रको असन्तुष्टि मत्थर पार्न गठबन्धन तोडेका थिए।

कलवार त्यस क्षेत्रमा लोकप्रिय नेता हुन्। प्रचारका क्रममा चौधरीले तिनै कलवारलाई लिएर हिँडेका छन्। कांग्रेस र माओवादी केन्द्रले संयुक्त कार्यक्रम गरेका छैनन्। प्रतापपुरका प्रेमचन्द्र गुप्ता सांसदलाई नै प्रभाव पार्न सक्ने चौधरीका लागि गाउँका कार्यकर्ता र मतदाता ‘फकाउनु’ ठूलो समस्या नहरेको बताउँछन्।

गुप्ताका अनुसार विनोदले किसानको खेतमा धानसमेत काटिदिएका छन्। कसैको घरमा मृत्यु प¥यो भने मलामी जान पनि भ्याएका छन्। “हाम्रा लागि हृदयेश र विनोद चौधरी ठीक उम्मेदवार होइनन्,” गुप्ता भन्छन् “चौधरीले विभिन्न नाममा सरकारी सम्पत्ति हडपेको र अवैध रुपमा नेपालको पैसालाई बाहिर पठाउने गरेको समाचार आएका छन्। हृदयेश पनि यहाँका लागि राम्रो मान्छे होइनन्। हामी अलमलमा छौं।” 

त्रिपाठीसँग मतदाताका गुनासै गुनासो
जनता प्रगतिशील पार्टी खोलेर अध्यक्ष बनेका हृदयेश त्रिपाठी यो क्षेत्रका जनताका लागि नयाँ उम्मेदवार होइनन्। २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनबाहेक २०४८ सालदेखि यताका सबै निर्वाचनमा उनले जित हासिल गरेका छन्। यसपटक उनी टोल भेला र व्यक्तिगत भेटघाटलाई महत्त्व दिइरहेका छन्। नयाँ पार्टी भएकाले संगठन निर्माण गरेर उनी प्रचारमा जुटेका छन्।

स्थानीय हुँदाहुँदै पनि हृदयेश आफैँले माहोल बिगारेका कारण चौधरीको उम्मेदवारी ‘भारी’ भएको गुप्ता बताउँछन्। हासम्म आठपटक मन्त्री हुँदा पनि आफ्नो क्षेत्रमा उनले चर्चायोग्य काम नगरेको कतिपय मतदाताको गुनासो छ। यसअघि, २०७४ सालको निर्वाचनमा उनी एमालेको सूर्य चिह्न लिएर विजयी भएका थिए।

सूर्य चिह्नबाट विजयी हुने र एमालेकै आलोचना गर्ने ‘ढुलमुले राजनीतिक चरित्र’का कारण चौधरीलाई सहज भएको गुप्ता बताउँछन्। उनीमाथि स्थानीयले लुम्बिनी चिनी कारखानालाई निजीकरण गर्न भूमिका निर्वाह गरेको, स्थानीय उखु किसानका समस्या समाधान गर्न पहल नगरेको, गण्डक नहरका कारण बाढीबाट हरेक वर्ष जनताले सास्ती बेहोर्दा पनि समाधान नखोजेकोलगायत गुनासो गर्ने गरेको उनको भनाइ छ। 

भारतले बनाएको गण्डक नहर यसै क्षेत्रमा पर्छ। वर्षायाममा चुरेबाट आउने खोलाहरूको बहाव थुनिएर खेतीयोग्य जमिन डुबानमा पर्दै आएको छ। यसवर्ष सार्वजनिक भएका मिटरव्याज पीडितहरूले पनि हृदयेशको क्षेत्रमा उनलाई अप्ठेरो पारिरहेका छन्। मिटरव्याज लगाएर जनतालाई शोषण गर्ने सुदखोरहरू हृदयेशको संरक्षणमा रहेको भन्दै उनका विपक्षीले प्रचार गरिरहेका छन्।

नवलपरासीका पत्रकार बेचु गौंडका अनुसार यो क्षेत्रमा निर्माण भएको पक्की सडक अन्य संरचना त्रिपाठीको कारणले नभएर गण्डक पीडित संघर्ष समितिले गरेको आन्दोलनको बलमा भारत सरकारले बनाएको हो। “यहाँका जनताले त्रिपाठीलाई धेरै पटक अवसर दिएका हुन्। तर, उनले नवलपरासीको विकासका लागि सिन्को भाँच्ने काम गरेनन्”, उनी भन्छन्, “जनताले हृदयेशको विकल्प खोजेका हुन। उनको विकल्पमा आएका उम्मेदवार पनि राम्रो भएनन्।” 

त्रिपाठी समर्थनमा एमाले नै विभाजित
जनता प्रगतिशिल पार्टीका उम्मेदवार त्रिपाठीलाई एमालेको समर्थन छ। तर, २०७४ सालको निर्वाचनमा जसरी एमालेको मत पाउने अवस्था नरहेको मतदाताहरू बताउँछन्। यसको कारण हृदयेश आफैँ भएको एमाले कार्यकर्ता बताउँछन्। 

यसपटक पनि एमालेले सूर्य चिन्ह लिएर चुनाव लड्न आग्रह गरेको थियो। पार्टी केन्द्रले उनकै नाममा टिकट पठाएको थियो। तर, त्रिपाठीले अन्तिम समयमा एमालेको प्रस्तावलाई अस्वीकार गरिदिए। 

अघिल्लोपटक आफू सूर्य चिह्नबाट विजयी भए पनि स्थानीय तहमा कांग्रेससँग मिलेको एमाले कार्यकताको आरोप छ। “यदि, सूर्य चिह्न लिएर चुनाव लडेको भए उहाँले जित्ने शत प्रतिशत ग्यारेन्टी थियो। हामीले पनि उहाँलाई प्रश्न गर्नुपर्ने थिएन। तर, सूर्य चिह्न लिन मान्नु भएन। पछि चुनाव जित्नलाई एमालेको समर्थन खोज्नुभयो,” एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् राष्ट्रियसभाका पूर्व सांसद रामलखन हरिजन भन्छन्, “उहाँले विगतमा खेलेको भूमिकाले हाम्रा कार्यकर्तालाई चित्त बुझाउन गाह्रो परेको छ। हामी कार्यकर्ता सम्हाल्ने कोशिश गरिरहेका छौँ।” 

गएको स्थानीय तह निर्वाचनमा त्रिपाठीले प्रतापपुर र सुस्ता गाउँपालिकामा कांग्रेसका उम्मेदवारलाई जिताउन सहयोग गरेको गुनासो एमाले कार्यकर्ताको छ। प्रतापपुरमा उनकै स्वकीय सचिव कर्मा हुसेनलाई त्रिपाठीले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएका थिए। तर, त्रिपाठीले कांग्रेस उम्मेदवारलाई सहयोग गरेपछि हुसेन त्रिपाठीको साथ छोडेर कांग्रेस नै प्रवेश गरेका छन्। 

एमाले नवलपरासीको अन्तरविरोधले पनि त्रिपाठीलाई प्रतिकूलता थपेको छ। पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट रामलखन हरिजनको एकल नाम सिफारिस भएको थियो। उनी दलित समुदायबाट उदाएका नेता हुन्। तर, हरिजनलाई रोक्न जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, जिल्ला इन्चार्ज सरिता खनाल र बर्दघाट नगरपालिकाका पूर्वमेयर धिरज बस्यालले सिन्धु जलेशालाई अघि सारे। जबकि, जलेशा प्रतिनिधिसभामा उम्मेदवार बन्न इच्छुक थिइनन्। 

हरिजन अन्तिम समयसम्म टिकट पर्खेर बसेका थिए। उम्मेदवारी दर्ताका लागि कार्यकर्तासहित माला र टीका लगाएर बसेका उनी एमालेबाट जलेशाको उम्मेदवारी दर्ता भएपछि घर फर्केका थिए। “अरु भए यस्तो अपमान हुँदा पार्टी छोड्थे। मैले कार्यकर्तालाई सम्हालिन भनेर पार्टीको निर्णयअनुसार त्रिपाठीलाई जिताउन लागेको छु,” उनी भन्छन्। 

हरिजन ती व्यक्ति हुन्, जसले २०५६ सालको संसदीय निर्वाचनमा पनि हृदयेशसँग प्रतिस्पर्धा गरेर करिब नौ हजार मत ल्याएका थिए। हृदयेश भने १८ हजारभन्दा बढी मतसहित विजयी भएका थिए।

अधिकारी, खनाल र बस्यालले हरिजनलाई रोक्दा पश्चिम नवलपरासीको दक्षिण क्षेत्रका मधेशी र दलित समुदायका कार्यकर्ता रुष्ट छन्। त्यसकारण पनि यो पंक्तिको भोट एमाले र उसले समर्थन गरेका उम्मेदवारलाई नजाने संभावना छ। 

२०५४ सालमा तत्कालिन जहदा गाविसमा एमालेका तर्फबाट अध्यक्षमा २१ मतले चुनाव हारेका पुराना कार्यकर्ता सुरेन्द्र चमारले यसैको संकेत गरे। “यस पटक हाम्रो पार्टीको उम्मेदवार छैन। मेरो भोट विनोद चौधरीलाई जान्छ,” उनी भन्छन् “हामीले एमालेलाई सधैँ माया गर्‍यौँ। प्रतिकूल अवस्थामा पनि साथ छोडेनौं। तर, एमालेले मधेशी र दलितलाई न्याय गर्न सकेन।” 

पश्चिम नवलपरासीमा मात्र पहाडे र मधेशी दलितको करिव २७ हजार मत छ। हार–जितका लागि यो निर्णायक मत हो। यदि, पश्चिम नवलपरासीमा एमालेले मधेशी वा दलित उम्मेदवारलाई अघि सारेको भए चुनावी नतिजा नै फरक आउन सक्ने चमार बताउँछन्।