एमबाप्पे भित्र्याउन आधा दर्जन क्लब इच्छुक

गत महिना एमबाप्पेले पीएसजीसँगको आफ्नो सम्झौता लम्ब्याउन नचाहेको बताएका थिए। पीएसजीले एमबाप्पेको निर्णयप्रति निराशा व्यक्त गर्दै उनलाई यो सिजन बेच्ने निर्णय गरेको छ।

काठमाडौँ– फ्रान्सका स्टार फुटबलर केलियन एमबाप्पे नयाँ क्लबको खोजीमा छन्।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग २४ वर्षीय एमबाप्पेको सम्झौता अर्को वर्ष समाप्त हुन्छ। २०२२ मा पीएसजीसँग उनले २०२४ सम्म रहने सम्झौता गरेका थिए।

सम्झौता अनुसार एमबाप्पे सन् २०२४ सम्म क्लबको खेलाडी रहनेछन्। जुन २०२४ पछि सम्झौता एक वर्षका लागि थप्न सक्नेछन्।

तर, गत महिना एमबाप्पेले पीएसजीसँगको आफ्नो सम्झौता लम्ब्याउन नचाहेको बताएका थिए। पीएसजीले एमबाप्पेको निर्णयप्रति निराशा व्यक्त गर्दै उनलाई यो सिजन बेच्ने निर्णय गरेको छ। एम्बाप्पे जापान भ्रमणका लागि टोलीमा समावेश भएनन्।

यसको अर्थ क्लबले उनलाई बेच्ने निर्णय गरेको छ। उनी अहिले ट्रान्सफर बजारमा उपलब्ध छन्। यसैबीच, साउदी अरबको क्लब अल–हिलालले एमबाप्पेलाई २५९ मिलियन पाउन्डको प्रस्ताव गरेको छ।

फुटबल पत्रकार फाब्रिजियो रोमानोका अनुसार अल–हिलालले पीएसजीलाई उक्त प्रस्ताव गरेको हो। अब एमबाप्पे र पीएसजीले यसबारे अन्तिम निर्णय लिनुपर्नेछ। पीएसजी उनलाई अल–हिलालमा बेच्न राजी छ। तर, एमबाप्पेको सहमति आवश्यक हुनेछ।

अल–हिलाल मात्र नभई विश्वभरका करिब आधा दर्जन क्लबले एमबाप्पेलाई भित्र्याउन चाहन्छन्। अल हिलालका अलावा इङ्ल्यान्डको टोटनह्याम , चेल्सी, म्यानचेस्टर युनाइटेडले पनि उनलाई भित्र्याउन चासो देखाएका छन्। दुई स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाले एमबाप्पेलाई भित्र्याउन चाहेको छ।

योसँगै इटालीको क्लब इन्टर मिलानले पनि एमबाप्पेलाई आफ्नो टोलीमा समावेश गर्न चाहेको छ। तर, एमबाप्पे रियल जान चाहन्छन्। उनले बाल्यकालदेखि नै रियल जाने सपना बुनेका छन्। पीएसजीका अनुसार एमबाप्पेले सन् २०२४ मा रियलमा आबद्ध हुने आफ्नो मन बनाएका छन्।

एम्बाप्पे र क्लबबीच मौखिक कुराकानी पनि भएको छ। यस्तो अवस्थामा पीएसजीले उनलाई कुनै पनि हालतमा २०२४ मा फ्री एजेन्टका रूपमा जान दिन चाहँदैन। यसले क्लबलाई नोक्सान पुर्‍याउँछ।